स्थानीय तहको न्यायाधीश बन्दै युवा महिला


प्रकाशित मिति :2017-06-13 12:17:57

‘आलाकाँचालाई उपाध्यक्ष बनाउने ?’ ‘छोरीमान्छेलाई जितायो, विवाह गरेर गई भने के गर्ने ?’ उपाध्यक्षको उम्मेदवार बन्दा यस्ता आरोप र प्रश्नको सामना गर्नुप¥यो सिर्जना  लामाले ।

यमबहादुर बम

काठमाडौँ । ‘यिनीसँग चुनाव लड्ने पैसा छैन । उपाध्यक्ष बन्ने उमेर पनि भएको छैन । चुनाव जित्ने हैन, नजित्नेलाई किन टिकट दिने ?’

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवार बन्न कस्सिएपछि सृजना तामाङले यस्ता टिप्पणी धेरै पटक सुन्नुपरेको थियो । तर, स्नातक पढ्दै गरेकी सृजनाका लागि ती आरोप मिथ्या साबित भए ।

२३ वर्षकै युवा अवस्थामा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भइन् । १० वर्षे सशस्त्रद्वन्द्वमा समेत सहभागी माओवादी केन्द्रकी उम्मेदवार अम्बिका नेपाललाई उनले पराजित गरिन् ।

हुन त २३ वर्षकै उमेरमा गाउँपालिकाको उपाध्यक्षको टिकट पाउनु पनि चानचुने कुरो होइन । तर, सृजनाको राजनीतिक र सामाजिक यात्राले सम्भव तुल्यायो । समुदायकै सहयोग र सदभावका कारण टिकट पाएपछि चुनाव जितेको उनी बताउँछिन् । सृजना थप्छिन् ‘बाहिरबाट हेर्दा सहजै रूपमा उपाध्यक्ष भएजस्तो लाग्छ होला । तर, पार्टीका लागि मात्र होइन समाजका लागि मैले योगदान दिएकै कारण उपाध्यक्ष बन्न सफल भएकी हुँ ।’ कक्षा ८ मै पढ्दाताका नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएकी सृजना उमेरले कम भए पनि राजनीतिमा आफ्नो लामो संघर्ष रहेको बताउछिन् । २०६३ सालमा अनेरास्ववियुको सदस्यता लिएको सम्झना छ, उनलाई । ‘आमा एमाले समर्थित भएरै नै त्यतिखेर अनेरास्ववियुमा लागें ।’ विगत स्मरण गर्दै सृजना भन्छिन् ।

चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह भर्ना भएकी सृजना अहिले चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्ष पढ्दै छिन् । संविधानले स्थानीय तहको अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न तीन सदस्यीय न्यायिक समिति बनाएको छ । उपाध्यक्ष वा उपप्रमुख समितिको सदस्य बन्ने प्रावधान अनुरूप त्यसको संयोजक बनेकी छन्, सृजना । स्थानीय तहमा अब उनको काम न्यायाधीश सरहको हुनेछ । न्याय निरुपणमा सहज होस् भनेर अब एलएलबी पढ्ने उनको योजना छ । 

नेतृत्व तहमा आउने अर्की युवा महिला हुन्, दन्ता नेपाली ‘दर्शना’ । अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य रहेकी दर्शना माओवादी केन्द्रबाट कालिकोटको तिलागुफा नगरपालिकाको उपमेयरमा निर्वाचित भइन् । सबैभन्दा कान्छी उपमेयर बन्ने सौभाग्य समेत पाएकी छन्, २६ वर्षकी दर्शनाले । दुई महिना अघि मात्र भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा काठमाडौँको पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारीबाट सभापतिमा लडेकी थिइन् । त्यतिबेला जित्न नसके पनि अहिले २५ वर्षदेखि राजनीति गरिरहेका र ०४९ र ०५४ मा तत्कालिन फोइमहादेव गाविस अध्यक्ष निर्वाचित ऐनबहादुर शाही र पुरानो पार्टी काँग्रेसकी नेत्री लक्ष्मी शाहीलाई पराजित गरिन् ।

उनलाई युवा, दलित, महिलाको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रले चुनावमा उतारेको थियो । जित सम्भव पनि भयो । दर्शनाको विगत पनि संघर्षमै बित्यो । उनी माओवादीकी पूर्वछापामार हुन् । महादेव उच्चमाविमा पढ्ने बेलादेखि नै माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा सक्रिय रहेकी दर्शना भन्छिन्, ‘विद्यार्थी राजनीतिको त्यागका कारण आज म यहाँ पुगेँ ।’ ४ भाइबहिनीमध्ये माइली छोरी दर्शना स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।

काँग्रेस–माओवादी केन्द्र गठबन्धनकालाई चुनौती दिँदै रसुवाको नौकुण्ठ गाउँपालिकाको उपाध्यक्षमा सिर्जना लामा आसिन भइन् । २१ वर्षकी सिर्जना स्थानीय तहको पहिलो चरणको निर्वाचनमाबाट चुनिएकी नेपालकै कान्छी गाउँपालिका उपाध्यक्ष हुन् । सिर्जनालाई पनि सुरुमा टिकट पाउन नै गाह्रो भयो । ‘आलाकाँचालाई उपाध्यक्ष बनाउने?’ ‘छोरीमान्छेलाई जितायो विवाह गरेर गई भने के गर्ने?’यस्तै आरोप र प्रश्नको सामना गर्नुप¥यो, उनले । तर, नेकपा एमालले टिकट दिएपछि उपाध्यक्षमा निर्वाचित भएकी सिर्जना भन्छिन्, ‘विवाह नै सबै थोक होइन । त्यो व्यक्तिगत मामला हो । अब उपाध्यक्ष भएकी छु गाउँका लागि केही गरेर देखाउँछु ।’

रसुवाको कालिकास्थानमा रहेको कालिका हिमालय क्याम्पसबाट स्नातक गरेकी सिर्जना भन्छिन्, ‘म पढेको युवा जागिर नपाएर यस क्षेत्रमा आएकी होइन । समाज विकासका लागि केही गर्छु भनेरै आएकी हुँ ।’ स्थानीय न्यायिक समितिको अध्यक्ष समेत भएपछि अझ बढी जिम्मेवारी थपिएको उनी बताउछिन् । उनी सामाजिक तथा आर्थिक विकासको मामलामा पनि सचेत छिन् । गाउँको विकासका लागि गाउँमै रोजगारीको अवसर खोज्दै सिर्जना गर्नुपर्ने उनको तर्क छ । ‘रसुवामा लघुजलविद्युतको सम्भावना छ । यसलाई अगाडि बढाउन सके विदेशीने युवालाई गाउँमै स्वरोजगार बनाउन सकिन्छ ।’ उनले योजना सुनाईन ।

स्थानीय तह निर्वाचन ऐन–२०७३ मा महिला सहभागिता सम्बन्धमा प्रत्येक वडामा १ दलित महिलासहित २ जना, गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये १ जना पदाधिकारी उठाउनुपर्ने व्यवस्था छ । वडाबाट निर्वाचित मध्येबाट गाउँसभाले निर्वाचित गर्ने ४ जना सदस्य नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये १ जना पदाधिकारी, वडाबाट निर्वाचित मध्येबाट नगरसभाले निर्वाचित गर्ने ५ जना सदस्य र जिल्ला समन्वय समितिमा ३ जना महिला सदस्य पद आरक्षण गरिएका छन् ।

यही समावेशी व्यवस्थाका कारण पनि युवा महिला नेतृत्वमा पुगेका हुन् । निर्वाचन आयोगका अनुसार सार्वजनिक मतपरीणाम अनुसार १२ वटा स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । भने २ सय ५५ तहको उपप्रमुखमा महिला निर्वाचित भएका छन् । तीमध्ये ४ मेयरमा र ८ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । यसै गरी, २६ महिला वडा अध्यक्षमा निर्वाचित हुँदा कुल ५ हजार १ सय ६२ महिला जनप्रतिनिधिमा निर्वाचित भएका छन् ।

२० देखि २६ वर्ष उमेरभित्रका युवा महिलाहरुमा भने रसुवा नौकुण्ड गाउँपालिकाकी सम्झना तामाङ (२१) नेपाली काँग्रेसबाट नुवाकोटको तादी गाउँपालिका–१ को वडा सदस्य, सुशीला मग्राती नेपाली (२१) नेपाली काँग्रेसबाट गोरखाको गण्डकी गाउँपालिका–२ को वडा सदस्य, निरा दर्जी काँग्रेसबाट नवलपरासीको गैँडाकोट नगरपालिका–९ को वडा सदस्य र सरस्वती नेपाली (२१) काँग्रेसबाट जाजरकोटको शिवालय गाउँपालिका–८ को वडा सदस्यमा निर्वाचित भएका छन् ।

गैरसरकारी संस्था महासंघका पूर्वकेन्द्रीय अध्यक्ष सर्मिला कार्की स्थानीय तहको निर्वाचनबाट युवा महिला पनि नेतृत्वमा आउनु अवसर मात्र नभई उनीहरूको योगदान समेत रहेको विश्लेषण गर्छिन् । पूर्वअध्यक्ष कार्की भन्छिन्, ‘२१ देखि २६ वर्षकै उमेरमा स्थानीय तहको जनप्रतिनिधि बनेका युवा महिलालाई हेर्ने हो भने राजनीति प्रतिको आकर्षण पनि मान्न सकिन्छ । उनीहरूलाई राजनीतिको नेतृत्व तहसम्म पुग्ने ढोका खुलेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: