वंशरक्षा कि विवेकहीनता ?


प्रकाशित मिति :2017-07-05 11:05:32

डा. अरुणा उप्रेती

असार २१, २०७४- १० वर्षअघि म अछाम जाँदा एक महिलाले सोधिन्, ‘तमरा कति सन्तान छन् ?’ मैले भनेँ, ‘दुई छोरी छन् ।’ ‘छोरी त छन्, तर सन्तान पो सोधेको त ?’ ती महिलाले भनिन् । छोरीलाई त उनले सन्तान नै नमान्दी रहिछन् । यसमा ती महिलाको दोष थिएन, उनको सामाजिक र सांस्कृतिक नियमले पारिदिएको प्रभाव थियो, जसले उनलाई सिकाएको थियो, ‘छोरा मात्र सन्तान हुन् ।’ तर यो मान्यता सुदूर पश्चिमको अछाममा मात्र होइन, काठमाडौं र नेपालका अन्य ठूला सहरमा पनि छ ।

१८ वर्षको छोरा नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएपछि ५४ वर्षीया एक महिलालाई गर्भवती हुन विवश गराइयो, उनको परिवार र समाजबाट । उनको घरपरिवारमा वकिल, व्यापारी र शिक्षक थिए । विश्वविद्यालयमा पढ्ने २२ वर्षकी छोरी पनि थिइन् । छोराको मृत्युबाट व्यथित आमाको आँसु दुई महिनासम्म रोकिएको थिएन । तेस्रो महिनामा सासू, ससुरा, जेठाजू, श्रीमानले उनलाई भने, ‘तिम्रो रजस्वला भइरहेको छ । अर्काे बच्चा पाऊ । ५ महिनामा गर्भ जाँच गराउँदा छोरी भए गर्भपतन गराउँला, छोरा भए राखौली । वंश चलाउन र सम्पत्तिको रक्षा गर्न त कोही चाहियो नि ।’ मानसिक रूपमा व्यथित र शारीरिक रूपमा पनि कमजोर उनले केही सोच्न नै सकिनन् । उनले आफ्नी छोरीलाई पनि मलाई घरपरिवारले यसरी विवश गराइरहेका छन् भनेर भन्न सकिनन् ।

छोरा गुमाएको ५ महिनामा निशा फेरि गर्भवती भइन् । तर गर्भको ५ महिनासम्म साह्रै बिरामी भइन् । ५ आंै महिनामा भ्रूणको लिंग जाँच गराउँदा छोरा नै रहेछ । घर–परिवारका सबै सदस्य खुसी भए । छोरी चाहिँ स्तब्ध भइन् । उनलाई आमा फेरि गर्भवती होलिन् भन्ने लागेकै थिएन । आमासँग रिसाइन् । विवश आमा के गरुन्, आँसु खसाल्दै छोरीको घुर्की सहिरहिन् । ७ औँ महिना लागेपछि त रक्तचाप धेरै भएर टाउको दुखेर, बेहोश होला नै जस्तै भएर छटपटिन थालिन् । उनलाई भ्रूणको लिंग जाँच गराएकै अस्पतालमा लगियो । विशेषज्ञबाट परिवारका सदस्यले सुने, ‘उनको अवस्था अत्यन्त गम्भीर छ । ज्यानसम्म जान सक्छ, शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्छ ।’ परिवारका सदस्यले शल्यक्रिया गर्न हस्ताक्षर गरे । हिन्दी फिल्ममा जस्तो डाक्टरबाट ‘आमा र बच्चामध्ये एकलाई मात्र बचाउन सक्छौं’ भन्नेचाहिँ सुन्नु परेन । सायद यस्तो भनिएको भए उनको परिवारले ‘हामीलाई वंशको रक्षा गर्न छोरा चाहिएको हुनाले आमालाई जेसुकै होस्, बच्चा बचाऊ’ भन्थे कि ?

उनको शल्यक्रिया भयो । मरेको बच्चा जन्मियो । आमा चाहिँ ४८ घन्टासम्म जीवन र मृत्युको संघारमा झुलिरहिन् । आधुनिक औषधी, डाक्टरहरूको अथक मिहेनतले उनी बाँचिन् । छोरा नै चाहिने धार्मिक र सामाजिक रीतिले त उनलाई मृत्युकै मुखमा धकेलेको थियो । ती महिलाबारे सुनेपछि मलाई लाग्यो, छोरा पाउने आशामा ५४ वर्षीया श्रीमतीलाई मृत्युको मुखमा धकेल्दा के श्रीमानको मनमा कुनै पनि अपराधबोध भएन ? सायद भएन पनि होला, किनभने श्रीमानलाई त श्रीमतीको जीवनभन्दा बढी चिन्ता आफू मरेपछि कसले पिण्ड देला र आफू कसरी वैतरणी पार गरुँला भन्ने थियो कि ?

जे होस्, सन्तान पाउन महिलाले जीवन दाउमै लगाउनुपर्‍यो । काठमाडौंका महिला र सुदूर पश्चिमका महिलाको जीवन त नेपाली समाजमा उस्तै छ । छोरी सन्तान होइन भन्ने मान्यता काठमाडौंमा ठूला परिवारमा पनि धेरै देखिएको छ ।२० वर्षका एक युवकको दुर्घटनामा मृत्यु भएपछि घरका सबै शोकमा डुबे । ५० वर्षीया आमा स्तब्ध थिइन्, रुन पनि सकेकी थिइनन् । तेस्रो दिन श्रीमानले उनलाई भने, ‘छोरा नभए त समस्या पर्छ । तिम्रो स्वास्थ्यले दिँदैन । मैले अर्काे विवाह गरेर छोरा पाउनुपर्छ कि ?’

शोकमा डुबेकी उनले श्रीमानलाई पुलुक्क हेरिन्, केही बोलिनन् । मृतककी बज्यै र फुपूले थपे, ‘हो नि, एउटा छोरा त नभई हुँदैन । विवाह नै गर्न गाह्रै भयो भने अहिलेको नयाँ प्रविधि प्रयोग गरेर अर्काे वर्षतिर फेरि गर्भवती भए भैहाल्छ । छोरा छ भने भिडियो एक्से रे गरेर राखुँला, छोरी भए गर्भपतन गराइदिए भैहाल्छ ।’ उनले कुनै प्रतिक्रिया दिइनन् । त्यो परिवारका सदस्य सबै पढेलेखेका छन् । तर सन्तान भनेको छोरामात्र भन्ने मानसिकता रहेछ । १० कक्षामा पढिरहेकी १६ वर्षीया छोरी पनि छिन् भन्ने तिनले बिर्से कि ?

२२ वर्षमा विवाह भएर २४ वर्षमा एक छोरी भएपछि दम्पतीले अर्काे बच्चा नजन्माउने विचार गरेका थिए, किनभने छोरी जन्मिदा नै श्रीमतीलाई धेरै स्वास्थ्य समस्या परेको थियो । तर उनका सासू र आमाजूले ‘एउटा छोरा त चाहिन्छ, नत्र त वंश नै नष्ट हुन्छ’ भनेर दबाब दिइरहे । उनी पुन: गर्भवती भइन् । महिनावारी रोकिएको दुई महिनामा उनको श्रीमानको मृत्यु भयो । श्रीमानको मृत्युपछि सन्तान पाल्न सकिन्न भन्ने लागेर १३ दिनपछि उनले स्त्री विशेषज्ञसँग सल्लाह गरिन् र सुरक्षित गर्भपतन गराइन् । घरका मान्छेलाई थाहा दिनुपर्ने जरुरत पनि ठानिनन् । नन्द र सासूले गर्भपतन गराएको थाहा भएपछि रडाको मच्चियो ।

यी सबै घटना भिन्नाभिन्नै ठाउँमा भए पनि सबैको कथाचाहिँ एउटै छ, जसरी भए पनि परिवारमा छोराको जन्म हुनैपर्छ । यसका लागि महिलाको स्वास्थ्य खराब होस् वा महिलाको मृत्यु नै किन नहोस्, वास्ता हुँदैन ।

किरियापुत्री बस्दा धर्मगुरुले सुनाउने गरुड पुराण, माघ महिनामा पढिने स्वस्थानीमा छोरा नभए जिन्दगी नै सखाप हुने वर्णन गरिएको छ । सायद त्यसैले गर्दा महिला डराउँछन् र जसरी भए पनि छोरा पाएर वंशको रक्षा गर्न तयार हुन्छन् । धर्मगुरुहरूले छोरा र छोरी दुबै सन्तान हुन् र छोराले गर्ने सबै धार्मिक विधिविधान छोरीले पनि गर्न सक्छिन् भनेर समुदायलाई सिकाउने बेला भएन ?

साभार : कान्तिपुर दैनिक

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: