काल जित्दै दुर्गमका आमा


प्रकाशित मिति :2017-06-14 15:31:53

अर्जुन शाह, बाजुरा । सबैभन्दा गरिब बस्ने जिल्लाको परिचय पाएको बाजुरामा स्वास्थ्य संस्था छन् । तर, विरामीले सहज उपचार सेवा पाउन कठिन छ । बजेट आउँछ । तर, सदुपयोग हुँदैन । मानव विकास प्रतिवेदन २०१५ अनुसार ६४ प्रतिशत बाजुराको जनसंख्या गरिबीको रेखामुनी छन् । नेपालीको औषत आयू ६९.२ छ । तर, बाजुराका बासिन्दाको आयू ५९ दशमलव ५ छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरुको अवस्था झनै दर्दनाक छ ।

बाजुराको विकट साप्पाटाको रुणी गाउँकी ४० वर्षीया सुर्मादेवी धामीलाई तीन दिन अघि नै व्यथा सुरु भएपनि घरपरिवार भने पहिलाका जत्कालझै घरमै सुत्केरी भइहाल्लिन भन्नेमा ढुक्क थिए ।

घरपरिवारले कुर्दाकुर्दै दोस्रो दिन बित्यो । सुर्मालाई भने ब्यथाले च्याप्दै गयो । सास्ती बढ्दै गएपछि तेस्रो दिन बल्ल उनका पति कृष्ण धामीले छिमेकीलाई गुहार्दै स्वास्थ्य चौकी लैजाने सुरसार गरे ।

रुणीबाट गाविसको स्वास्थ्य चौकी पुग्न तन्दुरुस्त मान्छेलाई पनि कम्तीमा ६ घण्टा लाग्छ । उनलाई आधा बाटो पुर्‍याउदा ६ घण्टा लाग्यो । चौकीले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजान भनेपछि संकट थपियो ।

साप्पाटास्थित स्वास्थ्य चौकीदेखि कोल्टी पुग्न कम्तीमा ६ घण्टाको बाटो पार गर्नुपर्छ । उनीहरु राती नै कोल्टीका लागि हिंडे । तर, कोल्टी नपुग्दै बीच बाटोमै सुर्मा सुत्केरी भईन् । उनको कोखबाट दुई घण्टाको फरकमा दुई शिशु जन्मे । दोस्रो जन्मदा पहिलोको मृत्यु भई सकेको थियो ।

यस्तै, बाजुरासंग सिमाना जोडिएको मुगुको धैकोट–२ कि ४३ वर्षीया सीतादेवी जैशीलाई सुत्केरी ब्यथाले च्यापेपछि उनका श्रीमान धनराज जैशीले गोरु गोठमा सारे । बच्चा जन्माउने उमेर ढल्किदै गएकी सीतादेवीको त्यो सातौं गर्भ थियो । सुत्केरी भएको सात दिनसम्म बेस्सरी रक्तश्राव भयो । तर, गाउँघरमा सुत्केरीलाई छुन नहुने मान्यता भएकाले मरणासन्न अवस्थामा पुग्दा समेत स्याहार गर्न आफ्नै श्रीमान समेत अघि सरेनन् । अवस्था दिनदिनै नाजुक हुादै गएपछि श्रीमानले दुई सातापछि बल्ल उपचार गराउने सुरसार गरे ।

डोकोमा भरिया लगाएर बाजुराको कोल्टी पुर्‍याउनुको विकल्प उनीसंग थिएन् । चार दिन नहिँडि कोल्टी पुग्न सकिंदैनथ्यो । बाटोमा भेटिएका धनराजले भने, ‘समयमै उपचार गराउन नसक्दा धोका पायौं ।’

ढिलो भएको भन्दै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले उपचार गर्न नसक्ने भन्दै नेपालगञ्ज रिफर गरे । नेपालगञ्ज लैजान दुई दिनसम्म जहाजको बाटो कुर्दै बित्यो । तेस्रो दिन बल्ल आफन्तको सहारामा नेपालगञ्ज पठाए ।

यहाँको समाजमा गर्भवती आमाहरुले प्रसूतिका बेला संघर्षका अनेकौं गाथाहरु उछिन्नै पर्ने बाध्यता छ । बाजुराको बिच्छयाँ गाविसमा बसोवास गर्ने कुनैपनि गर्भवतीले हालसम्म स्वास्थ्य संस्थामा बच्चा जन्माएका छैनन् । गुम्बा लगायत अधिकांश गाउँमा सुत्केरी ब्यथा सुरु हुने बित्तिकै गोरु गोठमा राख्ने चलन छ । ‘गुम्बाका कुनैपनि शिशु हालसम्म गोठ बाहिर जन्मिएका छैनन्’, गाउँकै छिरिङ्ग लामाले भनिन् ।

बाजुरा आसपासका मुगु, हुम्लाका बासिन्दासमेतको उपचार गराउने मुख्य थलो बाजुराकै कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र हो । केन्द्रमा कार्यरत डा. बिजयकुमार साहले यस क्षेत्रमा सुत्केरीले भोग्दै आएका स्वास्थ्य समस्या सुनाउदै भने, ‘४५ वर्षको उमेरसम्म बच्चा जन्माउने, कम उमेरमा गर्भवती हुने, गोठमा सुत्केरी राख्ने, दर्जन बढी जत्काल बस्ने, नियमित गर्भजाँच नगराउने चलनले यस क्षेत्रका गर्भवतीहरुको जीवन ज्यादै असुरक्षित छ ।’

कलिलो उमेरमै गर्भवती

२० वर्षभन्दा कम उमेरकी कुल्देवमाण्डौंकी सरस्वती शाहीलाई हालै प्रसूति व्यथाले च्याप्यो । घरमा कलिला श्रीमान् बाहेक अरु थिएनन् । श्रीमानले गाउाकै स्वास्थ्य उप–केन्द्रमा पुर्‍याए । त्यहाा कार्यरत अनमीले सुत्केरी गराउन नसक्ने भन्दै तत्काल सुविधायुक्त अस्पतालमा लैजान रिफर गरिन् । सरस्वतीलाई रातारात अछामको बयालपाटा अस्पतालमा पुर्‍याईयो । घण्टौसम्म बच्चाको एउटा खुट्टामात्रै निस्केको र शरीर पुरै पाठेघरमै अड्किएकोले सरस्वती बेहोस थिईन । चार दिनसम्म अस्पताल बसेर फर्केकी सरस्वतीले भनिन्, ‘होस् हुँदासम्म बाँच्ने आश मरिसकेकोको थियो, पछि बेहोस भएछु ।’ प्रविधियुक्त बयालपाटा अस्पतालका चिकित्सकहरुले पनि जोखिम मोले । बल्लबल्ल सरस्वतीको ज्यान जोगियो ।

गएको साउन महिना तोली पुर्वताका जयबहादुर साउादले १७ वर्षीया श्रीमतलाई सुत्केरी ब्यथा सुरु भएपछि करिब एक घण्टा टाढा रहेको स्वास्थ्य चौकीमा पुर्‍याएपनि त्यहाा कार्यरत स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसक्ने भन्दै रिफर गरे । बयलपाटा अस्पतालमा शल्यक्रिया गरेपछि मात्रै साउाद श्रीमतीको ज्यान जोगिएको तोली चौकीका इन्चार्ज बिरबहादुर अयडीले बताए ।

तोली स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सुत्केरी गराउन आएका मध्ये ४० जना गर्भवतीको उमेर २० वर्ष पुगेको थिएन ।

बाजुराको पूर्वोत्तरमा पर्ने कोल्टी क्षेत्रका साविकका ११ गाविस र छिमेकी मुगु र हुम्ली विरामीहरुको उपचार गर्ने थलो कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हो । कोल्टीमा विमानस्थल समेत भएकोले जिल्ला बाहिर लैजानु परेपनि सजिलो हुने ठानिन्छ । यही कोल्टी केन्द्रमा गत वर्ष सुत्केरी गराउन आएका २ सय ४७ मध्ये ९७ जना गर्भवतीहरु २० वर्षभन्दा कम उमेरका रहेको तथ्याङ्क छ ।

विकटमा मात्रै हैन, साक्षर र सुगम मानिएको दक्षिणमा पर्ने साविकको कुल्देवमाण्डौ गाविसमा पनि कलिलै उमेरमा बच्चा जन्माउनेको संख्या कम छैन् । टाटे स्वास्थ्य चौकी इन्चार्ज दिपक शाहका अनुसार गत वर्ष सुत्केरी भएका १ सय १० जना मध्ये २८ जना गर्भवतीको उमेर २० वर्षमूनिको थियो ।

बाजुरा जिल्लाभरको तथ्याङ्क हेर्दा गत आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन आएका कूल २ हजार २ सय ८८ गर्भवती मध्ये ६ सय ८२ जनाको उमेर २० वर्षमूनि रहेको जिल्ला स्वास्थ्य कार्यालयका रामचन्द्र यादवले बताए ।

०६८ को जनगणना अनुसार यस जिल्लाका २४ हजार ९ सय १९ जना महिलाको विवाह २० भन्दा कम उमेरमै भएको छ । यी मध्ये पनि ४ हजार बालिकाको १५ वर्ष नपुग्दै बिहे भइसकेको उल्लेख छ । बाल्यावस्थामै विवाह गर्नेहरुमा केटा भन्दा केटीको संख्या धेरै पाइएको छ ।

गत वर्ष एक गैरसरकारी संस्थाले साविकका मानाकोट, तोली, बाह्रविस, गुदुखाती, बुढीगंगा, वाई, कोटीला, छतारा, जगन्नाथ, ब्रम्हतोला, पाण्डुसेन र जुगाडामा गरेको सर्भेक्षणले बालविवाहको अवस्था भयावह देखाएको थियो । वर्ष दिनको अवधिमा यी गाविसमा कूल ४ सय ७३ ले विवाह गरेका थिए । ती मध्ये २ सय ८९ उमेर नपुगी विवाह गर्नेहरु छन् । २ सय ५८ महिला र २ सय १५ पुरुषको विहे भएकामा १ सय ९० बालिका र ९९ बालकको कानुनी रुपमा विवाह गर्ने उमेर पुगेको थिएन् ।

सोही अध्ययन अनुसार ११ देखि १५ वर्षको उमेरमा विवाह गर्नेहरु ८ प्रतिशत पाइएको थियो भने २० वर्ष नपुग्दै विवाह गर्नेहरु ५१ प्रतिशत थिए ।

घरमै सुत्केरी र एक परम्परा

करिब डेढ लाख जनसंख्या भएको बाजुरामा ५ सामूदायिक स्वास्थ्य इकाई, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल १, स्वास्थ्य चौकी १ र २६ वटा बर्थिङ सेन्टर भएपनि सबैको विकटता, गरिबी र चेतनाको अभावले यहाँका महिलाहरुले सेवा लिन नसकिरहेको महिला अधिकार मञ्चकी अध्यक्ष रुक्मीणी शाह बताउँछिन् ।

०७२र०७३ मा घरमै सुत्केरी गराएका ३० आमाले आफ्ना शिशु गुमाएको कार्यालयका तथ्याङ्क अधिकृत रुगम थापाले बताए ।

रगत जुटाउनै कठिन

आटीचौर–८ नाइना गाउँकी ३० वर्षीया दीर्घदेवी घरमै चँदारा सुत्केरी भएको ६ दिनसम्म रक्तश्राव नरोकिएर सिकिस्त भएपछि मात्र परिवारले जिल्ला अस्पताल मार्तडी पुर्‍याए । अस्पताल पुग्दा श्वास मात्रै बाँकी रहेकी उनको हेमोग्लोविन रिपोर्ट हेरेपछि उपचारमा संलग्न चिकित्सक अत्तालिए । दीर्घदेविको शरीरमा हेमोग्लोविनको मात्रा १ दशमलव ५ मात्रै थियो । जब कि हेमोग्लोविनको मात्रा ६ प्वाइन्ट भन्दा न्यून भए खतरा सुरु हुन्छ । चिकित्सक समक्ष सुत्केरीलाई तत्काल रगत दिन नसकिए बचाउन सक्ने विकल्पै थिएन ।
बाजुरामा अझै रक्तसंचार केन्द्र सञ्चालन आईसकेको छैन । डाक्टरले विरामीका परिवारसंग रक्तदाता खोज्न भने । तर विरामीका परिवारले रक्तदाता जुटाउन सकेनन् । अस्पतालमा रहेका अन्य विरामीका कुरुवाहरुलाई रक्तदानका लागि रातभर हारगुहार गरे । तर, कोही पनि रगत दिन तयार भएनन् । रक्तदान गर्दा शरीर कमजोर भईन्छ भन्ने भ्रम भएकाले रक्तदान गर्न अधिकांश स्थानीय तयार हुदैनन् । केही उपाय नलागेपछि अस्पतालकै स्वास्थ्यकर्मीहरुले रगत दिएर सुत्केरीको ज्यान बचाउन सफल भए ।

असुरक्षित गर्भपतन

६ बच्चा जन्माई सकेकी बडिमालिका–७ कोर्ध घर भएकी ३२ बर्षीया धौली लोहार दम्पतीलाई सातौं सन्तानको रहर थिएन, तर गर्भ रह्यो । गर्भपतनको लागि एक मेडिकलबाट औषधी किनेर खाइन् । तर, केही घण्टामै अत्यधिक रक्तश्राव सुरु भयो । रक्तश्राव नरोकिएकाले दुई दिनपछि गाविसको बुढीगंगा स्वास्थ्य चौकीमा उपचारका लागि पुर्‍याइए । चौकीले जिल्ला अस्पतालमा रिफर गर्‍यो ।

गर्भपतनका लागि असुरक्षित गर्भपतनको जोखिम मोल्ने धौली त प्रतिनिधि पात्र हुन् । महिलाहरुले असुरक्षित गर्भपतनको तरिका अपनाउादा ज्यानै जोखिममा पर्ने गरेका अनेकौ घटना हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका टेकबहादुर खड्का बताउँछन् ।

कुपोषणको जर्जरता

बाजुराका महिला तथा बालबालिकाहरु कुपोषणको दुष्चक्रमा फस्दै छन् । गर्भवती र सुत्केरी आमाहरुको स्वास्थ्य अवस्था नाजुक भएकाले स्वस्थ शिशु जन्मन र हुर्कन पाउदैनन् । ‘घरमा दुई छाक टार्ने उपाय हुदैन, पोषिलो खाना कहाँबाट पाउनु रु’ दुई महिनाको शिशु बोकेर सडक खन्ने काममा खटिएकी वाइकी ईश्वरा कठायतले भनिन् ।

पोषण सुधारका लागि यस जिल्लामा जिल्ला स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने नियमित कार्यक्रम बाहेक बहुक्षेत्रीय पोषण, सुआहारा, आमा सुरक्षा कार्याक्रम, सुनौला हजार दिन, खाद्य तथा पोषण लगायतका कार्यक्रमहरु सञ्चालित छन् । परिणाममूलक नभएको भन्दै यी मध्ये अधिकांश परियोजनाको विगतदेखि नै आलोचना हुदै आएपनि तरिका फेरिएको छैन् ।

आमाहरुको कुपोषण अवस्था वारे तथ्याङ्कहरु सार्वजनिक नभएपनि बालबालिकाहरुको अवस्था भने सार्वजनिक हुदै आएको छ । हालैको तथ्याङ्क अनुसार १३ हजार ६ सय ८४ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्दा २ हजार १ सय ३९ बालबालिकाहरु कुपोषित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यी मध्ये १ हजार १ सय ४३ छोरीलाई कुपोषण भएको छ भने कुपोषित हुने छोराको संख्या ८ सय ५३ रहेको डा. उदय प्रकाशले जनाएका छन् ।

यीमध्ये ६ सय ४० बालबालिकाहरु कडा कुपोषणबाट प्रभावित छन् । यस तहअन्तर्गत ४ सय १ बालिका छन् भने २ सय ३९ बालक प्रभावित देखिएका छन् । यस्तै, मध्यम तहको कुपोषण हुनेहरुको संख्या १ हजार ४ सय ५० मध्ये प्रभावित भएका बालिकाको संख्या ७ सय ४२ र बालकको संख्या ६ सय १४ रहेको छ । ‘यस तथ्याङ्ककै आधारमा पनि यी बालबालिकाका आमाहरुको अवस्था चित्रण गर्छ ’ डा. रुपचन्द्र विश्वकर्माले बताए ।

स्रोतः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: