५३% भोट हाल्ने महिला


प्रकाशित मिति :2017-06-30 11:22:18

काठमाडौं । स्थानीय तह निर्वाचनको दोस्रो चरणमा मतदान गर्नेमा महिला बढी देखिएका छन् । भोट हाल्नेमध्ये ५३ प्रतिशत महिला छन् । मतदानकै दिन बुधबार प्रारम्भिक जानकारीका आधारमा निर्वाचन आयोगले ७०.५ प्रतिशत मत खसेको उल्लेख गरेकामा बिहीबार यकिन तथ्यांक प्राप्त भएपछि ७३ दशमलव ६९ प्रतिशत मतदान भएको देखिएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहको नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदातामध्ये ४७ लाख ४० हजार ५ सय २२ जनाले मतदान गरेको आयोगले जनाएको छ । मतदान भएका ३५ जिल्लामध्ये दार्चुलाबाहेक अन्यत्रको विवरण आयोगलाई प्राप्त भइसकेको छ । दार्चुलामा ५५ हजार २ सय ७५ मत खसेको छ । त्यहाँ केही स्थानीय तहबाट विवरण प्राप्त हुन बाँकी रहेकाले लिंगअनुसारका मतदाता छुट्याउन बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचन कार्यालय प्रमुख तुलसीराम पाण्डेले प्राप्त भइसकेका स्थानको विवरण हेर्दा महिला मतदाता संख्या बढी पाइएको बताए । बाँकी ३४ जिल्लामा २५ लाख १५ हजार ४ सय ६५ महिला र २१ लाख ६९ हजार ७ सय ५० जना पुरुष मतदाताले मतदान गरेको आयोगको तथ्यांक छ । पुरुषभन्दा ३ लाख ४५ हजार ७ सय १५ महिला मतदाता बढी देखिएका छन् । प्रदेश १ का १४ जिल्लामध्ये ताप्लेजुङ र प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तुमा मात्रै पुरुष मतदाता संख्या बढी देखिएको छ । प्रदेश ७ का ९ जिल्लामा दार्चुलाको यकिन विवरण आउन बाँकी छ । अन्य सबै जिल्लामा महिला मतदाताको सहभागिता बढी छ ।

निर्वाचन आयुक्त इला शर्माले स्थानीय समस्या र चुनौतीको सामना महिलाले नै बढी गर्नुपर्ने भइरहेकाले त्यसका राम्रा जनप्रतिनिधि चुन्न महिलाले देखाएको सहभागिता प्रशंसनीय रहेको बताइन् । ‘आफ्ना बालबालिकाको जन्मदर्तादेखि, स्वास्थ्य, शिक्षा र विकासमा आएका समस्याको सामना सबैभन्दा बढी महिलाले नै गर्नुपरेको हुन्छ,’ उनले भनिन्, ‘त्यसको समाधानको आसको फलस्वरूप पनि मतदानमा महिला सहभागिता उल्लेखनीय देखिएको छ ।’
दोस्रो चरणमा निर्वाचन भएका तीनवटै प्रदेशमध्ये प्रदेश ५ मा सबैभन्दा बढी मतदान भएको छ । त्यहाँ ७५ दशमलव ३४ प्रतिशत मतदान भएको हो । २४ लाख ५४ हजार ४ सय ८८ मतदातामध्ये १८ लाख ४९ हजार १ सय ९९ ले मतदान गरेका छन् । मतदानमा सहभागी भएका कुल मतदातामा ५३ दशमलव ८४ प्रतिशत महिला छन् । प्रदेश ७ मा ७३ दशमवल ६९ प्रतिशत मतदान भएको छ । १३ लाख ३ हजार ७ सय १४ मतदातामध्ये ९ लाख ५२ हजार ४ सय ५४ जनाले मतदान गरेका छन् । त्यहाँ महिला उपस्थिति ५२ दशमवल ४८ प्रतिशत छ ।

प्रदेश १ मा ७२ दशमलव ४९ प्रतिशत मतदान भएको छ । २६ लाख ७४ हजार ५ सय ६३ मतदातामध्ये १९ लाख ३८ हजार ८ सय ६९ ले मतदानमा सहभागिता जनाएका छन् । त्यहाँ मतदान गर्नेमा ५२ दशमलव ५९ प्रतिशत महिला छन् ।

देशभर १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पुरुष मतदाता ७० लाख ६९ हजार ७ सय १४ र महिला मतदाता ६९ लाख ८४ हजार ६ सय २५ छन् । त्यस्तै, तेस्रोलिंगी मतदाता १ सय ४३ छन् । दोस्रो चरणमा ३२ जना तेस्रोलिंगी मतदाताले मतदान गरेका छन् ।

महिला प्रतिस्पर्धी ४० प्रतिशत

दोस्रो चरणको स्थानीय निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार बढी प्रतिस्पर्धी छन् । त्यसमध्ये ४० प्रतिशत प्रतिस्पर्धीको हिस्सा महिलाको देखिएको छ । स्थानीय तहका विभिन्न पदमा २४ हजार ६ सय ३३ जना महिला प्रतिस्पर्धी छन् । सबैभन्दा बढी महिला प्रतिस्पर्धी नगरपालिकाको उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष पदमा छन् । ११९ नगरपालिकाको उपप्रमुखमा ८ सय ३५ उम्मेदवारी परेकामा ६ सय ५० महिला छन् । त्यस्तै, २१५ गाउँपालिकाको उपाध्यक्ष पदका लागि १ हजार ५२ जना प्रतिस्पर्धीमध्ये ८ सय ८१ महिला छन् । उपप्रमुखरउपाध्यक्ष पदका कुल प्रतिस्पर्धीमध्ये ८१ प्रतिशत महिला छन् ।

नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्ष पदका लागि भने महिला प्रतिस्र्धीको संख्या न्यून छ । ३ सय ३४ प्रमुखरअध्यक्ष पदका लागि २ हजार २ सय ६८ जना प्रतिस्पर्धीमध्ये १ सय ६५ जना मात्रै महिला छन् । त्यो भनेको ७ प्रतिशत मात्रै हो ।

स्थानीय तह निर्वाचन ऐनले नगरपालिकाको प्रमुखरउपप्रमुख तथा गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने राजनीतिक दलले ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था गरेपछि दलहरूले उपप्रमुखरउपाध्यक्ष पदमा महिलालाई प्राथमिकता दिएका हुन् ।

११९ नगरपालिकाको प्रमुखका लागि परेको १ हजार ८ उम्मेदवारीमध्ये महिला ९३ तथा २१५ गाउँपालिका अध्यक्षका लागि परेको १ हजार २ सय ६० उम्मेदवारीमध्ये ७२ जना महिला उम्मेदवार छन् । २ हजार ८ सय ७४ वडाध्यक्षका लागि परेको १३ हजार ३ सय ४१ उम्मेदवारमध्ये ४ सय ८० मात्रै महिला छन् । खुलातर्फको ५ हजार ७ सय ४८ वडा सदस्यका लागि परेको २३ हजार ३ सय १ जना उम्मेदवारमा ८ सय ९५ महिला छन् । महिला वडा सदस्यमा ११ हजार २ सय ८० र दलित महिला वडा सदस्य पदमा १० हजार २ सय ८२ जना प्रतिस्पर्धी छन् ।

पहिलो चरणमा ४० प्रतिशत पदमा महिला विजयी

स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट गाउँरनगरको नेतृत्वमा ४० प्रतिशत महिलाको उपस्थिति भइसकेको छ । निर्वाचित भएका १३ हजार ४ सय जनप्रतिनिधिमध्ये महिलाको संख्या ५ हजार ४ सय ४५ छ । उपप्रमुखरउपाध्यक्ष पदमा ८९ प्रतिशत महिला विजयी भएर जिम्मेवारी सम्हालिसकेका छन् । मत परिणाम आएका २८२ नगरपालिकारगाउँपालिकामध्ये २५१ स्थानको उपप्रमुखरउपाध्यक्ष पदमा महिला छन् ।

‘हल्लाखल्ला नगरीकनै मुलुकमा ठूलो सामाजिक क्रान्ति भएको छ, लोकतन्त्रको जगमै भएको महिलाको दह्रो उपस्थितिले सिंगो मुलुकको समावेशिताको अनुहार फेरिनेछ,’ आयुक्त शर्माले भनिन्, ‘महिला आफूले पाएको कामप्रति जिम्मेवार हुन्छन् । यतिबेलाको उपस्थितिले अर्को चुनावसम्म राजनीतिमा महिलाको थप सशक्त उपस्थितिको संकेत दिएको छ ।’ उनले कसैको दयामायाभन्दा पनि संस्थागत रूपमै राजनीतिमा महिलाको उपस्थिति सुनिश्चित बन्दै गएको बताए ।

साभारः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: