‘छोरी मरे अर्की जन्माउँला’


प्रकाशित मिति :2017-06-15 16:30:38

छोरालाई मीठो–मसिनो खुवाएर हुर्काउँछन् र कुपोषण हुने सम्भावना पनि कम हुन्छ । अधिकांश छोरीले भने पेटभरि खान नपाएका कारण कुपोषित हुनुपर्छ । कुपोषित बालिकाका आमाहरू छोरी मरे अर्काे जन्माउँला पो भन्छन् ।

 वसन्तप्रताप सिंह
बझाङ । दुर्गाथली गाउँपालिकाको सैनपसेला वाइकोटकी शान्ति जप्रेलको घरमा गएका जिल्ला स्वास्थ्य कार्यालयका पोषण अधिकृतले शान्तिकी तीन वर्षकी छोरी अस्मितालाई कडा खालको कुपोषण भएको पत्ता लगाए । उनले कुपोषित बालिकाको उपचार निःशुल्क गरिने भन्दै जिल्ला अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा भर्ना गर्न अनुरोध गरे ।

शान्तिको परिवारले सानी छोरीको उपचारका लागि धामीझाँक्री लगाउँदा ७–८ हजार खर्च गरिसकेको थियो । छोरीको माया मारिसकेको भन्दै स्वास्थ्यकर्मीको अनुरोध शान्तिले अस्वीकार गरिन् । शान्तिका श्रीमान् चार वर्षदेखि मलेसियामा छन् । घरमा बुढा ससुरा छन् । अरू छोराछोरी पनि हेर्नुप¥यो । अस्पताल जाँदा घरमा कोही नहुने भन्दै शान्तिले छोरीको उपचार गर्नै मानिनन् । त्यसपछि पोषण अधिकृत इन्द्र कार्कीले अस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना नगरे प्रहरीमा उजुरी गर्ने धम्की दिए । त्यसपछि उनले डरले पनि छोरीलाई जिल्ला अस्पतालमा भर्ना गरिन् ।

दुई दिनसम्म त शान्ति अस्पताल बसिन् । तर, तेस्रो दिन दिउँसो खाजा खाने निहुँ पारेर छोरीलाई लिएर निस्केकी उनी अस्पताल फर्किनन् । बिरामी हराएपछि अस्पतालमा खैलाबैला भयो । उनको खोजी गरिदिन अस्पतालले प्रहरीलाई गुहा¥यो । खोज्दै जाँदा प्रहरीले उनलाई घरमा फेला पा¥यो । गत पुसको अन्तिम साता अस्मिताको कुपोषणकै कारण मृत्यु पनि भइसकेको छ । ‘तीन दिनसम्म अस्पताल बस्ता घरमा गाईबस्तु र घरको काम डामाडोल भइसकेको थियो । बुढा ससुराले घर धान्न सक्ने कुरा भएन । मरे मर्ली बाँचे बाँच्ली भनेर अस्पतालबाट भागेर आएँ । घर पुगेको भोलिपल्ट मरिहाली,’ अस्पताल जानु पहिला नै छोरी मर्छे भनेर आफू अस्पतालबाट भागेको उनी स्वीकार गर्छिन् ।

पुसको पहिलो साता खिरातडी गाविसकी साढे चार वर्षीया बालिका करिश्मा कुँवरको पनि कुपोषणकै कारण ज्यान गयो । स्वास्थ्यकर्मीले उनको परिवारलाई उपचार गर्नका लागि धेरै सम्झाए । छोरी मरे अर्की जन्माउँला । अस्पतालमा गएर हप्तौँ उपचार गर्दा घरको काम बिग्रन्छ भनेर परिवारले उपचार गर्न मानेनन् । जिल्ला स्वास्थ्य कार्यालयको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका प्रमुख डाक्टर सुनिल गजुरेलले भने, ‘जति सम्झाउँदा पनि परिवारले मानेन । हेर्दाहेर्दै बालिकाको ज्यान गयो ।’ यी दुवै गाउँबाट सदरमुकामस्थित जिल्ला अस्पताल आउन–जान एक दिन लाग्छ ।

तर, अचम्म के छ भने जिल्ला अस्पताल सिमखेतबाट करिब पाँच सय मिटरको दूरीमा रिठापाटा भन्ने गाउँ छ । त्यो गाउँकी तुल्सी नेपालीका तीनजना छोरीमा अहिले पनि कडा खालको कुपोषण छ । तीनमध्ये पनि दुई वर्षकी सरस्वतीको समयमा उपचार भएन भने ज्यानै जाने खतरा छ । तर, स्वास्थ्यकर्मीले घरमै गएर दशौँपटक उपचारका लागि अनुरोध गर्दा पनि उनले मानेकी छैनन् । तुल्सी भन्छिन्, ‘मेरो जेठो छोरा पनि सानोमा यस्तै थियो ।

अहिले बेंग्लोर गएर पैसा कमाउने भइसक्यो । यिनीहरू हाम्रो नाम बेचेर पैसा खानलाई दिनदिनै अस्पताल भर्ना गर्नुपर्छ भनेर हैरान पार्छन् । धेरै दिन गाली गरेर पठाइसकेँ, आउन छाडेका छैनन् ।’ कुपोषणको उपचार गर्दा निको हुन्छ भन्ने ज्ञान नपाएकी उनी उल्टै स्वास्थ्यकर्मीलाई यसरी गाली गर्छिन् । रिठापाटा गाविसमा काम गर्ने जिल्ला स्वास्थ्य कार्यालयकी पोषण अधिकृत सविता शाही ठकुरीले तुल्सीलाई घरमै गएर धेरैपटक उपचार गर्नका लागि सम्झाएको, तर उनले उल्टै गाली गरेर पठाउने गरेको सुनाइन् । उनले भनिन्, ‘मरे मेरै छोरी मर्छे । तिमीहरूलाई के खसखस भनेर उल्टै हप्काउँछन् । बच्चीको अवस्था हेरेर दया लाग्छ । डाक्टरहरूले पनि सम्झाउँदा मान्दै मानेकी छैनन् ।’

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म जिल्लाभर मध्यम र कडा खालको कुपोषण भएका कुल एक हजार तीन सय २५ बालबालिकामध्ये ७ सय ६१ जना बालिका छन् । अभिभावकले उपचार गर्न नमान्दा यीमध्ये अधिकांश बालिकाको ज्यान खतरामा छ । कात्तिकयता मात्र यस जिल्लामा कुपोषणका कारण चारजनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेहरू सबै बालिका नै थिए । त्यसो त छोरालाई मीठो मसिनो खुवाएर हुर्काउँछन् र कुपोषण हुने सम्भावना कम हुन्छ । छोरालाई कुपोषण भयो भने अस्पताल लैजान्छन् भने छोरीलाई वास्तै गर्दैनन् ।

‘छोरा र छोरीमा यो हदसम्मको विभेद होला भनेर कल्पनासम्म गरेको थिइनँ,’ जिल्ला स्वास्थ्य कार्यालयको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका प्रमुख डाक्टर सुनिल गजुरेल भन्छन्, ‘निःशुल्क उपचार हुन्छ । कुरुवालाई पनि खान–बस्नको व्यवस्था हामी नै गर्छौँ भन्दा पनि छोरीको उपचार गर्न मान्दैनन् । यो मरे अर्की जन्माउँला भनेर सजिलै भन्छन्, म त छक्क परेको छु ।’ अस्पतालमा उपचार गराउनुको साटो कुपोषित बालिकालाई स्थानीय वैद्य र धामीझाँक्रीलाई देखाउने, बान्द्रे लागेको भन्दै जिउभरि बाँदरको दिसा दलिदिने प्रचलन रहेको उनले बताए ।

जिल्लाभर गरेको सर्वेक्षणमा खाद्यान्न अभाव, अशिक्षा, अन्धविश्वास र असुरक्षित खानपान व्यवहारका कारण यहाँका धेरैजसो बालबालिकामा कडा खालको कुपोषण रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कुपोषितहरूमध्ये पनि आधाभन्दा बढी बालिका रहेको र छोराछोरीमा गरिने विभेदका कारण उपचार नपाउँदा धेरैजसो छोरीको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर विष्णु खतिवडाले बताए । ‘जिल्लामा उपचार नहुने खालका बिरामीलाई हामी नै खर्च दिन्छौँ । उपचार गर्न जाऊ भन्दा पनि मान्दैनन् । घरको काम अलपत्र पर्ने बहाना देखाएर अस्पतालबाट भाग्छन् । धेरैजसो कुपोषित छोरीले कलिलै उमेरमा ज्यान गुमाउनुपरिरहेको छ,’ उनले भने ।

घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बालिकामा बढी कुपोषण हुने गरेको जानकारहरू बताउँछन् । दलित महिला सङ्घकी अध्यक्ष आशा विक भन्छिन्, ‘छोरा भए मीठो–मसिनो खान दिने, सुत्केरीलाई पनि माया गर्ने गर्छन् । छोरी पाउँदा परिवारले खानपिन र हेरचाहमा खासै वास्ता गर्दैनन् । जन्मनेबित्तिकै विभेदमा पर्ने भएकाले बालिकामा कडा खालको कुपोषण बढी देखिएको हो ।’ कुपोषणको यो भयावह चित्र भएको बझाङ जिल्लामा काम गर्ने कोही नभएको भने होइन । गैरसरकारी क्षेत्रबाट सञ्चालित सुआहारा, एकीकृत बहुक्षेत्रीय पोषण कार्यक्रमले मात्र यस जिल्लामा पोषणको नाममा हालसम्म ३० करोडभन्दा बढी खर्च गरिसकेका छन् । यस्तै सरकारी स्तरबाट सञ्चालित कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र जिल्ला स्वास्थ्य कार्यालय, महिला विकास कार्यालयलगायतका कार्यालयले पोषणको नाममा खर्च गरेको रकमको ग्राफ योभन्दा दोब्बर हुने गरेको छ ।

यसमध्ये ९० प्रतिशतभन्दा बढी रकम पोषणसम्बन्धी चेतना जागरणमा खर्च भएको विभिन्न तथ्याङ्कमा उल्लेख छ । तैपनि दुर्गम गाउँका बालिका कुपोषणको सिकार भइरहेका छन् ।
(संचारिका फिचर सेवा)

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: