प्रमुख पदमा महिला वञ्चित


प्रकाशित मिति :2017-06-20 12:01:21

अमृता अनमोल

बुटवल। रूपन्देहीका १६ स्थानीय तहमध्ये कुनैमा पनि महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छैनन् । दुई वा दुईभन्दा बढी दलबीच तालमेल भएका क्षेत्रमा महिलाले पाउनुपर्ने प्रमुख र उपप्रमुख दुवै पदबाट वञ्चित भएका छन । बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबाट मेयर र उपमेयमा दुवैमा पुरुष छन् ।कांग्रेस र माओवादी केन्द्रले तालमेलमा गर्दा दुवै पदमा पुरुष उम्मेदवार बनेका छन् । बुटवलमा एमालेबाट गोमा आचार्यले मात्रै उम्मेदवारी दिएकी छन् । साना दल राष्ट्रिय जनमुक्ति, जनमोर्चालगायतले उपमेयरमा महिला उम्मेदवार बनाएका छन् ।

तर उनीहरूले जित्ने सम्भावना कम देखिन्छ । ६६ हजार ९० मतदाता रहेको नगरमा १९ वडा छन् । वडास्तरमा समेत अध्यक्षको अवसर महिलाले पाएनन् । वडा नम्बर ११ को अध्यक्षमा कांग्रेसकी सावित्रा टण्डनले मात्रै अवसर पाएकी छन् । स्थानीय तह चुनावमा एक दलले प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य उठाउनुपर्ने नियम छ । दलहरूले चुनाव जित्नैका लागि दुई वा दुईभन्दा बढी दलसित तालमेल गर्दा यो क्षेत्रका महिलाको नेतृत्व अवसर गुमेको हो ।

कांग्रेसबाट तिलोत्तमा नगरपालिका र देवदहमा पनि महिलाले मेयर र उपमेयर दुवै पद गुमाए । मेयरमा बालकृष्ण खाँणका भाइ रामकृष्णलाई जिताउन कांग्रेसले राष्ट्रिय जनमुक्तिसित मोर्चाबन्दी गरेको छ । देवदहमा माओवादी केन्द्रलाई उपमेयर दिएर आफूले हीराबहादुर खत्रीलाई मेयरमा पठाएको छ । माओवादी केन्द्रमा पनि त्यस्तै भयो । चुनाव जित्न भन्दै अन्य दलसित तालमेल गर्दा प्रमुख पदमा पुरुषले अवसर पाएका छन् । यसले लामो समयदेखि नेतृत्वमा होमिएका तथा नेतृत्व पाउने आशामा रहेका नेता महिला निराश भएका छन् । ‘दलहरूले महिलालाई उपयोग मात्रै गरे अवसर कहिल्यै दिएनन्,’ यसअघि माओवादी केन्द्रबाट उपमेयरमा सिफारिस भएकी मञ्जु भुसालले गुनासो गरिन् । नीति बन्दासमेत नपाएको अवसर कहिले पाइएला भन्ने चिन्ता लागेको उनले बताइन् । नगरपालिका मात्रै होइन गाउँपालिकाको अवस्था पनि त्यस्तै छ । कुनै पनि गाउँपालिकामा महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छैनन् ।

तालमेलमा गएका ठूला दलले दुवैबाट पुरुष अघि सारेका छन् । चुनावी तालमेल नगरेका साना दलले पनि कतिपयमा प्रमुखमा पुरुषलाई उठाएर उपमेयर खाली राखेका छन् । यसले गर्दा महिला स्पर्धामा जाने र मतदाता चिन्ने अवसरबाट पनि वञ्चित भएका छन् । ‘रूपन्देहीका विकास र चेतनामा अगाडि रहेकै नगरमा ठूला दलले महिलाको अवसर खोसे,’ अधिकारकर्मी रिमा बीसीले भनिन्, ‘दलका नेतामा भएको पितृसत्तात्मक मानसिकताले महिलाको नेतृत्व गर्ने अवसर गुमेको हो ।’ दलहरूले महिलालाई कार्यकर्ता बनाउने तर नेता नबनाउने नियत यो पालि पनि देखीएको महिला अधिकारकर्मी बताउँछन् । गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य सुमित्रा शर्माले भनिन्, ‘रूपन्देहीमा नगरमात्रै होइन जिल्ला हाँक्न सक्ने महिला धेरै छन् । तर पहिलो प्राथमिकतामा महिला नपर्नु र महिलाले प्रतिस्पर्धामा उत्रन सक्छन् भन्ने मानसिकता नहुनुले यस्तो भयो ।’

एक उपमहानगरपालिका ५ नगरपालिका र १० गाउँपालिका रहेको रूपन्देहीमा ४ लाख ५८ हजार ६ सय १६ मतदाता छन् । संख्याका हिसाबले यो तेस्रो ठूलो मतदाता भएको जिल्ला हो । स्थानीय चुनावले ८ सय ७ जनप्रतिनिधि छान्नेछ । यसका लागि ४४ सय १३ उम्मेदवारको मनोनयन परेको छ । दलहरूले महिलालाई पछाडि पारेको भन्दै सैनामैनाबाट सञ्चारकर्मी उषाकिरण (उषादेवी) पन्थले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । ‘दलीय मोर्चाबन्दीले क्षमता भएका महिला पछाडि परे यसैले मैले साहस देखाएकी हुँ,’ उनले भनिन् ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: