श्रीमानले नहेरेर के भो ? हातमा सीप छ नि !


घरेलु हिंसा प्रभावित महिलालाई सीप नै जिउने साहरा

प्रकाशित मिति :2017-06-29 10:21:59

विवाह पश्चात् बिरामी परेकी रिलामु शेपालाई श्रीमान्ले वास्ता गरेनन् । त्यसयता सिलाईको सहारामा उनले जीवन चलाएकी छन् । ९ वर्षदेखि श्रीमान्ले बेवास्ता गरे पनि उनलाई एक्लै जिउन सकिने आत्मविश्वास छ ।

धनु राई

ओखलढुंगा । पढ्ने उमेरमा रेखा तोलांगीले पढ्न पाइनन् । पढाउन नसकेपछि बाबु आमाले सीप नसिकाएको भए यति बेला उनको जीवन झनै कष्टकर हुन्थ्यो । सुखी जीवनको परिकल्पना गरेर विवाह गरेको श्रीमान्ले आधा बाटोमै छाडिदिए । अहिले उनलाई सिलाई कटाईको सीप नै जीउने सहारा भएको छ ।

‘२ वर्षयता श्रीमान्ले वास्ता गर्न छाडेका छन् ।’ रेखा थप्छिन् – हातमा यही सिलाईको सीप नभएको भए त मेरो जीवनको बाँच्ने सहारा नै हुन्नथ्यो ।’ नेपाली सेनामा जागिरे श्रीमान्ले रेखा र उनका नाबालक छोरालाई हेर्दैनन् । ५ वर्षअघि विवाह भएको थियो । केही समय राम्रो भए पनि श्रीमान्ले बेवास्ता गर्न थालेका उनले बताइन् ।

रेखा ओखलढुंगाकै सिद्धिचरण नगरपालिका १२ रमाइलो डाँडामा भाडाको कोठामा सिलाई पेसा गर्दै आएकी छन् । दिनमा १२ सय रुपैयाँसम्म कमाइ गर्छिन् । घर भाडा मात्रै मासिक ५ हजारका दरले वर्षमा ६० हजार तिर्नु पर्छ । बाँकी छोराको पढाई खर्च । खाईपिई खर्च उनी आफ्नै कमाइले धान्दै आएकी छिन् । आफूसँग सिप भएकैले गर्दा आज श्रीमान्ले साथ नदिँदा सीप नै श्रीमान् भन्दा ठुलो साहारा बनेको उनले सुनाईन् ।

श्रीमान्को बेवास्तापछि रिलामु शेर्पाको पनि जीउने आधार सीलाई कटाई नै बनेको छ । कक्षा ७ मा पढ्दापढ्दै परिवारले उनको विवाह गरिदिएका थिए । विवाह पश्चात् बिरामी परेकी उनलाई श्रीमान्ले वास्ता गरेनन् । त्यसयता सिलाईको सहारामा उनले जीवन चलाएकी छन् । ५ वर्ष अघिदेखि सिलाई सिक्दै काम गर्न थालेकी रिलामु अहिले मासिक १० हजार रुपैयाँसम्म कमाइ हुने बताउँछिन् ।

उनी अझै पनि पूर्ण निको भएकी छैनन् । ९ वर्षदेखि श्रीमान्ले बेवास्ता गरे पनि उनलाई एक्लै जिउन सकिने आत्मविश्वास छ । उनी अर्कैको टेलर्समा कामदारको रूपमा काम गर्दै आएकी छन् । निकट भविष्यमै आफैले टेलर्स चलाउने सोचमा रहेकी शेर्पाले आफूलाई जस्तै दुःख पाएकाहरुलाई सिलाई सिलाइ सिकाउने इच्छा रहेको बताउँछिन् । घरेलु तथा साना उद्योग कार्यलय ओखलढुंगाको तथ्यांक अनुसार जिल्लामा सिलाई कटार्ई, ढाका बुनाई, लगायतका साना उद्यममा रोजगार गर्ने महिलाको संख्या १६ सय ७९ रहेका छन् । महिला उद्यमी भने ७०३ जना छन् ।

तिनै उद्यमशिल महिला मध्ये एक हुन् विमलाकुमारी विश्वकर्मा । आफूसँग हातमा सीप नहुँदा ५० रुपैयाँ सापटी नपत्याउँदाको पीडा भएकी उनी पहिलो कमाई स्वरुप ४५ हजार रुपैयाँ पाउँदा खुसीले रोएकी थिइन् ।

अहिले उनी आफै उद्यमी बनेर अरूलाई रोजगार दिने भएकी छन् । विश्वकर्माले ५ वर्ष अघि साना तथा घरेलु कार्यालयले दिएको ३ महिने ढाका बुनाई तालिम लिएकी थिइन् । ढाका बुनाई तालिम पश्चात् घरेलु कार्यालयले सन्चालन गर्ने तालिममा प्रशिक्षक समेत बनिन् । अहिले उनले ढाका उद्योग दर्ता गरी सञ्चालनमा ल्याएकी छन् । दुई जना महिलालाई रोजगारी पनि दिएकी छन् । यसै कामबाट उनले मासिक १५ हजार रुपैयाँसम्म नाफा कमाउने थालेकी छन् ।

ओखलढुंगा सिद्धिचरण नगरपालिका १२ रमाइलो डाँडाकी शान्ति राईले ३ सय रुपैयाँ मासिक तिरेर सिलाईकटाई सिकेकी थिइन् । ११ वर्षअघि सिकेको त्यो सीपले उनलाई मासिक ४० हजार रुपैयाँसम्म कमाई गर्ने बनाएको छ ।

कटाई सिलाई गरेरै कमाएको पैसाले ८ लाख रुपैयामा एउटा घडेरी समेत किनिसकेकी छन् राईले । आफूसँग सिप भएमा जस्तो अप्ठ्यारोमा पनि सीपको सदुपयोग गरेर जीवन सहज बनाउन सक्ने उनको ठम्याई छ । उनले भनिन् – आफूसँग सीप भएमा अरूको अन्डरमा रहेर काम गर्नु पर्दैन । स्वतन्त्र रूपमा काम गर्दा सिर्जनशिलता झन् बढ्छ ।’

महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/०७३ मा घरेलु हिंसामा परेका महिलाको संख्या ९ हजार ३९८ जना छन् । यो तथ्याङ्क आ.ब. २०७१/०७२ को भन्दा ११३० ले बढी हो । आ.ब. २०७१/०७२ मा ८ हजार २६८ जना महिला घरेलु हिंसाबाट प्रभावित भएका थिए । तर, सीप सिकेर आत्मनिर्भर महिला भन्छन्, – महिलासँग सीप र कमाउने क्षमता भए घरभित्रै हिंसामा पर्नुपर्दैन ।

ओखलढुंगामा सिलाई व्यवसाय गर्दै आएकी बविता खड्कको अनुभवले पनि भन्छ – श्रीमान्सँग खर्च माग्न नपर्दा महिलाको घरभित्रको हैसियत बलियो हुन्छ ।

सिलाईको आम्दानीबाट दैनिक ४ सय रुपैयाँ बचत गर्दै आएकी बविता बेरोजगार महिलालाई समेत सीप सिक्न सुझाउँछिन् । सामान्यतया घर भान्छाको मात्रै काम गर्दै आएका र आर्थिक रूपमा कमजोर महिला हिंसामा परेका विभिन्न अध्ययनले देखाएको छ । घर भान्छा सम्हालेका महिलाले पनि फुर्सदको समयलाई सीप सिक्न उपयोग गरेमा आर्थिक रूपमा बलियो भई हिंसा न्यूनिकरणमा समेत सहयोग पुग्ने देखिन्छ ।

धनु ओखलढुंगाकी पत्रकार हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: