-खेमा बस्नेत-
काठमाडौं । दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा पनि महिलाले प्रमुख पदमा एक प्रतिशतमै चित्ता बुझाउनुपरेको छ । निर्वाचन आयोगको अन्तिम तथ्यांक अनुसार महा÷उपमहा÷नगर प्रमुखमा १ जना(०.८४ प्रतिशत), गाउँपालिका प्रमुखमा ३ जना (१.३९ प्रतिशत) र वडा अध्यक्षमा २५ जना(०.८७ प्रतिशत) महिला निर्वाचित भएका छन् । पहिलो चरणको नतिजा पनि उस्तै छ ।
असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहबाट १५ हजार नौ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् । जसमा छ हजार १७७ जना (४१.१६ प्रतिशत) महिला र आठ हजार ८३२ जना (५८.८४ प्रतिशत) पुरुष निवार्चित भएका छन् ।
आयोगका अनुसार दोस्रो चरणमा एक नगरप्रमुख, तिन गाउँपालिका अध्यक्ष र २५ वडा अध्यक्ष गरी २९ जना महिला प्रमुख पदमा निर्वाचित भएका छन् । उपप्रमुखमा भने ३१५ जना महिला निर्वाचित भएका छन् । उपप्रमुख पुरुष जम्मा १९ जना मात्र आएका छन् ।
स्थानीय तह निर्वाचन ऐन २०७३ का अनुसार दलले उम्मेदवार बनाउँदा प्रमुख वा उपप्रमुख पदमध्ये एकमा महिलालाई अनिवार्य उम्मेदवार बनाउने व्यवस्था छ । तर दलहरुले ‘उप’ पद महिलाकै लागि छुट्याएझै गरे ।
त्यसैगरी वडा अध्यक्षमा २५ जना महिला र २८४८ जना पुरुष विजयी भएका छन् । सदस्यमा भने महिला करिब ४१ प्रतिशत आएका छन् । आरक्षिततर्फ वडा महिला सदस्यमा २८७३ र दलित महिला सदस्यमा २८४९ जना निर्वाचित भएका छन् । त्यस्तै खुल्ला सदस्यमा १११ जना महिला निर्वाचित भएका छन् ।
दलित महिला सदस्यको २४ पदमा भने उम्मेदवारी नपरेकाले पद खाली रहेको तथ्यांकले देखाउँछ । वडामा ५६३५ जना पुरुष निर्वाचित भएका छन् ।
Comment Here!