८५ वर्षीया वृद्धाकाे नाबालक नाति सहारा


प्रकाशित मिति :2017-07-25 12:01:38

लिनुपर्ने वेला सहारा दिँदै आइती –

दुवै हातमा चाँदीका बाला (चुरा), गलामा सेतो माला, सेताम्मे फुलेको केस । एउटा हात गालामा राखेर निन्याउरो अनुहार लगाउँदै ८५ वर्षीया वृद्धा नाबालक नातिसँगै घरको पिँढीमा टुक्रुक्क बसिरहेकी छिन् । बर्खाको पानीले घरवरपर हरियाली छ । तर, पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ की आइती कामीको मन भने उजाड छ । विगतमा भोगेका पीडाले अब सायदै उनको मन हरियाली होला । उनलाई विगत सम्झन पनि मन छैन । तर, के गर्नु मान्छेहरू भेटियो कि विगत कोट्याइहाल्छिन् । उनले आँखाभरि आसु पार्दै भनिन्, ‘यो उमेर भयो बाबु, मान्छे कस्तो सुखसयलमा बसेका छन्, बुढेसकालमा आराम गर्छन्, तर आफ्नो त फुटेको कर्म कहिल्यै सुख पाइनँ ।’ उनले मर्ने वेला भइसक्दा पनि नातिको सहारा भएर बस्नुपरेकोमा चिन्ता जनाइन् । ‘यसैको चिन्ता लाग्छ । अरूका बा–आमा घरनजिकैको विद्यालयमा छोराछोरीलाई बोकेर स्कुल पु¥याउँछन् । मेरो नातिलाई कसले लगिदेओस् ।’

बुहारी झाडाले बितिन्, छोराको मानसिक सन्तुलन गुम्यो
२१ साउन ०७३ मा सिनो खाँदा आइतीकी कान्छी बुहारी मैसराको झाडापखालाले मृत्यु भयो । वर्षौँदेखि भारतमै रहेको कान्छो छोरो सिरे कामी पनि त्यही दिन घर आइपुगेका थिए । ‘आमा भेट्न घर आएको छोरोले श्रीमतीको शव देख्नुप¥यो,’ स्थानीय कर्ण विकले भने, ‘श्रीमतीको शव देख्नासाथ सिरेले पनि मानसिक सन्तुलन गुमायो । आजकाल कहाँ छ, केही थाहा छैन ।’

आइतीले कान्छो छोराको मुख नदेखेको एक वर्ष भयो । उनले भनिन्, ‘ज्युँदो भए त घर आउँथ्यो होला नि ।’ आमाबुबा दुवै नभएपछि बालक नातिको भविष्यप्रति आइती चिन्तित छिन् । तत्कालै भन्दा पनि आफ्नो हातखुट्टा बसेपछि नातिको के होला भन्ने चिन्तामा छिन् आइती । घाँस काट्न गएका वेला दश वर्षअघि लडेर आइतीको खुट्टा भाँचिएको थियो । भाँचिएको ठाउँमा अझै पनि दुख्ने गरेको उनले बताइन् । ‘अपांगजस्तै छु । लौरोको सहाराले बाहिर–भित्र गर्छु । घर चुहिन्छ, कतिखेर भत्कने हो भनेर रातभर निद्र लाग्दैन,’ उनले भनिन् ।

श्रीमान् नभएका उनका तीन छोरा एक छोरी भए पनि जेठो छोराको अवस्था दयनीय रहेको उनले बताइन् । ‘माइला छोराबुहारी एड्स लागेर मरे । एउटी छोरी थिए १४ वर्षमै बिहे गरेर गई,’ उनले भनिन्, ‘कान्छा छोराका दुई नाति थिए । जेठो स्कुल पढ्दै थियो १४ वर्षको उमेरमै भारत पस्यो । यही तीन वर्षको नाति मैले पालिराखेको छु ।’ सँगै भएको नाति भीमलाई कसरी पढाउने भन्ने चिन्ताले दिनरात चिन्ता लाग्ने गरेको उनले सुनाइन् ।

साभार : नया‌ँपत्रिका दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: