पानीघट्टमै बलात्कृत हुन्छन् महिला


प्रकाशित मिति :2017-06-24 09:00:40

जुम्लामा खाद्यान्न पिस्ने अर्को विकल्प नहुँदा यहाँका महिला परम्परागत पानीघट्टमा कुटानीपिसानीको लागि जान बाध्य छन् । बस्तीदेखि टाढा रहेका घट्टमा एक्लै रात बिताउनुपर्दा उनीहरु बलात्कारको शिकार हुनुपरेको हो ।

गोविन्दप्रसाद देवकोटा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा दुई वर्षअघि एक किशोरी पानी घट्टमा बलात्कृत भइन् । गहुँ र जौ पिस्नको लागि राती बास बस्नुपर्ने भएकाले उनी एक्लै घट्टमा थिईन् । मध्यरातमा तीनजना युवाहरु घट्टमा आएर उनलाई बलात्कार गरे । गाउँबाट करिब १ घण्टा टाढा खोला किनारमा रहेको घट्टमा एक्लै भएकोले किशोरीले प्रतिकार गर्न सकिनन् ।

१८ वर्षीया किशोरीले कसैलाई पनि यो घटनाको बारेमा बताउने आँट नै गरिनन् । उनको घरमा आमा र भाइ मात्र छन् । यस घटनाको बारेमा कसैले पत्तो पनि पाएनन् । बलात्कारीहरुले उन्मुक्ति पाए । तर बलात्कारपछि उनी गर्भवती भईन् । परिवारका सदस्यले थाहा पाए । तर सामाजिक डर र कानूनी उपचार खोज्दा न्याय नपाइने शंकाका कारण घरेलु औषधी खुवाई उनको एक महिनाको गर्भ तुहाए ।

एक वर्ष अघि पनि जुम्ला सिंजाको पानीघट्टमा अर्की महिलाले यस्तै पीडा भोग्नुप¥यो । खाद्यान्न पिस्नका लागि रातीमा घट्टमा बास बसेको समयमा स्थानीय तीन जना युवाको समूहले उनलाई बलात्कार गरे । ति युवाहरुले बलात्कारको घटना प्रहरीसमक्ष खबर पु¥याए ज्यान मार्ने धम्की दिएकोले ती महिलाले न्यायका लागि लड्ने मन भएपनि प्रहरीमा खबर गर्ने आँट नगरेको बताईन् । श्रीमान् रोजगारका लागि भारत गएका र घरमा सासु ससुरा मात्रै भएका कारण उनले प्रहरीसमक्ष जाने आँट नभएको बताइन् । ‘एकातिर ज्यान मार्ने धम्की, अर्कातिर श्रीमान साथमा नहुँदा पिडा सहेर पनि प्रहरीमा जान सकिन ।’ ति महिलाले भनिन् ।

यी दुई घटनामा पीडित महिलाहरु प्रतिनिधि पात्र मात्रै हुन् । मकै, गहुँ, जौ, कोदो लगायतका खाद्यान्न पिस्नका लागि महिलाहरु नै पानी घट्टमा जान्छन् । गाउँदेखि ३ घण्टा टाढासम्म सुनसान खोला किनारमा घट्ट हुने हुँदा सँधै महिलाहरु असुरक्षित हुने गरेका हुन् । तर, यि घटना प्रहरी समक्ष भने पुग्दैनन् । न त गाउँसमाजमा नै उनीहरुले आफ्नो पिडा पोख्न सक्छन् । उनीहरुलाई प्रहरीमा पुगेपछि न्याय पाइन्छ भन्ने विश्वास नभएकाले पनि पीडकहरुले उन्मुक्ति पाउदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको अनुसार चालु आर्थिक वर्षमा जिल्लामा कुनैपनि बलात्कारका घटना दर्ता भएका छैनन् । कार्यालयका प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ६ वटा मुद्दा दर्ता भएका छन् भने आ. ब. २०७१/०७२ मा २ वटा बलात्कारका मुद्धा दर्ता भएका छन् । काफ्लेले बलात्कारका घटना भएपनि सामाजिक रुपमा इज्जत जाने डरका साथै अदालतसम्म पुग्दा न्याय नपाइने आशंकाका कारण प्रहरी समक्ष आउन नसकेको स्वीकार गरे ।

तर जुम्लामा खाद्यान्न पिस्ने अर्को विकल्प नहुँदा यहाँका महिलाहरु परम्परागत पानी घट्टमा कुटानीपिसानीको लागि जान बाध्य छन् । बस्तीदेखि टाढा रहेका घट्टमा एक्लै रात बिताउनुपर्दा उनीहरुले बलात्कार लगायतका जोखिम सहनु परेको हो । दिउँसोमा घरको अन्य काममा व्यस्त हुने र रातीमा घट्टमा जाने गर्छन् ।

‘गहुँ र जौं पिस्न नजिकै मिल छैन । घट्टमा नपिसेर छाक टार्न मिल्दैन ।’ पानीघट्ट जाँदै गरेकी सिंजाकी लक्ष्मी रावतले भनिन्, ‘यहाँबाट तीन घण्टा हिँडेपछि खोलामा पुगिन्छ । त्यही घट्ट छ । दिउँसोमा हत्तपत्त पालो पाईंदैन । रातभरी जाग्राम बसेर पिस्नुपर्छ बस्नुपर्दछ ।’ उनले थपिन्– ‘खोलामा रहेको घट्टमा कतिबेला के हुने हो थाहा हुँदैन । डराइ–डराइकन रातभर एक्लै घट्ट कुर्नुपर्छ । एक्लै हुँदा बलात्कारमा पर्ने डर हुन्छ ।’

यहाँका पुरुषहरु रोजगारीका लागि भारत जाने हुनाले महिलाले नै घरको काम धान्ने गर्दछन् । सदरमुकाममा रहेको एक-दुईवटा मिलमा महिनौंसम्म पालो कुर्दा पनि खाद्यान्न नपिसिने भएपछि महिलाहरु घट्टमा बास बस्ने गरेका हुन् । ‘मिलमा पालो आउन महिना बढी लाग्छ,’ चन्दननाथ नगरपालिकाकी लक्ष्मी देवकोटाले भनिन्,‘एक दिनको काम मारेरै भए पनि टाढाको घट्टमा जानुपर्दछ ।’

पानी घट्टमा ढोका हुँदैन । खरले छाएको सानो छाप्रोमा हालेर पानी घट्ट बनाइएको हुन्छ । घट्टमा पिस्न पनि लामो समय लाग्छ । ५० किलोग्राम खाद्यान्न पिस्न कम्तिमा ४ घण्टासम्म लाग्छ । त्यसैले महिलाहरु रुखो सुखो खानासँगै एक्लै सुनसान खोलामा बास बसेरै खाद्यान्न पिस्ने गर्छन् । कोही कोही महिलाहरु त काखामा दुध खाने बालबच्चा बोकेर पनि घट्टमा जाने गरेका छन् । ‘घरमा अरुसँग बस्न मान्दैनन् । बच्चाबच्ची लिएरै घट्ट नआए के खानु ?’ सिंजा कनकासुन्दुरीकी दिलमायमा रावलले भनिन्, ‘भोकै घट्टमा बच्चाबच्ची लिएर बस्नुपर्छ । कहिले त पानी पसेर पिठो बगाउँछ र घरमा गाली समेत खानुपर्दछ ।’ उनीहरु स्थानीय स्तरमा उत्पादन हुने गहुँ, जौ, मकै, कोदो लगायतका खाद्यान्न पिसेरै खाने गर्दछन् ।

महिला बालबालिका कार्यालयकी सहायक महिला बालबालिका अधिकृत विन्दु कुँवरले घट्टमा जाँदा महिलाले यौन दुव्र्यवहार, बलात्कार जस्ता समस्या भोग्नुपरेपनि सामाजिक संरचना र झन्झटिलो न्याय प्रणालीका कारण न्यायिक प्रक्रियासम्म नआउने बताईन् । उनले रातीको समयमा खाद्यान्न पिस्न महिलालाई एक्लै खोलामा पठाउने चलनले महिला झन् जोखिममा पर्दै गएको उल्लेख गरिन् । स्थानीय तहको निर्वाचन भइसकेकोले जनप्रतिनिधिले महिलाको यो समस्या घटाउनका लागि सुरक्षित रुपमा खाद्यान्न पिस्ने वातावरण मिलाउनुपर्ने कुँवरको भनाई छ ।

(गोविन्दप्रसाद देवकोटा जुम्लाका पत्रकार हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: