मदिराको मात : प्रताडित महिला


प्रकाशित मिति :2017-06-23 11:17:27

पविता मुडभरी पुडासैनी    

पहिलो चरणको स्थानीय तहको निर्वाचन प्रचारका क्रममा घरदैलो कार्यक्रम गर्दै गाउँ पसेका उम्मेदवारलाई कालिकोटका अधिकांश ग्रामीण महिलाले मदिरा नियन्त्रणको माग गरेका छन् ।  मदिरा सेवनका कारण आफूमाथि कुटपिट, गालीगलौज, दुव्र्यवहारका साथै क्रुर हिंसा र हत्या समेत हुने गरेको बताउँदै मदिरा रोक्नेलाई मात्र भोट हाल्ने स्थानीय महिलाको अभिव्यक्तिबाट मदिरा सेवनका कारण तिनमाथिको प्रताडना कति रहेछ भन्ने स्पष्ट हुन्छ ।  महिलाले सामाजिक विकृतिविरुद्ध अभियान चलाउनुपर्ने चर्को माग गरेका छन्  ।  मदिरा स्वास्थका दृष्टिले हानिकारक छ ।  त्यसो त मदिरा के कस्ता चिज वस्तुबाट बनाइन्छन् भन्ने कुरा बेलाबखत समाचारमा आइरहन्छन् ।  सडकमा फ्याकिएका थोत्रा जुत्ता, कपडा, ब्याक, छाला, हड्डी तथा टायरसम्म पानीमा पकाएर मदिरा बनाएको पाइन्छ ।

  मदिराले घरेलु हिंसा र पारिवारिक कलह निम्त्याएको भन्ने गुनासो महिलाबाट आएका कारण नेता नेतृहरूले मदिरा मुक्त गाउँ र नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  मदिराका कारण महिलामाथि कुटपिट, परिवार र छिमेकमा झैझगडा बढेको समाजमा अशान्ति नै मच्याएको गुनासो बढेपछि दलका नेता नेतृहरूले यो हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  मदिराकै कारण परिवारभित्रै भाइ–भाइबीच र समाजमा छिमेकी बीच मात्र होइन, दलका कार्यकर्ता बीच समेत झैझगडा हुने भएकाले यो रोक्नुपर्ने आवाज नेताहरूबाटै आइरहेको छ  ।  बुबाले मदिरा सेवन गर्ने र परिवारमा झैझगडा गरेबाट तिनका बालबालिकामा समेत नराम्रो असर परेको छ ।  सामान्य विषयमा समेत मदिरा सेवनकै कारण आफ्ना परिवार तथा समाजमा पुरुषबाट क्रुर हिंसाका घटना बढिरहेकाले मदिरा विरोधी अभियान लिएर गाउँ जाने उम्मेदवारलाई मात्र जनताले भोट दिने महिलाले बताएपछि चुनावी प्रतिपबद्धतापत्रमा नै केही दलले मदिरा नियन्त्रणलाई नै पहिलो मुद्दा बनाएका छन् ।

केही दिनअघि दोलखामा कुमार तामाङले मादक पदार्थ सेवन गरी श्रीमतीको अनुहारमा तातो तेल खन्याएको खबर बाहिर आयो ।  मदिरा पिएपछि सधैँ श्रीमती उर्मिलालाई कुटपिट तथा गालीगलौज गर्ने ती पीडकले मासु पकाउन तताएको तातो तेल श्रीमतीको अनुहारमा खन्याएर फरार भएको समाचारमा उल्लेख छ ।  मदिराका कारण समाजमा बढेका अपराध, हिंसा र अशान्ति तथा झैझगडाको विद्रुप रूप हेर्दा मदिरा नियन्त्रण मात्र होइन उन्मूलन नै गर्नुपर्ने भएको छ ।  महिला आर्थिक रूपमा सक्षम र आत्मनिर्भर नभएका कारण विविधखाले हिंसा भोग्न बाध्य छन् तर मदिराजन्य हिंसा भने गरिब परिवारमा मात्र नभई सम्पन्न परिवारमा अझ बढी देखिन्छ ।  धनको नाश ज्यानको सर्वनाश गर्ने जाँडरक्सीले परिवार तथा समाज नै भाडेको छ ।  गाउँ–गाउँमा महिला समूह तथा आमा समूहबाट पुरुषलाई मदिरापान गर्नबाट रोक्नाका लागि मदिरापान गर्नेलाई जरिवाना तोक्ने, भट्टीमा गएर मदिरा मिल्काइदिने, तोडफोड गर्ने र आइन्दा मदिरा नबनाउन दबाब दिने कार्य भइरहेका छन् ।

जुनसुकै निहुँमा महिलामाथि हुने घरेलु हिंसा कम गर्न कानुनको मस्यौदा बनाएर मात्र हुँदैन ।  महिलालाई न्याय र पीडकलाई सजाय हुने कडा कानुनी व्यवस्था लागू नभएसम्म महिला यसरी नै मदिराको मातमा प्रताडित भइरहन्छन्  ।  मादक पदार्थ सेवन गरी कुटपिट गरेको भन्दै महिला प्रहरीकोमा पुग्दा प्रहरीले छलफल गरेर पीडकलाई आइन्दा त्यस्तो नगर्ने सर्तमा छाडिदिन्छन् ।  महिलामाथि कुटपिट हुने विभिन्न घटनामध्ये मादक पदार्थ सेवन गरेर भएका घटना धेरै छन् ।  मादक पदार्थ सेवन गरेपछि श्रीमती र अन्य परिवारसँग कलह गर्ने मात्र होइन बाटोघाटो तथा फोहोरमा लड्ने जथाभावी बोल्दै कराउँदै हिँड्ने गरेको देखिन्छ ।  मादक पदार्थ सेवन गरी आफ्नै छोरी तथा नातेदारमाथि बलात्कार गरेको र आफूले मादक पदार्थ सेवन गरेको बेहोसीमै बलात्कार गरेको बताउने गरेका घटना समाचारमा आइरहन्छन् ।

मादकपदार्थ सेवन गर्ने महिला पनि त्यत्तिकै छन् तर तिनबाट पुरुषलेझैँ अत्यधिक पिउने तथा झैझगडा गर्ने कार्य कम देखिन्छ ।  यसो भन्दैमा महिलाले गर्ने मादक पदार्थ सेवनलाई छुट दिइनुपर्छ भन्ने अवश्य होइन ।  मादकको मात जोसुकैलाई लाग्ने र त्यस्तो बेहोसीमा
जोसुकैबाट हिंसा, हत्या र अशान्ति हुन सक्ने भएकाले सबैतिरबाट यसको नियन्त्रण जरुरी भइरसकेको छ  ।  स्वास्थ्य सुरक्षा र शान्तिका लागि मदिरा उन्मूलन जरुरी नै भएको छ ।  समस्या कसरी निराकरण गर्ने त ? प्रश्न गम्भीर छ किनभने मदिरा नेपालका कतिपय जातजातिका संस्कारसँग पनि जोडिएको छ ।  यसलाई हटाउन नमिल्ने तर्क तिनको उठ्न सक्छ ।  संस्कारलाई जोडेर समाज र स्वास्थ्यलाई हानि हुने चिज वस्तु सेवनमा स्वतन्त्रता दिइनु हुँदैन  ।  पुरुषलाई धार्मिक तथा सांकृतिक विशेषाधिकार दिएर मदिरा सेवनमा उन्मुक्ति दिइनु हँुदैन ।  महिलामाथिको हिंसा संस्कारसँग जोडिनु विडम्बना हो ।  हाल पसल– पसलमा मदिराका बोतल खुलम्खुला बेचिरहेको देखिन्छ ।  दूध, मासु, औषधि र फलफूल किन्न केही पर धाउनुपर्छ तर मदिरा प्रत्येक चामल पसलदेखि तरकारी पसलसम्म पाउन सकिन्छ ।  भोजभतेर वा खुसीयाली मनाउन जाँडरक्सी प्रयोग गर्ने कार्य बढिरहेको छ ।  अझ आफूलाई सम्पन्न र आधुनिक देखाउन समेत कोठामा रक्सीको बोतल सजाउने प्रवृत्ति बढ्दो छ ।

लाखौँ लाख जनतालाई खान पुग्ने अन्न तथा फलफूल कुहाएर मदिरा बनाउने गरिन्छ ।  ग्रामीण क्षेत्रका अन्न तथा फलफूल शहर बजारसम्म पु¥याएर बेच्ने यातायातको राम्रो सुविधा नहँुदा त्यहाँ अन्न तथा फलफूलबाट ठूलो मात्रामा जाँडरक्सी उत्पादन हुने गरेको छ ।  अझ विडम्बना त विषाक्त मदिरापानका कारण मदिरा पिउने व्यक्तिसमेत बिरामी परेका र मरेका घटना छन् ।  यस्तो अवस्थामा मदिरा रोक्न ल्याइएको इजाजतको व्यवस्था राजस्व उठाउने लाइसेन्सबाहेक केही बन्न सकेको छैन ।  मदिरापानका सम्बन्धमा ठोस कानुन नहुनु र भएका प्रावधान पालना नगर्नाले यसले विकराल रूप लिएको छ ।  मदिरा उत्पादन तथा नियन्त्रणमा कडा नगरेसम्म मदिराको मातले समाजलाई सताइरहने भएकाले यसको नियन्त्रणमा सरकार नै जुट्नुपर्छ ।  मदिराको कारोवार राजस्वसँग जोडेर हेर्ने गलत परिपाटी त्यागेर त्यसको ठाउँमा अन्य उपयोगी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ ।  मदिरा उत्पादन रोके राजस्व घट्ने गलत मनोवृत्ति सरकारले त्याग्नुपर्छ ।

साभार : गाेरखापत्र

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: