आफ्नो बच्चाबारे हामीलाई कति ज्ञान छ ?


प्रकाशित मिति :2017-06-19 12:07:22

 डा.मेरिना श्रेष्ठ

काठमाडौं । बालरोग विशेषज्ञका रूपमा काम गर्न थालेको झन्डै १२ वर्ष भइसकेको छ । यति लामो समयको अनुभवमा धेरै बालबालिकाको उपचार गर्ने मौका पाएँ । आफ्नो विशेष रुचि विभिन्न किसिमका अपांगता भएका बालबालिकाको उपचारमा भएको हुँदा उनीहरूका अभिभावकसँग पनि धेरै भलाकुसारी गर्ने मौका पाएँ । धेरैजसो यी अभिभावकको जिज्ञासा ‘मेरो बाबु कहिलेदेखि बोल्न थाल्छ वा हिंड्न थाल्छ’ भन्ने हुन्छ । ‘मेरी नानी अरू बच्चाजत्तिकै चलाख हुन्छे’ भन्ने जिज्ञासा पनि आउँछ ।

स्वस्थ बालबालिकाको परिप्रेक्ष्यमा उनका अभिभावकका प्रश्न सधैंजसो शारीरिक विकासजस्तै तौल र उचाइमा निहित हुन्छ । अहिलेसम्मको अनुभवमा बिरलै कुनै पनि आमा वा बुबाले मेरो बच्चाको मानसिक विकास कस्तो छ वा कसरी बच्चालाई तेजिलो बनाउन सकिन्छ भन्ने प्रश्न सोध्ने गर्छन् । यस्ता प्रश्न पनि धेरैजसो स्कुल जान थालेपछि, पढाइमा कमजोर देखिन थालेपछि मात्र गरेको पाइन्छ । कुनै पनि बालबालिकाले भविष्यमा हासिल गर्ने साक्षरता, आयआर्जन, उसको तीन वर्षको मानसिक विकासले निर्धारण गर्ने गरेको अनुसन्धानहरूले निचोड निकालेको छ । हाम्रो जस्तो न्यून विकासोन्मुख राष्ट्रका बालबालिका गरिबी, विभिन्न किसिमका संक्रमण, कुपोषणका कारण उनीहरूको मानसिक विकास झन् बढी जोखिममा पर्न गएको छ ।

यसका साथै आमाबुबामा आफ्ना बच्चाहरूको मानसिक विकासको गतिका बारेमा ज्ञान नहुनु, साथै उमेरअनुसारको बालबालिकासँग कसरी बोल्ने वा खेल्ने भन्ने कुराको ज्ञान नहुँदा यी कलिला बच्चाले आफ्नो जीवनको पहिलो महत्त्वपूर्ण समय गुमाइरहेका हुन्छन् । साथै यस्तो ज्ञानको कमीले गर्दा समस्या भएका बालबालिकालाई स्वास्थ्योपचारका लागि ढिलो पुर्‍याउने प्रवृत्ति रहन्छ, जसले गर्दा उपचारमा समेत ढिलाई हुन्छ ।

यसै सिलसिलामा त्रिवि शिक्षण अस्पताल, बालरोग विभागबाट काठमाडौं र भक्तपुरका करिब १,५०० आमामा बच्चाहरूको मानसिक विकासका बारेमा अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानअनुसार यी आमाहरूमा आफ्ना बच्चाको विभिन्न चरणको विकास जस्तै मुस्कुराउने, आवाज निकाल्ने वा बोल्ने, बस्ने, हिंड्ने वा काल्पनिक खेल खेल्ने आदि ज्ञान कम भएको देखियो । त्यसैगरी बालबालिकासँग घरमै उपलब्ध साधारण सामान प्रयोग कहिलेदेखि खेल्न सुरु गर्ने वा बच्चासँग कहिलेदेखि कुरा गर्ने, कथा हाल्ने, गीत सुनाउने भन्ने ज्ञान पनि निकै कम देखियो । यस्तो ज्ञानको कमी शिक्षित तथा अशिक्षित आमा दुवैमा समान देखियो ।

प्रविधिको विकाससँगै आएको परिवर्तन, आमाबुबाको व्यस्तता आदि कारण आजभोलिका बच्चाको मनपर्ने खेलौना भनेकै मोबाइल, ट्याब, टीभी हुन थालेको छ । यस्ता उपकरण कलिलो उमेरका बालबालिकालाई दिँदा भविष्यमा यस्ता बच्चा बढी चकचके हुने, स्थिर रहन नसक्ने, एकाग्र भएर पढाइमा ध्यान दिन गाह्रो हुने देखिएको छ । यसकारण अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यस्ता उपकरण दुई वर्षभन्दा मुनिका बालबालिकालाई नदिनसमेत सिफारिस गरेको छ ।

त्यसकारण आफ्ना बच्चाहरूलाई बढी चलाख बनाउनका साथै राष्ट्रको साक्षरता बढाउन हामी सबैले आफ्नै घरदैलोबाट यसको सुरुवात गर्न सक्छौं । जन्मेदेखि नै बच्चासँग अनुहार हेरेर कुरा गर्ने, गाना गाउने, ४–५ महिनादेखि विभिन्न चहकिलो खेलौनाहरू दिने वा घरमै भएको गिलास, चम्चा आदि समाउन, बजाउन लगाउने, कथा हाल्नेजस्ता साधारण क्रियाकलापले पनि बच्चाको मानसिक विकासका लागि ठूलो मद्दत गर्छ ।

छ महिनाको उमेरदेखि नै बच्चालाई किताब समाउन वा खेल्न दिने वा सँगै बसेर बच्चासँग किताब पढ्नाले बच्चामा ठूलो भएर किताबसँग लगाव बढ्ने र पढ्न उत्प्रेरित हुने तथा आमाबुबासँग पनि सुमधुर सम्बन्ध बढ्ने हुन्छ । त्यसकारण हाम्रा बच्चाहरूलाई टीभी, ट्याब वा मोबाइल नभई उनका हातमा उमेर उपयुक्त खेलौना वा किताब थमाउन थाल्नुहोस् । बितेको समय फर्केर आउनेछैन, त्यसैले आजदेखि नै यसको सुरुवात तपाईं–हामीबाट गरिहालौं ।

साभार: कान्तिपुर दैनिक                                                                                                            उपप्राध्यापक श्रेष्ठ त्रिवि शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ हुन् । 

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: