‘छोरा नभएकै कारण श्रीमानकाे टोकसो’


प्रकाशित मिति :2017-07-20 14:12:23

–सन्दिप वि. क–

लमजुङ । ओममाया चेपाङले ४० वर्षको उमेरसम्म १३ वटा सन्तान जन्माइन् । ५ छोरा, ८ छोरी । तर, जन्मिएका एउटै छोरा पनि बाँचेनन् । अहिले उनका छोरी मात्रै छन् । चार दशक कटिसकेकी ओममायालाई छोरा नभएकै कारण श्रीमानकाे अपहेलना खप्नु परेको छ ।

                       ओममाया चेपाङ

लमजुङ चिती ६ बरबोटकी ओममाया भन्छिन् – ‘छोरा नपाएको निहुँमा पटक–पटक श्रीमानकाे गाली खानुपर्छ ।’ उनको विवाह १६ वर्षकै उमेरमा भएको थियो । अहिलेको श्रीमानसँग ओममायाको दोस्रो विवाह हो । उनले यसभन्दा पहिले माइती गाउँ चितवन नवलपुर नजिकै विवाह गरेकी थिईन् । त्यहाँ उनले ४ छोरी ४ छोरा जन्माइन् । छोरीहरु सकुशल बाँचेपनि छोराभने कुनै पनि रहेनन् ।’

छोरा नभएकै कारण श्रीमानकाे अपहेलना सहन नसकेपछि दोस्रो विवाह गरेको उनले बताईन् । ‘पछिल्लो श्रीमानकाेसँग विवाह गरेपछि छोरा पाउने ठूलो आश थियो तर भएन् खैँ के गर्ने ? भाग्यमा छोरा हुन लेखेको रहेनछ’ छोरा नजन्मिएको विरहमा ओममाया सुस्ताउँदै थपिन् –‘उतापट्टिका श्रीमानले छोरा नभएकोले साह्रै गाली गर्थे । दिनरात रक्सी खाएर पिट्र्थे । त्यहि भएर यहाँ आएर दोस्रो विवाह गरे । यता पनि छोरा भएन । ’

लमजुङमा दोस्रो विहे गरेकी ओममायाको यहाँपनि छोरा छैनन् । पाँच वटा सन्तानमा एउटा छोरा जन्माइन् तर त्यो पनि रहेन् । अहिले उनको चार वटा छोरी छन् । उनले भनिन् –‘छोरा पाउँने रहर कसलाई हुँदैन र ? आफूले त छोरा नै पाउने भनेको हो नी, तर छोरी भएपछि के गर्ने । भगवानले नै नदिएपछि ?’

ओममाया जस्तै लमजुङ चितिकै बरबोट बुढिकुवाकी डिलमाया विकको पनि छोरा छैनन् । उमेरले ४५ काटेकी डिलमायाले ८ वटा सन्तान जन्माइन् । तर ६ वटा छोरी मात्र जिवीत छन् । उनले भनिन् –‘१८ वर्षमा विहे गरेको हुँ । विहे गरेको १ वर्षमा छोरा जन्मियो तर खेर गयो । त्यसपछि लगातार ६ वटी छोरी पाएँ । कान्छी छोरी जन्मिएपछि पनि एउटा छोरा पाएँ तर त्यो पनि खेर गयो ।’

                                 डिलमाया वि.क

डिलमायाले नचाहेर छोरा नभएको होइन । तर, छोरा नभएको कारण हिंसा चाँही उनैले सहनुपर्छ । घरमा कल झगडा पर्दा श्रीमालने छोरा नपाएकै निहुँ खोजेर अर्को विहे गर्ने धम्की दिने गरेको उनले बताइन् । छरछिमेकमा विवाद हुँदा छोराकै कुरा उठ्ने । छिमेकीहरुले पनि हेप्ने गरेको उनको अनुभव छ ।

लमजुङ चिति ३ तिलाहरकी भवानी परियारले पनि छोरा नभएको कारण श्रीमान् र समाजको अपहेलना सहँदै आएकी छिन् । भवानीले छोरा जन्मिने आशामा ७ वटी छोरी जन्माईन् । उनले भनिन् –‘छोरा जन्मिएला भन्दा भन्दै ७ वटी छोरी भए । छोरा नभएपछि त आफ्नै श्रीमान्ले पनि हेप्दो रहेछन् ।’

सन्तान जन्मिने जैविक कारण हेर्ने हो भने छोरा वा छोरी के जन्मिन्छ भन्ने निर्धारणमा महिलाको कुनै भूमिका हुँदैन । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लता महर्जनका अनुसार छोरा व छोरी जन्मिने निर्धारण पुरुषमा हुने क्रोमोजममा निर्भर रहन्छ ।

उनले भनिन्– ‘पुरुषमा एक्स र वाइ क्रोमोजम हुन्छ, भने महिलामा एक्स, एक्स क्रोमोजोम हुन्छ । एक्स र एक्स क्रोमोजोम मिलेमा छोरी जन्मीन्छ भने एक्स र वाइ मिलेमा छोरा जन्मिन्छ ।’ छोरा र छोरी जन्मनुमा महिलाको कुनै भूमिका नभएपनि छोरा नजन्मिएमा परिवार र समाजबाट महिला नै हिंसामा पर्ने गरेका छन् ।

महिला तथा बालबालिका कार्यालय लमजुङका सहायक महिला विकास निरीक्षक खुमा खड्काका अनुसार जिल्लामा छोरा नपाएकै कारण श्रीमानले हेला गर्ने, बहुविवाह गर्ने गरेका छन् ।

कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७२-७३ मा २२ वटा महिला हिंसाका घट्नाहरु दर्ता भएका छन् । भने आर्थिक वर्ष २०७३-७४ मा १७ वटा घटना दर्ता भएका छन् । दर्ता भएका घट्ना मध्ये अधिकांश छोरा नजन्माएको आरोपमा श्रीमान्ले हेला, बहुविवाह गर्ने लगायतका रहेको निरीक्षक खड्काले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: