हातले नभेट्ने गोडाको उचाइ


प्रकाशित मिति :2017-06-19 15:48:21

विश्वास खड्काथोकी

काठमाडौँ। आन्तरिक राजस्व विभागको छैटौँ तलाको एउटा कोठा । हेर्दा कुनै लाइब्रेरीझैँ देखिन्छ । र्याकमा किताब होइन, विभागका फाइल सजिएका छन् । छेउमा कुर्सी–टेबुल छन्, उत्रै उचाइका । टेबुलमा कम्प्युटर छ भने कुर्सीमा ‘सुब्बा साहेब’ सुशीला ढकाल ।

सुशीला बिस्तारै माउस घुमाउँछिन् । बूढीऔँलाले किबोर्ड थिच्छिन् । तर, यो सबैकोझैँ हातले होइन । कमाल देखाउँछिन् गोडाले । कुनै रहर या गिनिज बुकमा नाम लेखाउने ‘प्राक्टिस’ पनि होइन । यो त सुशीलाको दैनिक मजबुरी हो । कारण, उनका दुवै हात छैनन् । तर, हात नभएर के भो त, गोडा नै काफी छन्, उनलाई कम्प्युटरमा दुनियाँ खोज्न ।

दुई हात र दुई गोडा छन् जसका, तर निराश छन् जीवनप्रति । यस्ता सबैका लागि आशाकी दियो हुन्, सुशीला । स–साना अप्ठ्यारा ठूला–ठूला सफलताका बाधक देख्नेहरूका लागि साहसका प्रतिमूर्ति हुन्, सुशीला । उनलाई देख्दा यस्तो लाग्छ, गोडाले पनि दिमाग उतार्न सक्छ ।धपक्क बलेको उनको अनुहारमा पश्चातापको धब्बा देखिँदैन । बरु, उत्साहको छाल भेटिन्छ । उनलाई भेट्दा एकसाथ सयौँ प्रश्न जन्मिन्छन्, सोध्नका लागि । मैले एउटा प्रश्न थुतेँ दिमागबाट ।

मेरो प्रश्न– दुई हात नहुनु नै तपाईंको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो किझैँ पो लाग्यो ? सोचाइमा डुबिन्, थोरैबेर । जवाफ फर्काइन्, ‘हो, मेरा हात भएका भए केही काम त गर्न सक्थेँ हुँला । तर, यत्रो चर्चा पक्कै पाउँदैनथेँ । मबाट इन्स्पायर भएर थुप्रैले आत्महत्यालाई त्यागिदिएका छन् । शारीरिक रूपमा कमजोर छु भन्नेहरूलाई हौसला मिलेको छ । हात नभए पनि जीवनमा आत्मविश्वासका साथ काम गर्दा थुप्रै अवसर पाएको छु ।’

दोस्रो प्रश्न– हात नहुँदा जीवनमा थुप्रै अवरोधहरू पनि निम्तिए होला नि ? सुशीलाको जवाफशतप्रतिशत असहमत । ओहो ! कत्रो तागत ? म जिल खाएँ । हात नहुनुलाई जीवनको असफलतासँग दाँज्नै चाहन्नन्, उनी । ‘ड्युटी आवर’ थियो । आन्तरिक राजस्व विभागको फाँट शाखामा चल्दै छ, यो गफगाफ । चर्को गर्मी पाखा लगाउन जुरुक्क उठ्छिन् । गोडा उचाल्छिन् र पंखा चलाउँछिन् । कुर्सीमा बस्न नपाउँदै चिया आइपुग्छ । एक–अर्कासँग अनुमति माग्छौँ, चिया पिउने । तर, म रोकिएँ । चियाको कप हातमा ‘होल्ड’ भयो । कारण, सुशीलाको गोडाले चिया कप उठाउँदै गर्दा मेरा आँखा र मन रोकिन बाध्य भए । उनी चिया पिउँछिन्, म त हेरेको हेरै । एक चुस्की लिएर चियाको कप व्यवस्थित तरिकाले टेबलमा राख्छिन् । बल्ल मैले कप मुखमा जोडेँ ।
तत्काल, मोबाइलको घन्टी बज्यो । मेरो होइन, सुशीलाको । फेरि गोडा लम्काइन् र बूढीऔँलाले ‘रिसिभ’ गरिन् । अनि माझी र बूढीऔँलाको सहाराले टपक्क टिपेर कानसम्म पुर्याइन् । म हेरिरहेछु, एकतमास । कुममा मोबाइल अड्याएर बोल्न थालिन्, मीठो मुस्कान छर्दै ।

म त प्रश्नको चाङ बोकेरै गएको थिएँ । फेरि सोधेँ– कपडा पनि आफैँ लगाउनुहुन्छ ? मेरो प्रश्न फुत्किन नपाउँदै छेवैमा रहेकी अर्की कर्मचारी रोकिन सकिनन्, ‘उहाँले त गाजल पनि आफैँ लगाउनुहुन्छ ।’ अनि, मेकअप पनि ? फेरि प्रश्न गरेँ । अब सुशीला नै बोलिन्, ‘हो, खुट्टाले नै लगाउँछु । कपाल पनि आफैँ कोर्छु । अनि, यो कुर्ता आफैँ लगाएर आएकी हुँ । सुरुवाल कम्मरसम्म सार्नचाहिँ अलिक गाह्रो हुन्छ । खाना पनि आफैँ खान्छु । आवश्यक पर्दा खानासमेत पकाइदिन्छु । मलाई जीवनमा कहिल्यै हातको अभाव खड्किएको छैन ।’
सुशीलाको यो जवाफ साँच्चै संसारकै लागि उदाहरणीय लाग्छ । अर्को उदाहरण खोज्न अर्को देश पुग्नुपर्दैन, चर्चित साहित्यकार झमककुमारी घिमिरेसम्म पुग्दा हुन्छ । हो, झमकले जस्तै सुशीलाले पनि गोडाले नै लेख्छिन् । लेखेरै देखाइन् । वा…वा कति राम्रो ‘हेन्डराइटिङ’ !

जब सुशीला जन्मिन् । उनकी आमा संसारकी सबैभन्दा दुःखी थिइन् । सुशीला जन्मेदेखि नै आमाको अनुहारमा बादल छाएको थियो । बादल यति छाएको थियो कि जहिल्यै आँखाबाट आँसु बर्सिन्थ्यो । दाउराजस्ती भएकी थिइन्, उनकी आमा । छिमेकीले भन्थे, ‘कति पीर गरेको, आँसु बगाएरै सकिने भयौ ।’ त्यो वेला आमाले भोगेको जीवन देख्नेहरू अहिले सुनाउँछन्, सुशीलालाई । तर, सुशीलालाई जन्मजातै दुवै हात नहुनुको पीडाले कहिल्यै गालेन । सुनाइन्, ‘हाम्रो परिवार ठूलो थियो । स्कुल पनि नजिकै । खेल्नका लागि टाढा जानुपर्थेन । घरवरिपरि नै साथीहरू थिए । उनीहरूसँगै खेल्थेँ । खोइ किन हो, उनीहरूले सहानुभूति देखाउँथे । म कुनै खेलमा कमजोर थिइनँ । गट्टा, चुंगी सबै खेल्थेँ । मलाई हात नहुनुको कुनै आभास नै भएन ।

सुशीला कहानी सुनाउन व्यस्त छिन्, म सुन्न । थपिन्, ‘एक दिन दाइले पढ्दै गरेका वेला कलम लिएर लेख्न खोजेँ । दाइले ओहो ! लेख्न पनि सक्छे कि क्या हो भन्दै स्कुल भर्ना गरिदिनुभयो । अनि स्कुल जान थालेँ । त्यतिवेला, म बुझ्ने भइसकेको थिएँ । सधँै मलिन हुने आमाको अनुहार, मेरो यो कदम देखेर केही बौरिएको पाएँ ।१० कक्षासम्म सरासर पुगिन्, सुशीला । स्कुलबाट घर पुग्दा आमालाई आफ्नो साथमा पाउँथिन् । विगत सम्झिन्छिन्, ‘आमा जहाँ भए पनि म स्कुलबाट फर्किने वेला जहिल्यै घरमै आएर खाजा तयार पारिदिनुहुन्थ्यो ।’

परिवार शिक्षित हुनुले पनि सुशीलाको जीवनमा सकारात्मक पाटा धेरै मिले । परिवारले सधैँ उनलाई हौसला दिइरह्यो । सुशीला अलिकति भावुक बन्छिन्, ‘परिवारले नै घरबाट बाहिर निकालिदिएको भए, कहाँ यहाँसम्म आइपुग्थेँ र ?’०३९ मा जन्मिएकी सुशीलाले ०५६ मा एसएलसी दिइन् । तर, एकपटक फेल भइन् । यसको पनि कारण कोट्याउँदै सुनाइन्, ‘चकटीमा बसेर एसएलसी दिइरहँदा मलाई हेर्न आउनेको भीड हुन्थ्यो । मानाैँ, त्यहाँ एसएलसी परीक्षा चलिरहेको छैन, कुनै मेला लागेको छ । मलाई असर गरिरहेको थियो । प्रतिफल रिजल्टमा प्राप्त भयो ।’ यति मात्रै कहाँ हो र ! एसएलसी फेल हुनुको कथा अझै लामो रहेछ । उनी विगतको दुःखमा फर्किन्, ‘हात नभएकै कारण मेरा शिक्षक र दाइहरूले १५ मिनेट समय बढाइदिन आग्रह गर्नुभयो । तर, सुपरिटेन्डेन्टले मानेनन् । लामो माथापच्चीपछि छुट्टै बसेर एसएलसी दिने वातावरण त बन्यो, तर समय थपिएन । त्यो वर्ष फेल भएँ । यहाँनेरचाहिँ विभेदको महसुस भएकै हो ।’

स्याङ्जा पुतलीबजार हो सुशीलाको घर । उनले एसएलसीमा पीडा भोगेपछि अपांगता भएकाहरूलाई थप समय छुट्याउनुपर्ने भन्दै पछि आन्दोलन नै भयो । केही एनजिओहरूले पनि अभियानमा सहयोग गरे । सुशीला भन्छिन्, ‘अर्को वर्षदेखि परीक्षामा समय थप गर्ने व्यवस्था स्थापित भयो ।’एसएलसी सकेपछि उनी स्याङ्जाकै त्रिभुवन आदर्श उच्च माविमा पढ्न थालिन् । उनको सहयोगका लागि बहिनी पनि सँगै आएकी थिइन् । त्यही समय उनी मूलधारको पत्रिकामा छापिइन् । पत्रिकामा छापिएपछि काठमाडौंको सूर्योदय होस्टेलकी विष्णु थापाले उनलाई यतै ल्याएर पढाइन् । त्यसको एक वर्षमै कम्प्युटर पनि सिक्न थालिसकेकी थिइन् । डिल्लीजार बहुमुखी क्याम्पसबाट ‘पोलिटिकल साइन्स’मा आइए पनि पास गरिन् । त्यसपछि उनले नेपाल मानवअधिकार अपांगता केन्द्रमा जागिर थालिन् । उनको मनमा एउटा सोचचाहिँ आइरहन्थ्यो रे, अपांगहरूका लागि केही गर्नैपर्छ । जागिरसँगै उनले ब्याचलर पनि सकाइन्, समाजशास्त्रमा । उनको पढाइमा कहिल्यै ‘ब्रेक’ लागेन । अन्ततः मास्टर्स पनि सकाइन् । मास्टर्स गर्ने वेला भने उनीसँग जागिर थिएन । दिमागमा नानाथरी कुरा खेले । अपांगताको क्षेत्रमा काम गर्ने भन्दै संस्था दर्ता पनि गरिन् । तर, उनको बाटो निजामतीतिर मोडियो । यो भयो कसरी ? मैले जिज्ञासा राखेँ ।

‘०६५ मा समावेशीको कोटा आयो । एकपटक प्रयास गर्ने आँट गरेँ । ट्युसन पढेँ । अधिकृतको परीक्षा दिएँ । मेरो लेखाइ अर्का एकजनाले हेरेका रहेछन् । परीक्षा सकेर हलबाट निस्किनेबित्तिकै उनले ‘तपाईंले नाम निकाल्नुहुन्छ’ भनेका थिए । मलाई उत्साहित बनाएको थियो,’ सुशीलाले घटना सुनाइन्, ‘तर, रिजल्टमा नाम निस्किएन ।’ एकपटकको असफलतामा उनले हरेस खाइनन् । फेरि नायव सुब्बाको परीक्षा दिइन् । अनि, उनी बनिन्, सुब्बा । अब, सुशीलाको कथा मात्रै होइन, आमाको कथा पनि बदलियो । ‘मलाई भेटेपछि आमा भक्कानिएर रुनुभयो, अँगालोमा । यति धेरै रुनुभयो कि सायद कहिल्यै रुनुपर्दैन जस्तोगरी,’ खुसी हुँदै सुशीलाले आमाको खुसी व्यक्त गरिन् ।

आठ वर्षदेखि आन्तरिक राजस्व विभागमा छिन्, सुशीला । अहिले बिल र फाइल मिलाउने गर्छिन् । पहिले–पहिले अन्य शाखामा काम गर्दा, सेवाग्राहीले झ्यालबाट हेर्थे र अचम्म मान्दै सोध्थे रे, ‘सर हुनुहुन्न ?’ सुशीलाले प्रतिप्रश्न गर्थिन् रे, ‘काम भन्नुस् न के पर्यो ?’ अनि फटाफट काम सक्काएर पठाइदिन्थिन् । भन्छिन्, ‘मैले एक मिनेट पनि काम अड्काइनँ ।’ तर, कार्यालयमै कतिपयले काममा शंका गर्दाचाहिँ नमिठो लागेछ । केही वर्षदेखि सुशीलालाई विभिन्न ‘ओरेन्टेसन’ र ‘मोटिभेसनल’ कक्षा दिन भ्याइनभ्याइ छ । व्यस्त उनले आफूलाई निकै माया गर्ने जीवनसाथी पाएकी छिन्, त्यो पनि लामो प्रेमपछि बिहेमा बदलेकी । करेन्ट लागेर हात गुमाएका थुप्रैलाई उनले जिउन सिकाएकी छिन् । जीवनप्रति कत्ति पनि गुनासो छैन, उनलाई । उनको खुशीयुक्त जीवनशैलीले एउटा उर्दू सायरी सम्झाउँछ, ‘हातको रेखालाई त्यति महत्व नदिनू, भाग्य उसको पनि हुन्छ, जसको हात नै हुँदैन ।’

साभार: नयाँपत्रिका दैनिक

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: