‘महिलालाई जीवनसाथी छान्ने अधिकार छैन’


प्रकाशित मिति :2017-07-24 14:49:17

– खेमा बस्नेत- 

काठमाडौं । असार १९ गते एक १६ बर्षीया युवतीले प्रेम सम्बन्ध राखेको भन्दै आफ्नै परिवारबाट निर्घात कुटपिट सहनुपरेको घटना सामाजिक संजालमा भाइरल भयो । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, हिडुली गाउँकी १६ वर्षीया मिना यादवलाई स्थानीय दिनेश लोधसंग प्रेम सम्बन्ध राखेको कारण उनीमाथि कुटपिट भएको थियो । मिनाको अर्का केटासगँ विवाह (तराईको परम्पराअनुसार मग्नी) भैसकेकाले परपुरुषसगँ प्रेम गर्न नपाइने सामाजिक मान्यता विरुद्ध लागेको परिवारको आरोप छ ।

उनीहरुको संस्कार अनुसार वैवाहिक कार्य पूर्ण हुन चार चरण पार गर्नुपर्दछ । सुरुमा विवाहको लागि ‘तिलक’ गर्नुपर्दछ । जसमा केटी पक्षले केटा पक्षलाई छोरी दिन र लिनको लागि आवश्यक दाइजो लेनदेनको सहमति गर्दछन् ।दोस्रोमा विवाहको चरण हुन्छ । विवाह भएपनि दुलही ७ वर्षसम्म दुलाहको घर नगई माइतीमै बस्ने चलन छ । यो चलन समुदाय अनुसार फरक फरक छ । तेस्रो चरणमा गौना र चौथोमा दुराआगमन हुने गर्दछ ।

तेस्रोे चरणमा मात्रै दुलही दुलाहको घर जान्छन् । अर्थात दुलही दुलाहको घर जानु नै गौना हो । मिनाको तिलक र विवाह भैसकेको छ तर गौना र दुराआगमन दुवै हुन बाँकी छ । यसको अर्थ उनी दुलाहको घर एक पटक पनि गएकी छैनन् । उनी चौध वर्षको छँदा परिवारले तिलक र विवाह गरिदिएको मिनाले बताइन् । संस्कार अनुसार परिवारले नै विवाह छिन्ने भएकाले त्यसमा मिनाको राय बुझिएन । त्यसमाथि त्यो उमेरका बालिकाहरुमा निर्णय गर्न सक्ने क्षमता नै विकास भएको हुदैन ।

प्रेम सम्बन्धको आरोप लागेको २१ वर्षिय दिनेशको अर्काै केटीसगँ विवाह भैसकेको छ । तर दुराआगमन गर्न बाँकी छ । घटना सार्वजनिक भएपछि मिनालाई थप समस्या भएको छ । उनलाई विवाह गरेको केटोले बदनाम भएको भन्दै श्रीमती मान्न अस्वीकार गरेको मिना बताउँछिन् । न त दिनेशसंग नै विवाह । ‘मसंग विवाह गरेको केटोलेतेरो बदनाम भइसक्यो अब म विवाह गर्दैन भनेको छ । दिनेशसंग विवाह गर्ने मेरो मन छैन । अब आमाले जे भन्नुहुन्छ त्यही गर्छु । अर्को विकल्प छैन ।’ उनले भनिन् ।

विवाहको लागि परिवारले बाध्य पारेको महसुस मिनाले गरेकी छन् । उनले आफ्नो जीवनसाथी छान्ने अधिकार आफूलाई नभएको बताइन् । अब एउटै मात्र चिन्ता छ, परिवारबीच कसरी मिलन गर्ने । घटना पछि बुबा प्रहरी हिरासतमा छन् । घरमा आमा एक्लै छिन् । घटनापछि मिनाका बारेमा थुप्रै टिकाटिप्पणी भैरहेको छ ।

उनीहरुको संस्कारमा आफैले केटा रोज्नु, प्रेम गर्नु वा घरपरिवारको निर्णय विपरित केटा रोज्नु अपराध गरे सहर हुन्छ । छोरीको स्वतन्त्रतालाई छाडा भएको संज्ञा दिइन्छ ।

तराईमा हुने यस्ता घटनामध्ये मिनाको घटना प्रतिनिधी मात्रै भएको पत्रकार तथा मधेस मामिला विश्लेषक डा.राजेश अहिराजले बताए । संस्कारको नाममा व्यक्तिले प्रेम गरेकै भरमा दण्डित हुन्छ वा समाजले दण्ड दिन्छ भने त्यो कानुन विपरित भएको र त्यस्तो समाजलाई पनि दण्ड दिने कानुन बनाइनुपर्ने उनको भनाई छ ।

महिलामा चेतना, शिक्षा र रोजगार आदि आत्मनिर्भर मुलक कुराको अभावले यस्ता घटना हुने भएकाले राज्यले महिलालाई शिक्षा र रोजगारी ग्यारेन्टी गर्नुपर्ने उनले बताए ।
सांसद तथा महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु झाले यो घटनाले तराईमा महिलाहरु कतिसम्म अधिकारबाट वञ्चित रहेछन् भन्ने देखाएको बताइन् ।

‘महिलाहरुलाई बोल्ने, हिड्ने, जिवनसाथी छान्ने अधिकार छ । तर, त्यस्ता अधिकारबाट मधेशका महिला बन्चित छन् । समाजमा जरो गाडेर बसेका यस्ता कुसंस्कारलाई हटाउन चेतनाको आश्यकता छ’ सांसद झाले भन्नुभयो ।

मिना र दिनेशले मिनाका बुबा ईन्द्र यादव, ठुलो बुवा लालमन यादव र उनकी श्रीमती, दाइ दिनेश यादव र छिमेकी पशुपती कोइरी गरि ६ जना विरुद्ध जाहेरी दिएका छन् । तर अभियुक्तहरुलाई पक्राउ गरिएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले प्रेम सम्बन्ध थाहा पाएपछि परिवारले कुटपिट गरेको खुलेको बताए । ‘परिवारले सानैमा दुवैको अलग–अगल केटाकेटीसंग बाल विवाह गरिदिएका रहेछन् । यो विवाहलाई कानुनले स्वीकार नगर्ने भएकाले घटनामा संलग्न सवैलाई कारवाही गछौं ।’ प्रनाउ पाण्डेयले भने ।

प्रनाउ पाण्डेले छ जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्धा दर्ता भएको बताए । तर अभियुक्त मध्ये मिनाका बुबा इन्द्रलाई मात्र पक्राउ गरिएको र अन्य भारत फरार भएको प्रहरी आशंका छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: