– सुरक्षा बराल-
आज साउनको दोस्रो सोमबार । हातमा हरियो चुरा । हातभरी मेहन्दी अनि हरियो पहिरनमा सजिएर महिलाहरु शिवजीको मन्दिर परिसरमा पुगेका छन् । अझ धेरैजसो महिला त पानी पनि नपिएर श्रीमान्को लामो उमेर र परिवारको सुख भन्दै व्रत बसेका छन् ।
अघिल्लो सोमबार वानेश्वरकी सविता अधिकारी पनि ब्रत बसिन् । उनी यो साउन महिनाभर पतिको लामो आयुको कामना गर्दै ब्रत बस्छिन् । १६ वर्षदेखि व्रत बस्दै आएकी उनको श्रीमान्ले पनि श्रीमतीको लामो आयुको कामना गर्दै व्रत बस्नुपर्छ वा पर्दैन यो उनलाई सरोकार छैन । मात्रै छ त एक पतिव्रता महिलाले गर्नुपर्ने धर्म ।
कोटेश्वर बस्ने सुशीला पौडेल पनि साउन महिनामा माछा, मासु, लसुन, प्याज केही खाँदिनन् । किनकी शुद्ध खाएर श्रीमान्को दीर्घायुको कामना गर्नु उनको एक मात्रै उद्देश्य छ । कुराकानीको क्रममा साउन महिना भर आफू शिवको पूजाआरधानामै समय बिताउने बताईन् ।
यि महिलाको कुरा सुनेपनि म केहीबेर घोरिएँ । अनि सोचें, ‘आखिर कुन नेपाली महिला होला, जसले आफ्नो श्रीमान्को लामो आयु, परिवारको सुख शान्तीको कामना गर्दैनन् ?’ अनि शिवलिंग वरपर नै प्राथना गरेर आफूलाई भोको राख्दैमा महिलाको मनोकांक्षा पुरा हुने हो त ? मलाई लाग्छ होइन । हरेक महिलाले बाह्रै महिना परिवारको सुख, समृद्धिको कामना गर्छन् । भने यो ढोंग आखिर किन ?
हुन त अहिलेको बजार उपभोक्तावादले गाँजेको छ । हामीलाई बजारले चलाएको छ । हामी बजार अनुसार चल्न हरबखत प्रयासरत रहन्छौं भने यो हरियो फेसनको समय साउन महिनामा महिलालाई त्यही अनुसार चल्ने चाहना हुनुमा कुनचाँही ठूलो कुरा भयो र ? तर, यो उपभोक्तावाद महिलाको प्रगतीको बाधक पनि हो भन्ने किन बुझ्दैनन् महिला स्वयं ।
कालीमाटी बस्दै आएकी पार्वती थापाले साउनको उपवासको भरपुर अनुभव गरिन् । आखिरमा उनलाई पनि यो फेसन मात्रै झैं लाग्यो । अनुभव सुनाईन् – ‘१० वर्षदेखि साउनमा व्रत बसें तर केही भएन । म व्रत बसेर कसरी श्रीमानको स्वास्थ्य राम्रो हुन्छ ? बरु उल्टै आफ्नो शरीर शिथिल हुने, आफैलाई पीडा दिएँ जस्तो भएर म त अब यस्तो कुरामा विश्वास गर्दिन ।’
परिवार भनेको एक अर्कामा माया, प्रेम अनि सद्भावबाट सुगठित हुन्छ । परिवारको एक सदस्यले आफूलाई कमजोर पारेर नखाएर ब्रत बस्दैमा कसरी बलियो बन्छ ? यो तर्क मीना खत्रीको हो ।
हिन्दु धर्मग्रन्थले भन्छ – सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । सूर्यले सबै राशीलाई प्रभावित गरेपछि सूर्यको कर्कट राशी र मकर राशी प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
हुन त साउन महिला महिनाको यो समयमा प्राकृति हरियाली हुन्छ । हरियो मौसमले खानपानमा होस् वा पहिरनमा, साउन महिनाले बेग्लै स्वाद र रंग पस्कन्छ । तर, साउनको महिनामा उपवास गर्नु, सात्विक भोजन गर्नु, मठमन्दिर धाउनु, गेरु बस्त्र पहिरिएर कसैलाई आत्मसन्तुष्टि हुन्छ । वा उ मानसिक रुपले सन्तुष्ट हुन्छ भने त्यो फरक कुरा हो । तर, महिलाले नै यि सबै गर्नुपर्छ भन्ने मान्यता राख्ने समाज रुढी र ढोंगी समेत हो भन्नेमा धेरै महिला नेतृहरु सहमत पनि छन् ।
साउनको ब्रत बस्ने संस्कार विशुद्ध रुढिवाद, अन्धबिश्वास र महिलाहरुको दास मानसिकताको रुप भएको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालको बुझाइ छ । उनी भन्छिन्, ‘जसले यसलाई मान्दछन् त्यो उनीहरुको आफ्नो निजी आस्था, विचार र बिश्वास होला तर यो जुन प्रथा चलिआएको छ यसलाई म राम्रो भन्नै सक्दिन ।’
अघिल्लो वर्ष अधिकारकर्मी हिरा दाहलले एउटा सर्वे गरेकी थिईन् । उनको सर्वेक्षण अनुसार अधिकांश महिलाले श्रीमान्को दीर्घायुको कामना गर्दै ब्रत बसेको बताएका थिए । यद्यपी, उनीहरुको भने स्वास्थ्य खराब भएको थियो । ‘कति महिला त ब्रत बसेकै दिन बेहोस भएर विरामी भएकालाई मैले नै अस्पताल पु¥याएको छु, ब्रत बसेकै कारण कतिपय महिलाको ज्यान समेत गएको छ । अनि कसरी यसलाई धर्म मान्नु?’ सर्वेक्षणमा आधारित भएर उनले अनुभव सुनाईन् ।
साँच्चिकै शिवजीको व्रत भन्दै हामी दिनभर खर्चिएर भगवानको मन्दिरमा खडा हुँदैमा महिलाको मनोकांक्षा पूरा होला त ? कदापी हुँदैन । बरु, त्यहि समयलाई उत्पादनमूलक काममा खर्च गरेमा महिलाको कार्यदक्षता बढ्न सक्छ । केही सीप सिके उ आर्थिक रुपमा आत्मनिर्भर हुन सक्छ । परिवारमा महिला आत्मनिर्भर हुन सक्यो भने परिवारका पुरुष सदस्य सरह उनको पनि सम्मानको स्थिती आउँछ । त्यसैले महिलाले बजारलाई उपभोग गरेर समय वर्बाद नगरौं । साउनको हरियो मौसमलाई आफ्नो जीवनमा हरियाली बनाउनेतर्फ सोचौं ।
Comment Here!