महिलाले थामेको कर्णालीको खेतीपाती


प्रकाशित मिति :2017-07-11 10:55:44

                     करिश्मा गुरुङ/कृष्णप्रसाद पौडेल

– कान्तिपुर दैनिकबाट साभार –

बदलिँदो सामाजिक–आर्थिक फेरबदलसँगै समग्र नेपाली ग्रामीण समाजको नेतृत्व महिलाको काँधमा सरेको छ । परम्परागत रूपमा पुरुषले सम्हाल्दै आएका काममात्र हैन, अन्य सामाजिक–आर्थिक व्यवहारसमेत अहिले महिलाका जिम्मामा रहेका छन् । यो क्रम कामको खोजीमा पुरुष बाहिरिन थालेसँगै बढेको हो र यो अझै बढ्दैछ ।

अन्तर्राष्ट्रिय महिला आन्दोलन र देशमा भएको राजनीतिक परिवर्तनको सकारात्मक प्रभावले स्थानीय जनप्रतिनिधि र राजनीतिक नेतृत्वमा महिला सहभागिता बढाउन प्रशंसनीय प्रयत्न भइरहेका छन् । विश्वव्यापी गरिबी र पछौटेपन घटाउन महिलाको आर्थिक सबलीकरण एकमात्र विकल्प भएको भन्दै महिला उद्यमशीलता, रोजगारी र आम्दानीमा पहुँच बढाउन जोड दिनुपर्ने कुरा अहिले सबैतिर गरिँदैछ । महिला सशक्तीकरण हिजोआज नेपाली समाज परिवर्तनको मुख्य आधारको रूपमा स्वीकार गरिँदैछ ।

तर भौगोलिक विकटता र पछौटेपनको पर्यायवाची बनेको नेपालको सुदूर उत्तरी कर्णाली क्षेत्रका आम महिलाको कथा भने अलि बेग्लै छ । सदरमुकाम वरिपरिका महिलालाई महिला सचेतना र अधिकारबारे बेला–बेलामा दिइने सरकारी तथा गैरसरकारी विकासे तालिमले आफ्नो अवस्था र अधिकारबारे बुझ्न सघाएको भए बेग्लै कुरा, नत्र आम ग्रामीण महिलामा यी कुराको कुनै छनकसम्म छैन । विगतको तुलनामा बाहिरी मानिससँग सजिलै बोल्नसम्म थालेका महिलाको दैनिक व्यवहारमा भने खासै फेरबदल आएको देखिँदैन ।

समग्र नेपाल नै पितृसत्तात्मक सोच र व्यवहारबाट ग्रसित छ । त्यसमाथि कर्णाली समाजको नेतृत्व महिलाप्रति निकै अनुदार देखिन्छ । महिला र पुरुष बीचको भेदभाव, छुवाछूत र कामको बाँडफाँडमा देखिएका विभेद यहाँका महिलाको सांस्कृतिक, सामाजिक र आर्थिक पहुँचको हैसियत देखाउन पर्याप्त छन् । छाउपडी नामले चिनिने महिनावारीको छुवाछूत आफैमा यस भेगका महिलाको नारकीय जीवनको अवस्था देखाउन पर्याप्त छ । पोषिलो खाना र स्याहार पाउनुपर्ने सुत्केरी महिला अहिले पनि पशुवस्तुसँगै गोठमै कलिला बालकसँगै रमाउन बाध्य छन् ।

पुरुषहरू घर व्यवहार चलाउन मौसमी बसाइँ–सराइ र भारत तथा हिमालपारिको व्यापारमा संलग्न हुने परम्पराले महिला परम्परादेखि नै घरायसी कामधन्दा, केटाकेटी तथा वृद्धको स्याहार, खेतीपाती तथा गाईवस्तु हेरविचार जस्ता कामको जिम्मा लिन बाध्य छन् । यिनै घरधन्दा तथा स्याहार–सुसार र खेतीपातीका दैनिक कार्यमा यहाँका सबैजसो ग्रामीण महिलाको दिनचर्या बित्ने गरेको छ । धेरै पुरुषले यस्तो काम महिलाले मात्र गर्ने हो, हामीलाई आउँदैन, किनकि यो काम अहिलेसम्म गरेकै छैन भन्ने गर्छन् र आफ्नो जिम्मेवारीबाट भाग्ने निहुँ बनाउँछन् । ‘पुरुषहरू दिनभरि त्यसै समय बिताउँछन्, तर घरायसी र स्याहारको काममा पटक्कै सहयोग गर्दैनन् । खै काम गर्न नजानेको हो कि अरूले जिस्काउँछन् कि भनेर गर्न लाज मानेको हो भन्नै सकिन्न’ गाउँले महिला गुनासो गर्छन् ।

धानखेतीको कुरा गर्दा, जोत्ने र धान गोड्दाको झारलाई पन्छाउन काठको फल्याक ९बिगारो० लगाउने काममा मात्र पुरुषको भूमिका रहेको हुन्छ । त्यस्तै अन्य मौसमी खेतीपातीका काम पनि प्रायस् महिलाको जिम्मामा रहेको छ । पहिले खेत रोपाइँ गरेर पुरुष रोजगार तथा आम्दानीका लागि अन्यत्र जाने र अन्नपात भित्र्याउनमात्र फर्किने चलन थियो । यसो हुँदा रोपाइँपछिका सबै काम महिलाको जिम्मामा आएको हो । पुरुषले गर्ने परदेशको रोजगारी र व्यापारमा हिजोआज सबै पुरुष नगए पनि परम्परागत कार्यविभाजनको छाप भने नयाँ पुस्तामा पनि उस्तै छ । त्यसैले फुर्सदिला पुरुष गाउँभरि डुलेका देखिन्छन्, तर महिलाले गर्ने काममा कुनै सहयोग गरेको देखिँदैन । तर यो अवस्था जात, जाति र समूह विशेषमा फरक–फरक छ । कर्णालीकै आदिवासी जनजातिमा भने महिला र पुरुष बीचको भेदभाव निकै कम छ ।

वर्षातमा धान गोड्नु सास्तीको काम हो । दिनभरि पानीले भरिएका खेतभित्र हातले ठूला झारलाई उखेल्ने साथै मसिना झारलाई माटोभित्रै दबाउने काम निकै परिश्रम लाग्ने काम हो । यो काम बसेर गर्न नमिल्ने हँुदा उठेर तर निहुरी परेर गर्नुपर्ने हुन्छ । यसले शारीरिक रूपमा कमजोर महिलालाई अझ कमजोर बनाउँछ । आफ्नो शरीर र स्वास्थ्यमा परेको प्रतिकूल प्रभावको एकरत्ति पनि पर्वाह नगरी निरन्तर कष्टकर जीवन भोग्दै भए पनि यहाँका महिलाले यस क्षेत्रको जीविकाको मुख्य आधार परम्परागत खेतीपाती सम्हालेका छन् । दूधे बालकलाई पछाडि बाँधेर वा यस्ता बच्चालाई खेतको आलीमा बिसाएर घामपानी केही नभनी घरायसी तथा खेतीपातीका काम गरिरहेका भेटिन्छन् ।

केही वर्षयता यार्सा टिप्न पाटन जाने चलन निकै बढेको छ । वर्षातको पूवार्धतिर किरा संकलन गरी पैसा कमाउने यस क्षेत्रका पुरुषहरूको आम्दानीको मुख्य स्रोत हो । पुरुषहरू आआफ्ना भेगका पाटनतिर महिना दिन हराई यार्सा टिप्न जान्छन् भने महिलाहरू केटाकेटी र बुढापाकासहित घरधन्दा लगायत खेतीपातीमा लागिरहन्छन् । यो यार्सा टिप्ने र धानखेती लगाउने तथा गोड्ने काम सँगसँगैजसो पर्छ । परिवारका काम गर्नसक्ने सबै पुरुष र युवा महिलासमेत पाटन जाने हुँदा यो बेला घर सम्हाल्ने महिलाका लागि सबैभन्दा चटारो हुने समय हो ।

अहिले प्रविधिको विकासले कृषि क्षेत्रमा परम्परागत रूपमा गरिँदै आएका कामलाई सरल बनाउँदै लगेको छ । तर अन्यत्र यसको प्रभाव अलिअलि देखिए तापनि कर्णालीको सेरोफेरोमा भने खासै फरक परेको छैन । यस क्षेत्रमा भने अहिले पनि कृषि क्षेत्रका उपयुक्त प्रविधिको विकास हुन नसक्दा महिलाले परम्परागत तरिका अपनाउँदै कष्टकर दिनचर्या बिताउन बाध्य छन् । उदाहरणका लागि कर्णालीमा अझ पनि पिनालाई काठको भाँडामा ९दुनु० हातले मिचेर तेल निकाल्न महिलाहरू अभ्यस्त छन् । ओखर लगायतका फलहरूको दिउल निकाल्न होस् या चिनो–कागुनो कुट्न आदि सबै काम उचित प्रविधिको अभावमा महिलाहरू कडा परिश्रम गर्न तथा अतिरिक्त कार्यभार सहन बाध्य छन् ।

आर्थिक, सामाजिक तथा प्रविधिमा आएको फेरबदलसँगै हाम्रो जीविकोपार्जनका सन्दर्भहरू दिनदिनै बदलिरहेका छन् । आधुनिक विकास तथा प्रविधिले आकांक्षा र सुविधा दुबै बढाएको छ । यसको प्रभाव अन्यत्रजस्तै कर्णालीमा पनि परिरहेको छ । सडक नहुँदा जहाज चढेर भित्रिने सेतो चामल र अन्य खानेकुरा सडक बनेसँगै घरघरै आउन थालेको छ । पहिला बिहानै ४ बजेदेखि घरधन्दा सकेर खेतीपातीमा लाग्नुपर्ने, चिनो कागुनो कुट्दा दुस्ख बढी हुन्थ्यो भने अहिले पानीघट्टको प्रयोग आदिले केही मात्रामा राहत मिलेको महिलाहरू बताउँछन् । यसले कुट्ने, पिस्ने कामको बोझ घटेको छ । १० वर्ष पहिलाभन्दा अहिले महिलालाई कामको बोझमा केही सहज भएको उनीहरू बताउँछन् । खेती गर्दाभन्दा सस्तोमा चामल किन्न पाउँदा खेती गर्न छाड्नेहरू पनि विस्तारै बढेका छन् ।

हिजो परम्परागत रूपमा पुरुषहरूले सघाउँदै आएका काममा समेत पुरुषले सघाउने सोच नबन्दा महिलाको घर–व्यवहार र खेतीपातीमा जिम्मेवारी दिनानुदिन बढिरहेका छन् । अतिरिक्त कार्यभारको चपेटामा परेका महिलाहरू यो जुनी लिएर जन्मनुलाई नै अभिसाप भएको दुखेसोसमेत पोख्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: