हिलोमा सँगसँगै ज्यालामा फरक


प्रकाशित मिति :2017-07-02 13:30:36

असार लागेसँगै देशैभरी धान रोपाइँको चटारो छ । रोपाइँ यस्तो काम हो जहाँ महिला र पुरुष खेतमा सँगसँगै काम गरेका हुन्छन् । तर, काम गरे बापत पाउने ज्याला भने फरक छ । रोपाइँमा खट्ने महिलाले पाउने ज्याला पुरुषले पाउने भन्दा आधा कम छ ।

रमेशकुमार पौडेल

चितवन । भरतपुर महानगरपालिका, १५ फुलबारीकी ४३ वर्षीया दुर्गा गुरुङलाई हिजोआज मेला जान भ्याइनभ्याई छ । असारमा उनी ज्यालादारीमा धान रोप्न जाने गर्छिन् । यसरी ज्यालादारीमा धान रोप्ने काम गरेर बर्खा कटाएको दशकौं भसक्यो दुर्गाले । ‘१५/१६ वर्ष की हुँदा नै काममा जान सुरु गरेकी हुँ’ दुर्गाले भनिन् । उनलाई ज्यालादारीको सुरुआती दिनमा १८ रुपैयाँ लिएर दिनभर काम गरेको सम्झना छ । अहिले भने उनले पाउने एक दिनको ज्याला चार सय रुपैयाँ हो ।

केन्द्रीय न्युनतम पारिश्रमिक निर्धारण समितिले श्रमिकहरुका लागि न्युनतम दैनिक ज्याला ३९५ रुपैयाँ तोकेको छ । दुर्गाले त्यो भन्दा पाँच रुपैयाँ बढी ज्याला पाउँछिन् । दुर्गाकै साथी गोमा पुडासैनी पनि ज्यालादारीमा खेत रोप्न हिँडेको वर्षौं भयो । उनी पनि त्यही चार सय रुपैयाँ ज्याला लिएर खेत रोप्ने गर्छिन् ।

असार लागेसँगै देशैभरी धान रोपाइँको चटारो बढेको छ । रोपाइँ यस्तो काम हो जहाँ महिला र पुरुष खेतमा सँगसँगै काम गरेका हुन्छन् । पानी परे दुवै रुझ्छन् । घाम चर्के दुवैलाई पोल्छ । दुवैका हात खुट्टा हिलोमै हुन्छन् । तर, काम गरे बापत पाउने ज्याला भने फरक छ । रोपाइँमा खट्ने पुरुषले पाउने भन्दा महिलाले पाउने ज्याला आधा कम छ ।

भरतपुर महानगरपालिका, १५ का किसान चन्द्रप्रसाद अधिकारी गोरुले जोतेर नै असारमा धान रोप्ने गर्छन् । असारमा उनले गोरु जोत्ने, बाउसे र रोपहार सगँसगै लगाएका हुन्छन् । तर ज्याला दिने बेलामा भने गोरु जोत्ने र बाउसेलाई रोपहारको भन्दा दोब्बर भुक्तानी दिनुपर्ने हुन्छ । अधिकारी भन्छन् ‘खेत रोप्ने रोपाहारलाई एक जनाको दिनको चार सय रुपैयाँका दरले तिर्नु पर्छ । जोत्ने र बाउसेको ज्याला भने बढी छ । उनीहरुलाई सात सयदेखि आठ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।’

रोपाइँमा तीन खाले कृषि मजदुर खट्छन् । हिलोमा बीउ रोप्ने काम महिलाहरुले गर्छन् । खेत जोत्ने काममा अचेल प्रायः ट्याक्टर प्रयोग हुन्छ । गोरुले हलो जोत्न परे यो काम पुरुषहरुले गर्छन् । त्यसपछि हिलो मिलाउने र खेतको आली लगाउने काम पनि पुरुषहरुले नै गर्छन् । जोत्नेलाई हली, रोप्नेलाई रोपाहार र आली लगाउनेलाई बाउसे भनिन्छ । यिमध्ये महिला जो धानको बीउ रोप्छन् उनीहरुको ज्याला भने पुरुष मजदुरको भन्दा कम छ ।

नेपालको संविधानको धारा १८ मा समानताको हक अन्तर्गत लैंगिकताको आधारमा पारिश्रमिक र सामाजिक सुरक्षामा कुनै भेदभाव नगर्ने उल्लेख छ । संविधानको यो व्यवस्थाले समान कामका लागि समान ज्याला पाउने अधिकार सुरक्षित गरेको छ । तर व्यवहारमा अझै लागु हुन सकेको छैन । पुरुषलेजति काम महिलाले गर्न सक्दैनन् भन्ने सोचले महिला र पुरुषले गर्ने काम फरक फरक तोक्नु र ज्याला पनि त्यही अनुसारले निर्धारण गर्नु विभेद भएको मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) चितवनका अध्यक्ष गोविन्द अर्याल बताउँछन् ।

श्रमिकहरुको हक अधिकारको सुरक्षाका लागि नेपालमा श्रम ऐन पनि छ । तर जिफन्ट अध्यक्ष अर्याल श्रम ऐनले संगठित क्षेत्रका मजदुरहरुको हक अधिकारको पक्षमा धेरै ध्यान दिएको र असंगठित क्षेत्रका मजदुरहरुको अवस्थाका बारेमा खासै नबोलेको बताउँछन् । दर्ता भएर चलेका उद्योग कारखाना र व्यवसायिक प्रतिष्ठान तथा कम्पनीहरुमा काम गर्नेहरुलाई संगठित क्षेत्रमा काम गर्ने श्रमिकहरु भनिन्छ । कृषि मजदुरहरु असंगठित क्षेत्र अन्तर्गत रहेका छन् ।

श्रम ऐनको दफा ५ मा तोकिएको अवस्थामा बाहेक नाबालिग र महिलालाई सामान्यतया बिहान छ बजेदेखि साँझ छ बजेसम्म काममा लगाउन नपाउने उल्लेख छ । खेतमा काम गर्ने महिलाहरु पनि यो समय सीमाभित्रै काम गरेको बताउँछन् । ‘तर कृषि क्षेत्र यस्तो हो जहाँ पुरुषभन्दा धेरै महिलाहरु काममा संलग्न छन् तर श्रम ऐनमा यो क्षेत्रको बारेमा उल्लेख हुन सकेको छैन’ जिफन्ट चितवन अध्यक्ष गोविन्द अर्यालले भने । श्रमिकहरुको ज्याला निर्धारणका विषयमा जिल्ला समन्वय समितिमा बैठक बस्ने गर्छ । ति बैठकहरुमा कृषि मजदुरहरुका प्रतिनिधिहरु नजाने हुँदा ज्यालाको विषयमा छलफल र निर्णय हुन नसकेको मजदुर नेताहरु बताउँछन् ।


‘महिलाहरुलाई रोपाइँको काममा मात्रै सिमित राख्नु पर्छ भन्ने छैन । उनीहरुले बाउसे पनि गर्न सक्छन् । यसका लागि उनीहरुलाई अभिप्रेरित गर्नु पर्छ । अर्को तर्फ काम गर्ने ठाउँ एउटै हो । दुःख पनि लगभग उस्तै छ तर रोपाइँको अन्य काममा खट्ने पुरुषको तुलनामा महिला श्रमिकको ज्याला थोरै भयो । यो विभेद हटाउनु पर्छ’ जिफन्ट अध्यक्ष अर्याललले भने ।

सामान्यतया एक बिघा खेत रोप्न १५ देखि २० जना रोपाहार महिलाहरु खटेका हुन्छन् । खेत जोत्ने र बाउसे गरेर छ सातजना खेतमा हुन्छन् । अर्थात खेतमा खट्ने संख्या महिलाको भन्दा पुरुषको धेरै हुँदैन । हिलो र घाम पानीमा पुरुष सरह खटेर काम गर्न सक्ने महिलालाई ज्याला कम दिएको फुलबारीकै सुन्तली पुडासैनीलाई चित्त बुझेको छैन ।
‘काम गर्नेमा पुरुषभन्दा महिला बढी छौं । त्यसैले हामी महिलाहरुले मिलेर आवाज उठाए सरकारले पनि सुन्दो हो । तर हामीले आफ्नो काम ग¥यौं बस्यौ अरु कुरा तर्फ लागेनौं’ सुन्तलीले भनिन् । जसका कारण महिलाले कम ज्याला पाएको उनको ठम्याइ छ ।

अहिलेको स्थानीय तह संवैधानिक रुपमा बलियो निकाय भएको र निर्वाचित जनप्रतिनिधिहरु पनि आएका कारण यो विषयमा गाउँपालिका नगरपालिकाले काम गर्नु पर्ने अध्यक्ष अर्यालले बताए । ‘कृषि मजदुरहरुको ज्यालाको अवस्था के छ । थोरै पाएका छन् कि, महिला र पुरुषबीचको ज्यालामा विभेद छ कि छैन जस्ता विषय हेर्ने अनुगमन गर्ने काम अव गाउँपालिका नगरपालिका र वडाहरुले गर्नु पर्छ’ अर्यालले भने ।
(पौडेल चितवनका पत्रकार हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: