आमाको हत्या, बाबु जेलमा


प्रकाशित मिति :2017-07-27 11:00:09

बेलनपुर (बाँके): सानो बोत्तलमा भैंसीको दूध चुसाइरहेकी हजुरआमा जुवेदन बेडुवाका आँखा तीन महिने नातिनीको चिच्याहट सुनेर आफैं रसाइरहेका थिए। उनले केही बेरमा नातिनीलाई झोलुंगोमा हल्लाउँदै सुताइन्। वरिपरि ससाना केटाकेटी उफ्रिइरहेका थिए, कोही आमा भन्दै रोइरहेका थिए।

असार २६ गते राति कोहलपुर नगरपालिका ४ बेलनपुरका मोहम्मद अस्ताव बेडुवाले आफ्नी जेठी श्रीमती गुल्सन बेडुवाको हत्या गरेपछि अहिले तीन महिने छोरीसहित उनका सातजना केटाकेटीको बिचल्ली भएको छ। त्यो दिन श्रीमतीको हत्या गरी बेडुवाले श्रीमतीको टाउकोसहित प्रहरीचौकीमा आत्मसमर्पण गरेका थिए।

गुल्सनले जन्माएका ६ जना बच्चा अहिले मामाघरका हजुरबुबा हजुरआमाको संरक्षणमा छन्। आमाको हत्या भएपछि तीन महिनाकी नातिनीलाई हजुरआमा जुवेदनले भैंसीको दूध खुवाइरहेकी छन्। कान्छी श्रीमती अहिले माइतीमा छिन्। एउटी छोरीकी आमा कान्छी श्रीमती अहिले गर्भवती छिन्।

आमाको हत्यापछि तीनजना बच्चाबच्चीको पढाइसमेत छुटिसकेको छ। बाँकी तीनजना भने स्कुल जाने उमेरका भइसकेका छैनन्। सबैभन्दा जेठो छोरा १२ वर्षका छन्। ६ जना छोराछोरीमध्ये सबैजना डेढ–दुई वर्षको फरकमा जन्मिएका हुन्।

सामान्य खेती किसानी गरेर परिवारको गुजारा गरिरहेका वृद्ध सौकतअली बेडुवालाई अब चिन्ता थपिएका छ, ‘ती ६ जना नातिनातिनीलाई कसरी हुर्काउने ?’ बेडुवा भन्छन्, ‘खेति किसानी गर्छु, हस्पिटलमा गार्डको काम पनि गर्दै परिवार पालिरहेको छु। अब यी नातिनातिनीलाई कसरी हुर्काउनु ?’

आमाको हत्या गरेर बाबु आफैं प्रहरीको शरणमा पुगेका थिए। त्यसपछि सबै छोराछोरीलाई अहिले माइती पक्षले नै हेरिरहेको छ। घटनापछि सौकतको परिवार राम्रोसँग निदाउन पाएको छैन। ‘राति सबै आमा खोज्दै रुन्छन्, यो तीन महिनाकी छोरीलाई भैंसीको दूध जति खुवाए पनि मान्दिन’, हजुरआमा जुवेदनले भनिन्, ‘मा भनेको मा नै हुन्छ, उपरवालाले यस्तै दिए त अब के गर्नु ?’

अहिले ती बालबच्चाका लागि लगाउने कपडासमेत छैन। कोही नांगै छन्। कसैले आधा शरीर मात्रै ढाकेका छन्। कोही रित्तै खुट्टा दौडिरहेका छन्। दिनभरि यी छोराछोरीको ‘गोठालो’ लाग्नु हजुरआमा जुवेदनको काम नै भएको छ। अहिले त यी केटाकेटीलाई जसोतसो हुर्काइएला तर उनीहरूको भविष्य के हुन्छ ? परिवारलाई यो प्रश्नले सताएको छ।

‘बाउ ज्यानमारा भैगो, छोराछोरी यस्ता छन्, अझ कान्छीतिरका पनि छन्, यिनीहरूलाई कसरी हुर्काउने ? भविष्य सम्झेर डर लागिरहन्छ’, हजुरबुबा सौकत भन्छन्, ‘यति धेरै बच्चाबच्चीलाई पढाउने लेखाउने हैसियत पनि छैन। मजदूरी गरेर परिवार पालेको छु।’

हत्या गरिएकी गुल्सन सौकतकी जेठी छोरी हुन्। १३ वर्ष पहिले गुल्सन र मोहम्मद अस्ताबबीच मागी विवाह भएको थियो। दुई वर्षअघि मोहम्मदले कान्छी श्रीमती भित्र्याए। त्यसपछि जेठी श्रीमतीसँग झगडा सुरु भएको हो।

सहनै नसक्ने गरी घरमा झगडा बढ्न थालेपछि मोहम्मदले त्यो दिन श्रीमतीलाई झगडा नगर्ने कसम खुवाउन भन्दै भारतको बहराइच लैजाँदै थिए। तर, रूपडिहाबाट गाडी नपाइएपछि फर्किंदै गरेका श्रीमान् श्रीमतीबीच झगडा भयो।

त्यही रिसमा घर नपुग्दै मोहम्मदले श्रीमती गुल्सनको हत्या गरी टाउको बोकेर प्रहरीचौकीमा आफैं पुगेका थिए। अहिले प्रहरीले उनलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ।

 साभार : अन्नपूर्ण  पोष्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: