नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा


प्रकाशित मिति :2017-07-21 13:15:36

 

डा.मिता राणा चिकित्सा मनोविद् तथा सहायक प्रध्यापकका रुपमा चिकित्सा शास्त्र अध्ययन संस्थान त्रिभुवन शिक्षण अस्पतालमा १४ वर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँसँग मनोसामाजिक समस्याको मनोविमर्श तथा उपचार गरेको लामो अनुभव छ । हामीले विशेष गरेर महिलामा हुने मनोसामाजिक समस्याका बारेमा डा. राणासँग कुराकानी गरेका छौं । प्रस्तुत छ महिला खबरका लागि खेमा बस्नेतले गरेको कुराकानी ।

– मनोसामाजिक समस्या भनेको के हो ?

मन र समाज मिलेर मनोसामाजिक बनेको हहुन्छ । मानिसले आफूलाई समाजसँग मिलाउन जब सक्दैन त्यसपछि शारीरिक, मानसिक र सामाजिक समस्याहरु देखापर्दछन् । त्यहि अवस्थालाई मनोसामाजिक समस्या भएको मानिन्छ ।

– मनोसामाजिक समस्याको लक्षण के के हुन् ?

यो अवस्थामा मानिसकोे मन, शरीर र व्यवहारमा नकारात्मक हिसाबले परिर्वतन देखिन थाल्छ । व्यक्तिको दैनिक क्रियाकलापमा परिवर्तन हुनु, आफुलाई समाल्न गाह्रो हुन्छ । उसको सोचविचार पनि नकारात्मक हुन थाल्छ । मानिसको मनमा वा सोचमा नकारात्मक परिवर्तन आयो भन्दैमा मनोसामाजिक समस्या भएको भन्न भने मिल्दैन । तर, मानिसको मन, शरीर र व्यवहारसँगै उसको दैनिक व्यवहारमा परिवर्तन आउन थाल्छ । जस्तोः निन्द्रा लाग्दैन, खाना रुच्दैन, उदास हुन्छ, विना कारण झगडा गर्छ, दुःखी भएर बस्छ । यस्तो परिवर्तन लगातार दुई हप्तासम्म देखियो भने मानसिक समस्याको लक्षण हो भनेर बुझ्नु पर्दछ ।

– यो समस्या कस्ता व्यक्तिलाई हुन्छ ?

यो समस्याको कारण एउटै वा निश्चित हुँदैन । घरपरिवारमै वंशाणुगत छ भने पनि अचानक त्यो समस्या देखिन सक्छ । आमा वा बुबाको वंशमा यस्ता समस्या थियो भने तीन पुस्ता पछिका सन्तानलाई पनि देखिन सक्छ ।

– मनोसामाजिक समस्या कति प्रकारका हुन्छन् ?

दुई प्रकारका हुन्छन् । न्युरोटिक (कम कडा) र साइकोटिक (बढी कडा) भन्ने हुन्छ । कसैलाई म निरास छु, मलाई खान मन लागेको छैन । मलाई जाँगर छैन । मलाई रिस उठिरहेको छ वा मलाई के भएको होला म डिप्रेशनमा परेकी भन्ने चेतना हुन्छ भने त्यो न्युरोटिक भन्ने बुझ्नुपर्दछ । साइकोटिक भन्नाले जसलाई चेतना हुँदैन । उसले के सोच्दै छ, लुगा लगाएको छ वा छैन, कसरी बोलेको छ, कसरी हिँडेको छ, त्यो ज्ञान नै हँुदैन त्यसलाई बुझाउँदछ ।

– नेपालमा यो समस्याबाट महिला र पुरुष को बढी प्रभावित छन् ?

नेपालमा यति नै मानिसमा मनोसामाजिक समस्यामा छ भन्ने यकिन तथ्यांक छैन । तर, भुकम्पपछि केही संस्थाहरुले गरेको अनुसन्धानका आधारमा भन्ने हो भने नेपालको जनसंख्याको २० देखि ३० प्रतिशतमा मनोसामाजिक समस्या छ । यसमा महिला बढी पीडित छन् । किनभने नेपालमा समाजिक, साँस्कृतिक रुपमा महिलाको अवस्था राम्रो छैन ।

– नेपाली महिलाहरु के कारणले मानोसामाजिक समस्यामा परेका होलान् ?

महिलाहरु सँधै घरपरिवार, बालबच्चा जस्ता काममै अडिरहेका हुन्छन् । उनीहरुका चाहाना, रहर, पीडाहरु व्यक्त गर्न सक्दैनन् । वर्षौको त्यो पिडा एकदिन बाहिर आउँछ जसले गर्दा यो समस्या देखापर्ने हुन्छ । कतिपय साँस्कृतिक कारणले पनि महिलाहरुमा यो समस्या देखिन्छ । साँस्कृतिक रुपमा महिला शोषित र तल पारिएको छ । महिलाहरु सानैदेखि नै सहनैपर्ने रहेछ भन्ने सोचमा हुन्छन् । अर्को पुरुष र महिलामा समाजिक, साँस्कृतिक र पारिवारिक भिन्नता छ । यिनै कारण महिलाहरुमा यो समस्या बढी देखिन्छ । कतिले यो चुनौतीलाई सामाना गर्न सक्छन् भने कतिले आफूलाई व्यवस्थापन गर्न सक्दैनन् । त्यसतिबेला यो समस्या देखिन्छ ।

– बढी कुन कारण यो समस्या देखिएको छ ?

अहिले सबैभन्दा बढी सम्बन्धमा हुने दरारका कारणले मानिसहरु मनोसमस्यामा पर्ने गरेका छन् । प्रेमपे्रमिका होस् वा श्रीमान्÷श्रीमतीको सम्बन्धमा दरार आउँदा यो समस्या देखिने गरेको छ । अर्को साँस्कृतिक कारण हो । विषेशगरी महिलामा यो समस्या देखिएको छ । अर्को कारण महिलामा हुने आर्थिक अभाव पनि हो ।

–मानोसामाजिक समस्या भएपछि उपचारमा समयमै पुग्छन् ?

धेरैले यो समस्यालाई लुकाउने छिपाउने गर्छन् । घरमै सम्झाउने टालटुल गर्ने गर्दछन् । त्यसले पनि भएन भने धामी झाँक्रीकोमा लग्ने गर्दछन् । झारफुक गर्ने केही लागेर भएको हो भन्ने भाकलसम्म गर्ने हाम्रो सामाजिक अवस्था छ । तर, चिकित्सक, मनोविद् वा मनोविमर्शकर्ताकोमा लैजाँदैनन् । अस्पतालमा भर्ना भएका मनोसामाजिक समस्या भएका व्यक्तिलाई त झारफुक गर्ने गरिन्छ । यो समस्या झारफुकले निको हुँदैन । त्यसैले रोग नलुकाई मनोविद् वा चिकित्सक कहाँ जानुपर्दछ ।

– भुकम्पले पछि मनोसामाजिक समस्या बढेको भन्नुभयो, यस्तो किन हुन्छ ?

कुनै घटना दुर्घटनालाई झेल्न नसकेर पनि यो समस्या हुन सक्छ । कुनै घटना भएको छ भने त्यसबेला सो व्यक्ति आफ्नो मनलाई बलियो पार्न सकेनन भने पनि उसलाई मानसिक समस्या देखिन सक्छ । भुकम्पका बेलामा एक व्यक्ति परिवार मात्र समस्या परेको थिएन । पुरै समाज देशमा नै प्रभाव परेको थियो ।
धेरैले आफ्नो सन्तान आफन्त, जाहे जेथा गुमाएका थिए । त्यो अवस्था सबैले भोगेका थिए । आफूलाई जसले समाहल्न सकेनन् उनीहरुको मानसिक अवस्थामा असर गरेको छ । कसैलाई घटना भएको दुई वा एक वर्षपछिको कुराहरु याद आउने डराउने, पसिना आउने भइरहे भने त्यसलाई हामी पोष्ट ट्रमाटिक डिसअडर (आघातजन्य मानसिक समस्या) भन्छांै । एक अनुसन्धानले भुकम्पले ४ देखि ५ प्रतिशत व्यक्तिलाई पोष्ट ट्रमाटीक डिसअडर हुन सक्ने देखाएको छ ।

– मनोसमाजिक समस्या भएका व्यक्तिलाई उपचारको साटोे नकारात्मक व्यवहार गर्ने गरेको पाइन्छ । समाजको यो मानसिकतामा कसरी परिवर्तन ल्याउन सकिन्छ ?

घरबाटै स्कुलबाटै यस विषयमा सचेत गराउनु जरुरी छ । मानिसको मन भनेको के हो ? व्यवहार के हो ? कसरी यसलाई सन्तुलनमा राख्ने ? भन्ने बारेमा चेतना मुलक कार्यक्रम गर्न जरुरी छ । मानसिक रोगका बारेमा मात्र भन्ने होइन, सामाजिक, साँस्कृतिक कुराहरुमा पनि परिर्वतन भएमा यस्ता समस्या कम हुन सक्छ । मनोविमर्शकर्ताकोमा जाँदैमा उसलाई पागल, साइको जस्ता शब्दले भन्नु हँुदैन । त्यहाँ पागल भएका मान्छे मात्र जान्छन् भन्ने बुझ्न जरुरी छ ।

– मनोसामाजिक समस्या हुन नदिन के गर्ने ?

आफ्नो कुराहरु नजिकको साथीलाई बताउने । एकान्तमा नबस्ने अरुसँग घुलमिल हुने, समाजिक कार्यमा संलग्न हुने आफु खुसी हुने कामहरु गर्नुपर्छ । हाम्रो जीवन वा शरीर चलाउने हाम्रो मानसिकताले नै हो । त्यसैले मानसिक रुपमै स्वस्थ भएन भने केही गर्न सकिदैन् । सामाजिक, पारिवारिक सहयोग, उपयुक्त सल्लाह, माया पाएमा यो समस्या समाधान हुन्छ । कुनै अवस्थामा भने औषधि प्रयोगबाट पनि निको हुन्छ । मनोसामाजिक समस्याका बारेमा विद्यालयबाट नै पढाई सुरु गरेमा धेरै हदसम्म यस्ता समस्या सामाधान हुन मद्दत मिल्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: