एउटी आमाको आँसु


प्रकाशित मिति :2017-06-28 12:23:31

देवेन्द्र भट्टराई

काठमाडौं।असोजको दोस्रो साता रामेछापको दुर्गम गाउँ सैपु पुग्दा डिल्लीमाया तामाङ घर–आँगन डिलमा बसेर एकोहोरो बिलौना सुनाइरहेकी थिइन् । उनका आँखामा आँसु थिएन, बोलीमा तागत थिएन । २०६८ को माघ ५ मा ‘नृशंस हत्या’ गरिएकी १४ वर्षीया छोरी सुन्तलीको हत्याराबारे प्रहरी–प्रशासनमा किटानी–जाहेरी दिएर पनि सुनुवाइ नभइरहेको स्थिति साँच्चिकै विदारक थियो । न्यायिक अधिकार खोज्दै भित्री गाउँ सैपुबाट मन्थली र त्यहाँबाट काठमाडौं आउँदा–जाँदाको हैरानीमा उनको घरखेत बन्धकीमा परिसकेको थियो ।

२०६८ माघको नृशंस घटनाबारे जिल्ला तहमा सुनुवाइ नभएपछि डिल्लीमाया २०६९ भदौमा काठमाडौं आएकी थिइन् । काठमाडौंसम्मको पहुँच भएका गाउँले आफन्तको साथ लिएर सिंहदरबारमा पुग्दा तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले तत्काल गरेको ‘सुनुवाइ’ ले डिल्लीमाया निकै उत्साहित भएकी थिइन् । फेरि पनि महिना बिते, वर्ष बिते तर न्यायको बत्ती निभेसरह भयो । फेरि पनि डिल्लीमायाको आक्रोश र छटपटी केही पत्रपत्रिकामा सीमित रह्यो, उनी घरआँगनमा बसेर रोइरहिन् ।

सुन्तली हत्याको प्रकरण राष्ट्रिय मानवअधिकार आयोग हुँदै प्रहरी निकायका लागि ‘प्रमुख चुनौतीको मामला’ बन्यो । सुन्तली प्रकरणकै कारण जिल्लामा एकपछि अर्का प्रहरी इन्चार्ज फेरिए । सीडीओका निम्ति सुन्तलीको नामै ‘हैरानी’ को फाइल बन्यो । जिल्लामा शक्ति र पहुँचका हिसाबमा रजगजको नाम बनाएका श्याम राउतलाई हत्याराका रूपमा किटानी जाहेरी दिएपछि डिल्लीमाया पनि सबैमाझ चिनिएकी थिइन्, तर भयत्रासको नामका रूपमा । ‘अपराधी खोजी पाऊँ, हत्यारालाई कारबाहीको दायरामा ल्याइपाऊँ भनेर म हिंड्न थालेपछि कतिपय आफन्तहरू पनि पराइ बनेका थिए, नुन–तेल पैंचो दिने नातेदारसमेत टाढिन थालेका थिए,’ डिल्लीमाया सम्झन्छिन्, ‘तैपनि मैले हार खाइनँ । कोही नभए भगवान्ले त एक दिन मेरो बिलौना सुन्नेछन् भनेर लागिरहें ।’

न्याय दिलाउने कुरामा प्रहरी–प्रशासनको सुस्त कामकारबाही र लाचारीपनमा बल दिने एउटा उदाहरण बन्यो— सुन्तली हत्याकाण्ड । गएको दसैंमा डिल्लीमायाले तत्कालीन प्रहरी महानिरीक्षकका नाममा पत्र पठाइन्— उही बिलौना जोडेर । अनुसन्धान र कारबाहीका हकमा ‘लाजको विषय’ बनेको सुन्तली प्रकरणले यसपछि मात्रै साँच्चिकै प्राथमिकता पायो । जिल्लामा प्रहरी प्रमुख बनेर गएका (डीएसपी) कुमोध ढुंगेलले मुल्तवीमा बसेको सुन्तली हत्या छानबिनलाई यसरी ‘प्रतिबद्धताको मुद्दा’ बनाए, यसको परिणाम काम थालेको ६ महिना नबित्दै देखापरेको छ । भारतको चण्डीगढ, सिलोङ, दिल्ली हुँदै अन्दामान निकोबार टापुसम्म आवतजावत गरिरहेका अभियुक्त राउतलाई ‘फलो’ गर्ने उपाय र निगरानीको विशेष संयन्त्रले यसरी काम गर्यो, जे जस्तै प्रकृतिका मुद्दा र गम्भीर मामला भए पनि इच्छाशक्ति राख्न सकेमा परिणाम देखा पर्न सक्छ भन्ने उदाहरण पनि अहिले आएर यही सुन्तली–प्रकरण बनेको छ ।

घटना साँच्चै पत्याइनसक्नुको छ । नाबालक छोरीको हत्या भएको १५ दिनपछि उनको शव खोलामा भेटियो । शव भेटिएपछि हत्याराका बारेमा जिल्लामा किटानी–जाहेरी दर्ता हुनै सकेन (दिइएन) । घटनाको एक वर्षपछि सिंहदरबारसम्म यो घटना ठोकिएपछि बल्ल सुनुवाइ सुरु भयो । त्यसपछिको अनेक सुस्त कार्यशैली, उदासीनता र लाचारीमाझ नाबालक छोरी मारिएको ६६ महिनापछि मात्रै न्याय पाएकी छन्— आमा डिल्लीमाया तामाङले ।

आज द्वन्द्वकालिन दर्जनौं मुद्दादेखि सत्यनिरुपणका सयौं विषय थाती रहेकै अवस्थामा छन् । ‘ढिलो न्याय पाउनु र न्याय नपाउनु भनेको उस्तै हो’ भनेर बहस पैरवी भइरहेका बेला नाबालक छोरी हत्याको साढे ५ वर्षपछि भए पनि डिल्लीमायाले न्याय त पाएकी छन्, तर डिल्लीमायाजस्तै आवाज उठाइरहने अवस्थामा हरेस नखाने आमनागरिक कति होलान् ? यसकारण ढिलै भए पनि प्रहरी प्रशासनले दिलाएको न्याय जति ‘उल्लेख्य’ छ, त्यति नै डिल्लीमायाको निरन्तरको आवाज पनि एकदमै अनुसन्धानमा ‘प्रेरक आधार’ बनेको छ ।

छोरी सुन्तलीसँगै हुर्किरहेका अन्य ४ जना नाबालक छोराछोरीलाई गाउँमा अलपत्रै छाडेर ‘न्यायिक अधिकार’ खोज्दै राजधानी आइरहने डिल्लीमायाले मृत छोरीकै नाममा गाईगोठ रित्याइन्, लैनो भैंसी र गाईहरू बेचबिखन गर्दैै सहर धाउने खर्च जुटाइन् । दुई कमाइ लाग्ने खेत बन्धकीमा राखिन् । केही वर्षअघिसम्म आफ्ना श्रीमान् बमबहादुरसँग मेघालयको कोइलाखानीमा काम गर्न गएका बखत कमाएको सम्पत्ति, जोडेको गरगहना सबै बेचबिखन गरिन् । ‘सपनामा पनि त्यही छोरी आइरहन्छे, कक्षा ७ मा पढ्दै गरेकी छोरीले पिंढीमा बसेर घोकेको नेपाली विषयको पाठको झल्को आइरहन्छ,’ डिल्लीमाया सुनाउँछिन्, ‘काठमाडौंमा हुने मानवअधिकार र महिला अधिकारका आयोग सबै देखावटी रहेछन् भन्ने लागिरहन्थ्यो । जिल्लामा भएका पत्रकार र अधिकारकर्मी पनि बलेकै आगो ताप्ने लाइनमा थिए । यसरी छोरीको हत्याभन्दा त्यसपछिका अन्य कारणले म निराश बन्दै गएकी थिएँ ।’ सुन्तली हत्या प्रकरण पुष्टि भइसकेको अवस्थामा गत वर्ष मात्रै गृह मन्त्रालयले क्षतिपूर्तिसरह ६ लाख रुपैयाँ डिल्लीमायालाई दिइसकेको थियो, तर अपराधी खोजबिनबारे भने सबै तह–तप्का मौनप्राय: थियो । गृहको क्षतिपूर्ति लिने बेला डिल्लीमायाले ‘मलाई पैसा होइन, न्याय चाहियो’ भनेर मिडियासामु बोलिरहेको दृश्य उत्तिकै विदारक थियो । ढिलो वा चाँडो, एउटा अठोट र दृढता लिएर जिल्लामा पुगेका प्रहरी अधिकारी ढुंगेलले डिल्लीमायाको आँसु पुछेका छन् । प्रहरी–प्रशासनमा न्यायिक अधिकारको सोधखोज र कर्तव्यपरायण शैली हराइसकेको रहेनछ भन्ने प्रमाण बनेर आएका डीएसपी ढुंगेल साँच्चिकै बधाईका पात्र बनेका छन् ।

अहिलेको चरणमा ‘न्यायिक अधिकार’ मात्रै पाएकी छन्— डिल्लीमायाले । महिला अधिकार, सशक्तिकरण र समावेशी आवाजका नाममा चर्का नारा मात्रै उछालिरहने व्यक्ति, वर्ग र समूहका लागि डिल्लीमाया एउटी पथप्रदर्शक हुन् । सही अर्थमा राज्य र न्याय–पद्धतिको पहुँच पाउनै नसक्ने वर्गका लागि त्यहाँसम्म पनि कति लामो कष्ट बेहोर्नुपर्ने रहेछ भन्ने उदाहरण पनि बनेकी छन्, डिल्लीमाया । यो न्यायिक चरणपछि अबका दिनमा डिल्लीमायाले पाउने ‘सामाजिक न्याय’ को अर्थ अझ विशिष्ट हुनेछ । भित्री समाजमा र आ–आफ्नै परिवेशमा अनेक परिबन्द बेहोरेर बसिरहेका सर्वसाधारणका निम्ति आमा डिल्लीमाया तामाङको नाम मात्रै पनि अबका दिनमा ‘बाहिर निस्केर बोल्ने’ आवाज बन्न सक्छ । ढिलै भए पनि डिल्लीमायाले पाएको यो न्यायमा उनी आफैं ‘पहिलो हकदार’ बनेकी छन्, त्यसमा मन–वचन–कर्मले साथ दिने प्रहरी अधिकारी कुमोध ढुंगेल जिम्मेवारी वहन गर्नेमा अनकुरणका अब्बल पात्र बनेका छन् ।

साभार:कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: