–सन्दिप विक–
काठमाडौं । नुवाकोट घर भई हाल काठमाडौं पयङटर बस्दै आएकी ३० वर्षीय शोभा राईले श्रीमानसँग नागरिकता बनाइदिनु भन्दा उल्टै श्रीमानबाटै जलिन् ।
गत जेठ ३० गते रातिको समयमा श्रीमानले मट्टितेल खनाएर आगो लगाइदिएपछि उनी १२ वर्षीय छोरा र छिमेकीको सहयोगमा बाँच्न सफल भइन् । जलिएको शरीरको खत विस्तारै कम हुँदैगएपनि न्याय भने पाउन सकेकी छैनन् । विवाह गरेको झण्डै १७ वर्ष वितिसक्दा पनि उनीसँग नागरिकता छैन । उनका ३ सन्तान छन् ।
आगो लगाएर फरार श्रीमान राजु कसाईका विरुद्ध शोभाले स्वायम्भु प्रहरी चौकीमा कारबाहीका लागि निवेदन दिएकी छन् । तर महिनादिन वित्तिसक्दा पनि दोषिलाई कारबाही हुनु त कहाँ छ कहाँ प्रहरीले राजुलाई पक्रिन समेत सकेको छैन । ‘न्यायको लागि प्रहरीमा निवेदन त दिएको छु तर प्रहरीले पक्रेको छैन ।’ उनले भनिन् ।
शोभाको उपचारका लागि एक लाख रुपैयाँ भन्दा बढि खर्च भइसकेको छ । आफन्त र देश विदेशमा रहेका नेपालीहरुले पठाएको सहयोगले उनको उपचार भैरहेको छ ।
शोभा जस्तै दाङ गुलारीय उपमहानगरपालिका १७ की ३३ वर्षीय रीता चौधरीलाई २०७३ फागुनमा पसल बन्द गर्न लाग्दा चुरोट किन्ने बहानामा आएका ३ जना छिमेकीले तेजाब आक्रमण गरे । तेजाबबाट उनको कान नै छैन । चार पटक अप्रेसन गरिन् । तर अहिलेसम्म सन्चो भएको छैन ।
घट्नापछि उनका भाई राजु चौधरीले जिल्ला अदालत दाङमा स्थानीय विनु चौधरी, सुनिल र्चौधरी बद्रिप्रसाद मिश्र विरुद्ध किटानी जाहेरी दिए । तर अदालतले प्रमाण नपुगेको भन्दै धरौटिमा छोड्यो । अहिले त्यो मुद्धा पुनरावेदन अदालत तुल्सीपुरमा पुगेको छ ।
उनले भनिन्–‘मलाई तेजाव छर्किने खुलेआम हिँडिराखेका छन् । अझैपनि उनीहरुले थुक्ने, धम्कि दिने गर्छन् । जिल्ला अदालतले मेरो मुद्धालाई कुटपिटमा झार्यो ।’ पुनरावेदनले समेत केही कारबाही अगाडि बढाएको छैन ।’
रिताले उपचारमा पनि ३ लाख भन्दा बढि खर्च गरिसकेकी छन् । अझै अपे्रसन गर्नुपर्छ भनेको छ । पैसा छैन ।’ रिताले दु:खेसो सुनाइन् ।
शोभा र रीता प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजमा दाईजो कारण होस् वा घरायसी विवादका कारण महिलाहरु ज्यूँदै जल्नु परिरहेको छ । यस्ता घटनाहरु बाहिरा आएपनि न्याय नपाउने भएपछि धेरै पारिवारिक दवावका कारण महिलाहरुले पिडामाथि पिडा सहनु परिरहेको छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार सन् २०१० देखि २०१६ सम्म देशभर कुनै न कुनै कारणले २१८ महिलामाथि आक्रमण भएको छ । सबै पीडकहरुलाई कानुनी कठघरमा ल्याउन सकेका छैनन् ।
नेपाल प्रहरीका नवनियुक्त प्रवक्ता पुस्कर कार्कीले पीडकलाई कानुनी कारबाहीमा ल्याउन पहल गर्ने बताउनुभयो । महिलामाथि हुने हिंसा कम गर्न सबै निकायको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।
अग्नी हिंसा पीडित नेपालको तथ्याङ्क अनुसार सन् २०१० देखि २०१७ जुलाई सम्म १ सय २५ महिलाहरु आफन्तबाटै जलिएका छन् । उक्त संस्थाका अध्यक्ष सुलक्षणा राणाका अनुसार नेपालमा दाइजोकै कारण महिलाहरु आफन्तबाटै जलिन बाध्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महिलाहरु जलिनुको प्रमुख कारण नै घरेलु हिंसा हो, घरेलु हिंसाकै कारण उनीहरुलाई मानसिक तनाव दिन थाल्छन्, अन्तिममा जलाइन्छन् ।’
नेपालको मुलुकी ऐन २०२० को कुटपिटको महलको दफा १४ को क. मा तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किई वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराएमा वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पारेमा कसूरको प्रकृति हेरी अनुहारमा कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैँयादेखि तीन लाख रुपैँयासम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जीउमा पीडा गराएमा तीन वर्षदेखि आठ वर्षसम्म कैद र पचास हजार रुपैँयादेखि एक लाख पचास हजार रुपैँयासम्म जरिवाना गर्नुपर्छ भनिएको छ ।
यसरी जरिवाना वापत प्राप्त पुरै रकम पीडितलाई खर्च वापत दिइनेछ । तर पिडकहरुलाई कानुनी दायरामा ल्याउन नसक्दा पिडितहरुले क्षतिपूर्ती समेत पाउन सकेका छैनन् ।
Comment Here!