छोरी जन्मँदा आमा बेहोस


प्रकाशित मिति :2017-06-14 11:11:26

खग्रेन्द्र अवस्थी
बैतडी ।  सिगास गाउपालिका–१ टकौरेकी विमला भुल सुत्केरी व्यथा लागेर गाजरी स्वास्थ्यचौकी आइन् । शुक्रबार राति १० बजे अनमी गोदावरी ढाटले सुत्केरी गराउने तयारी गरिन् । उनका श्रीमान्सहित आफन्तबाहिर प्रतीक्षामा थिए । अनमीले छोरी जन्मेको सुनाउनेबित्तिकै विमला बेडमै बेहोस भइन् । श्रीमान् जीतबहादुर भुल छेउमा गएर ‘धुरुधुरु’ रुन थाले ।

२६ वर्षीया विमला छैटौं सन्तान पनि छोरी जन्मिएको सुन्दा बेहोस भएकी थिइन् । उनकी जेठी छोरी ९ वर्ष पुगिन् । राति संयोगले स्वास्थ्यचौकीमै बास बसेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थी र सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले बेहोस भएको खबर पाएपछि सोचमग्न भए । डाक्टर र स्वास्थ्यकर्मीले सम्झाएपछि श्रीमान् रुन रोकिए । विमलालाई एक घण्टापछि होस आयो ।

 छोराको आसमा उनले ज्यान जोखिममा राखेर छैटौं पटक गर्भधारण गरेकी थिइन् । बैतडीमा छोराको आसमा बढी सन्तान जन्माउने धेरै छन् । अन्य क्षेत्रको तुलनामा च्वागढ र डिलासैनीमा छोरा नभई नहुने मान्यता छ । धार्मिक अन्धविश्वास, सामाजिक प्रतिष्ठा र दबाबका कारण छोराको आसमा बर्सेनि गर्भधारण गर्ने तथा कतिपयले बहुविवाहसमेत गर्दै आएका छन् ।

२३ वर्षदेखि स्वास्थ्यचौकीमा कार्यरत अनमी ढाटका अनुसार छोरा नजन्मेसम्म गर्भधारण गर्ने महिलाको संख्या अत्यधिक छ । ‘कसैले ४/५ सन्तानसम्म छोरा नभए अर्को बिहे गर्छन्, कतिले छोराको आसमा १३/१४ सन्तान जन्माएका पनि छन्,’ ढाटले भनिन्, ‘सात/आठ पटक गर्भधारण गर्नु यो क्षेत्रमा सामान्य जस्तै छ ।’

बालविवाह गर्ने र बढी सन्तान जन्माउने महिलाको स्वास्थ्य नाजुक देखिन्छ । छोरी मात्रै जन्माएको भन्दै धेरै महिला घरपरिवारबाट बहुविवाहलगायत शारीरिक र मानसिक हिंसा सहन बाध्य छन् । सानै उमेरमा गर्भवती भएका, गर्भान्तर नराखेका, धेरै सन्तान भएका परिवारका बालवालिका कुपोषित हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । छोरीलाई पालनपोषण र शिक्षामा समेत विभेद हुने गरेको पाइन्छ । स्वास्थ्य जाँचमा चासो नदिने, छोरीलाई विद्यालय नपठाउने र बालविवाह गर्ने समस्या विद्यमान रहेको गाजरी स्वास्थ्यचौकी प्रमुख सिअहेव जनकसिंह धामीले बताए ।

खाद्यान्न उत्पादन कम हुने र वैकल्पिक आयस्रोत नहुँदा पालनपोषणको बोझले यहाँका परिवारमा आर्थिक संकट बढदो छ । प्राय: घरमा पुरुषहरू वर्ष दिनमा फर्कने गरी कामको खोजीमा भारततिर जान्छन् । महिलाहरू बालबालिकाको स्याहार खेतीपाती, गाईबस्तु, घरायसी बोझले उमेर नहुँदै वृद्धावस्था जस्तो देखिने धामीले बताए ।

‘१३/१४ वर्षमै विहे हुन्छ र त्यही बेलादेखि महिलाहरू गर्भवती हुन्छन्,’ धामीले भने, ‘हरेक वर्ष गर्भवती हुने र पोषणयुक्त खानाको कमी तथा कार्यबोझ बढी हुँदा स्वास्थ्य कमजोर भएको हो ।’

भौगोलिक विकटता, चेतनाको कमी र कामको बोझका कारण धेरैजसोले गर्भावस्थामा स्याहार पाउन सक्दैनन् । गर्भ जाँच र प्रसूति सेवा सहज गर्न पछिल्लो समय स्वास्थ्य कार्यालयले बस्ती हेरेर सुरक्षित प्रसूति केन्द्र, सामुदायिक स्वास्थ्य इकाईको संख्या थपेको छ ।

‘गाउँबाट स्वास्थ्यचौकी जान दिनभर हिँडेर मुस्किलले पुगिने गाउँ छन्,’ जिल्ला स्वास्थ्य प्रमुख डा. अवस्थीले भने, ‘अहिलेको एउटा वडामा ३/४ ठाउँबाट स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गर्न सके सबैको पहुँच बनाउन सकिन्छ ।’

साभारःकान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: