महिला, पितृसत्ता र अपेक्षा


प्रकाशित मिति :2017-06-25 12:15:55

साधना प्रतीक्षा

काठमाडौं।सामान किन्न किराना पसलनेर पुगेका मेरा पाइला अनायास टक्क अडिए । कारण आडैको चियापसल बाहिर चिया पिउँदै गरेका पुरुषहरूको संवाद थियो । ‘हेर, श्रीमती भनेको त्यस्तो पो हुनुपर्छ, आफ्नो सफलताको श्रेय श्रीमानलाई दिने ।’ ‘त्यति मात्र हो र ? सेवा निवृत्त भएपछि के गर्नुहुन्छ भन्दा श्रीमानलाई स्याहारेर बस्छु रे, त्यत्रो ठूलो पदमा पुगेर पनि….।’ ‘त्यही त भन्या कति इमानदार अनि श्रीमानप्रति समर्पित ।’ ‘अरू भए कति फुर्ती गर्थे होला, यिनी भने अब आफ्नो श्रीमान र परिवार सम्हालेर बस्छिन् रे ।’

त्यो पुरुष जमातले प्रशंसा गरेकी महिला अरू कोही नभएर पूर्व प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । उनको व्यक्तित्व नै प्रशंसनीय हुनाले उनको प्रशंसा गर्दै आफ्ना श्रीमती पनि त्यस्तै होउन् भन्ने अपेक्षा राख्नु अनुपयुक्त थिएन । उनको साहसी तथा जुझारु व्यक्तित्व अनि उनैले सार्वजनिक गरेको उनको प्रेरक पारिवारिक परिवेशबारे सुन्दा मैले पनि मनमनै भनेकी थिएँ, ‘आहा, हामी सबै महिला त्यस्तै परिवेशमा उनीजस्तै संघर्षशील बन्नसके….।’

पूर्व प्रधानन्यायाधीश कार्की पछिल्लो समयमा निकै चर्चाको विषय बनिन् । लोकमानसिंह कार्की प्रकरण तथा महाअभियोग प्रकरणबाट चर्चाको शिखरतर्फ उन्मुख भएकी उनी सेवाबाट अवकाश प्राप्त गरेपछि चर्चाको शिखरमा पुगिन् । सामाजिक सञ्जालका भित्ताहरू उनको अभिव्यक्ति र पारिवारिक फोटाहरूले भरिए । सर्वाधिक चर्चा उनको श्रीमानप्रतिको कृतज्ञतापूर्ण अभिव्यक्ति ‘अब म श्रीमानलाई स्याहारेर बस्छु’ ले नै पायो । कैयौं श्रीमानहरू आफ्नो फेसबुक पेज श्रीमतीका सामु तेर्स्याउँदै भन्नथाले, ‘हेर, आइमाई भनेको कस्तो हुनुपर्छ । जतिसुकै ठूलो पदप्रतिष्ठा आर्जे पनि श्रीमानप्रति समर्पित ।’ तर ती श्रीमानहरूले दुर्गा सुवेदीलाई देखाउँदै यसो भन्नचाहिँ सकेनन्, ‘श्रीमान भनेको यस्तो पो हुनुपर्छ, जसले श्रीमतीको व्यक्तित्व निर्माणका लागि आफूलाई समर्पित गरिदिए । त्यसैले त आज सुशीला कार्की एउटा उदाहरण बनिन् ।’ उनको अवकाशले जति चर्चा पायो, त्यति उनले न्यायिक सेवामा गरेका कामले पाउनसकेको थिएन ।

सेवानिवृत्त कुनै पुरुषले पत्नीप्रति कृतज्ञ भएर ‘आजसम्म पत्नीले मेरालागि गरिन्, अब म उनी र परिवार सम्हाल्छु’ भनेको सुनिएको छैन ।

पितृ सत्तात्मक सामाजिक संरचनाभित्र औंलामा गन्न सकिने पुरुषमात्र दुर्गा सुवेदीजस्तो बनेर त्यसलाई सार्वजनिक पनि गर्न सक्छन्, ‘मैले घरव्यवहार सम्हालेँ, उनले आफ्नो पेसा सम्हालिन्’ भन्दै । ‘आजसम्म उहाँले घरपरिवार सम्हाल्नुभयो, अब मैले उहाँ र परिवार सम्हाल्छु’ भन्न पाउने भाग्यशाली महिला खोजेर पनि नभेटिने अवस्था छ । कार्कीको अभिव्यक्तिमार्फत आम पुरुषले आफ्ना श्रीमतीप्रति अपेक्षा राख्नु आफैमा हास्यास्पद देखिएको छ । किनभने पतिको सहयोग, प्रेरणा र त्यागबाट उच्च सामाजिक हैसियत प्राप्त गरेकी एउटी महिला सुशीला कार्की देखिएकी छन् भने यसको विपरीत पत्नीको त्याग र समर्पणको भर्‍याङ चढेर सफलताको उचाइमा पुगेका पुरुषहरूको गन्ती गरेरै सकिँदैन । पत्नी अर्थात् महिलाले घरपरिवार, बालबच्चा, सामाजिक, आर्थिक सबै व्यवहार आफ्नो थाप्लोमा बोकेर पति अर्थात् पुरुषलाई उसको लक्ष्यतर्फ निर्बाध हिँड्न दिएको हुँदा नै ऊ सफल बनेको हुन्छ र पनि आजसम्म सेवानिवृत्त कुनै पुरुषले पत्नीप्रति कृतज्ञ भएर ‘आजसम्म पत्नीले मेरालागि गरिन्, अब म उनी र परिवार सम्हाल्छु’ भनेको सुनिएको छैन । सायद सुनिँदैन पनि, किनकि पितृसत्ताले महिलाको त्याग र योगदानलाई उसको जन्मजात कर्तव्य ठान्छ । त्यसैले त अवकाश प्राप्त पुरुष पत्नीको सेवा अझ बढी खोज्ने गर्छ । यही कारणले ससुरादेखि नातिसम्म स्याहार्ने जिम्मा महिलाकै काँधमा हुने गर्छ ।

एउटा पुरुषको व्यक्तित्व निर्माणमा सर्वप्रथम आमाले आफ्ना इच्छा–आकांक्षा र क्षमताको तिलाञ्जली दिएकी हुन्छे । त्यसपछि पत्नीले आफ्नो खुसी र चाहनाको बलि दिएकी हुन्छे । यस्तै त्यागी पत्नीको उदाहरण बुद्धपत्नी यशोधरा हुन् र पनि उनको खासै चर्चा पाइँदैन । नाबालक सन्तान र पत्नीलाई छाडी सिद्धार्थ गौतम ज्ञानको खोजीमा गएपछि यशोधराले सन्तान र गृहत्याग नगरेरै पनि ज्ञानको खोजी गरिन् । सिद्धार्थ गौतमले ज्ञान पाएर बुद्ध बन्दा यता यशोधरालाई पनि सोही ज्ञान प्राप्त भएको मानिन्छ । तर उनले त्यसलाई प्रचारमा ल्याउन चाहिनन् । त्यसैले त उनका पति भगवान बुद्धका रूपमा स्थापित भए । ती महान नारी यशोधराले आफ्ना पतिसँग न प्रतिस्पर्धा गरिन्, नत विद्रोह नै ।

नारीको त्याग त्यो बेलामात्र होइन, आज पनि उस्तै देखिन्छ । अझै पनि ग्रामीण परिवेशमा हेर्ने हो भने छोराको बिहे गरेर बुहारीले घर धान्ने अनि छोरालाई उच्चशिक्षा तथा जागिरका लागि पठाउने गरिन्छ । पतिलाई परमेश्वर मानेर समर्पित नारीहरू अनपढ र गाउँले नै रहन्छन्, सहर पुगेका पतिहरू ठूलो पदप्रतिष्ठा आर्जेपछि पत्नीलाई सहरिया ‘सौता’ उपहार पनि दिने गर्छन् । ती आदर्श र त्यागी पत्नीहरू सौतालाई पतिपरमेश्वरको प्रसादका रूपमा चुपचाप ग्रहण गर्छन् । आफूमाथि जतिसुकै अन्याय भए पनि विद्रोह नगर्ने हुनाले पितृसत्ताको अपेक्षा यस्तै आदर्श नारी हुने गर्छ । नारीवादी चेतनायुक्त नारीहरू विद्रोही हुन्छन् । यस्तै विद्रोह चेतनाका कारण पुरुषले नारीलाई ‘सुशीला कार्कीजस्तो हुनुपर्छ’ भनेकोमा मैले ‘पुरुषहरू पनि त दुर्गा सुवेदीजस्तो हुनुपर्‍यो नि त’ भनेर उनीहरूको आँखा तराइको सामना गर्नपुगेँ ।

एक्काइसौं शताब्दीका हाम्रो मानसिकता कति साँघुरो ? सहकार्य र साझेदारीबाट व्यक्ति, परिवार अनि समाजलाई नै अग्रगमनतर्फ लानुपर्नेमा पुरुष वर्गले आफूलाई मालिक अनि महिलालाई सेवकका रूपमा हेर्ने प्रवृत्ति जहाँको त्यहीँ देखिन्छ । परिवारमा महिला–पुरुष दुबै कामकाजी भए पनि घरेलु काममा पुरुषको साझेदारी नहुनाले महिला दोहोरो मारमा रहेको सर्वविदितै छ । यसै सन्दर्भमा मलाई सम्झना हुन्छ, कामविशेषले कुनै कार्यालय पुग्दा महिला कर्मचारीको मात्र उपस्थिति देखेर त्यसको कारण सोधेँ ।

एक परिचित महिला कर्मचारीले भनिन्, ‘तपाई त लेख्ने मान्छे, हाम्रो पीडा पनि लेखिदिनुस् न । दस बजे मिसिनमा हाजिर गर्नुपर्ने, लोग्नेमान्छेहरू अर्काले पकाएको खाएर आउँछन्, समयमै हाजिर गरेर यसरी दिनभर गायब । पाँच बज्ने बेला आयो, हाजिर गर्‍यो, पर्कियो । हामी घरको सारा काम सकेर आउनुपर्ने झन् टा्रफिक जामले गर्दा सधैं ढिला आउनेमा पर्छौं । दिनभरि यसरी खटिएर काम गरेको इहाजिरीले देखाउँदो रहेनछ ।’ उनको यस्तो मार्मिक भनाइले दु:खी हुँदै मैले आफ्नी ती साथीलाई पनि सम्झेँ, जो बिहान उज्यालो नहुँदै उठेर परिवारका सदस्यका लागि खाना बनाई हटकेसमा राखेर कार्यालय पुग्ने गर्छिन् । आखिर किन बन्दैन परिवारमा नारीमैत्री वातावरण ? सायद पुरुषले आफ्नो सत्ता गुमाउन नचाहेर । त्यसैले पुरुषहरू सुशीला कार्कीको पतिप्रतिको आस्था र समर्पण देखाएर पत्नीलाई कर्तव्यबोध गराउँदैछन् । तर आफूहरू दुर्गा सुवेदीको त्याग र सदाशयता ग्रहण गरेर पत्नीलाई सफल बनाउने कल्पनासम्म गर्न सक्दैनन् ।

साभार:कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: