‘अपराधीलाई कानुनी कठघरामा ल्याएरै छाड्छौ’


प्रकाशित मिति :2017-07-28 17:03:18

पछिल्लो समय महिलामाथि सामूहिक बलत्कार, हत्या, कुटपिट जस्ता हिंसाका घटनाहरु दिनँहू जस्तो बाहिर आइरहेका छन् । घरभित्रै र घर बाहिरा भैरहेको यस्ता घटनामा पीडित महिलाहरुले समयमै न्याय नपाउँदा थप पिडा सहन बाध्य छन् । उनीहरु आर्थिक, सामाजिक र मानसिक रुपमा झन् पीडित हुन पुगेका छन् । यसै विषयमा रहेर नेपाल प्रहरीका नवनियुक्त प्रवक्ता पुष्कर कार्कीसँग सन्दिप वि.कले गर्नुभएको यो कुराकानी ।

–महिला खबर संवाद–

नवनियुक्त प्रवक्ताको रुपमा आउनुभएको छ, हिंसा पीडित महिलाले कस्तो अपेक्षा गर्न सक्लान ?

प्रहरी प्रवक्ता भनेको एउटा नियमित काम कारबाहीको सिलसिलामा गरिने जनसरोकारका विषयमा विभागको तर्फबाट सुसुजित गराउने जिम्मेवार पद हो । मैले त्यो जिम्मेवार पाएको छु । यहि पदको जिम्मेवारी भित्र रहेर महिला हिंसा जुन छ, त्यसको न्युनिकरण गर्न कानुनी कारबाहीदेखि अन्य सूचनाहरु तदारुक्ताका साथ प्रवाह गर्नेछु ।

महिला, बालिका माथि सामुहिक बलात्कार, हत्या, कुटपिट जस्ता धेरै हिंसाका घटनाहरु भैरहेका छन्, अहिले यस्ता घटना बढेका हुन् या घटना बाहिर आउन थालेको हो ?

जुन सोसोलोजी र क्रिमोलोजीको पाटो छ । त्यसलाई धेरै तरिकाबाट हेर्नुपर्ने हुन्छ । यस्तो घटना हुनु भनेको दुर्भाग्यपूर्ण हो । अझ महिला तथा बालबालिकामाथि हुने घट्नाहरु घर र समाजमा नै हुने गर्छन् । यो झन् संवेदनशिल विषय भयो । यसमा पीडकलाई उचित कानुनी कारबाहीको दायरामा ल्याउने अग्रणी भूमिका नेपाल प्रहरीकै हो ।

अहिले धेरै हिंसाका घट्नाहरु देखिने कारण भनेको पहिलो त जनताहरु जागरुकता हुनु हो । जस्ले लुकाई छुपाई गर्ने केशहरु बाहिर आए । अहिले अर्को कानुनी उपचार बढेको हो कि भन्ने लाग्छ । कानुनी उपचार हुन्छ, भनेर घट्ना धेरै बाहिर आएका पनि हुन् । यि दुवै पक्षलाई हेर्न जरुरी छ ।

अर्को महिला हिंसाका घट्नाहरुका कारणहरु धेरै हुन्छन् । जस्तो अहिले चेन्जिङ लाइभ स्टाइल, फेसबुक, इन्टरनेटको मिसयुज छन् । यसरी ठ्याकै भन्न त मिल्दैन तर प्रहरीको कारबाही, न्यायसँगको विश्वासका कारणले पनि यि घट्नाहरु देखिएका हुन् । हिंसा न्यूनीकरण गर्न समाजका सबै पक्षहरु सशक्त हुनु जरुरी छ ।

पीडकलाई कारबाही गर्न नसक्दा पनि हिंसालाई प्रोत्साहन भैरहेको छनि होइन ?

पीडकलाई पक्राउ गर्नुपर्ने प्रहरीको जुन दायित्व, त्यो रेट बढ्दो छ । त्यो भनेको प्रहरीको सक्रियता र चासो पनि बढेको हो । हाम्रो रेकर्ड र मिडियामा आएका घट्नाहरुले त्यो कुरा देखाउँछ । तर कारबाही नै नभएर घट्ना बढेको भन्न मिल्दैन । यो क्षेत्र भनेको प्रहरीले कारबाही गर्ने एउटा पक्ष हो । यसमा जोडिएका धेरै पाटाहरु छन् । जस्तै सामाजिक, आर्थिक, साँस्कृतिक पाटोलाई पनि लिन सक्छौ ।

अर्को जुन अहिले २० वर्षपछि स्थानीय निकाय गठन भएको छ । धेरै महिलाहरु उपप्रमुखमा विजयी भएको अवस्था पनि छ । अहिले पहिले नभएको मेकानिजम छ । त्यसबाट दिने न्यायिक भूमिका, सूसुजित गर्ने, इम्पावर गर्ने क्रियाकलापहरु छन् । ति कारणले पनि अबका दिनमा महिला हिंसाका घट्ना घट्छन् भन्ने लाग्छ ।

अपराधिक मानसिकताले सिमा नै नाँघेको देखिन्छ, श्रीमतिको टाउको नै काटेर प्रहरीमा आउनु, यस्तो अपराधिक मानसिकता कसरी आएको होला ?

यस्तो हुनुको एउटा पार्टको रुपमा क्रिमिलोजिलाई लिन सकिन्छ । अपराध किन घट्छ भन्ने पाटो एउटा भो । यस्ता गम्भिर किसिमका घट्ना कुनै न कुनै बेला घटेको देखिन्छ । जुन किसिमको हाम्रो जीवनशैली र मानसिकता छ । त्यसलाई पनि लिन सकिन्छ ।
यसका धेरै कारणहरु हुन्छन् । यही कारण महिला हिंसाका घट्ना बढ्यो भनेर त म भन्न सक्दिन् । यसलाई न्युनिकरण गर्न नेपाल प्रहरी त छदैँ छ । यसमा सबैको साथ चाहिन्छ । र हिंसा बढ्नुका कारण यहि हो भन्न चै सकिदैन । तर पनि सामाजिक, आर्थिक, मनोवैज्ञानिक कारणले घट्ना घट्छन् ।

अपराधीलाई नसमाउनु, कानूनी कठघरामा उभ्याउन नसक्नु, ढिलासुस्ती पनि हिंसालाई बल दिनु हो । नेपाल प्रहरी यसमा किन चुकिरहेको छ ?

अधिकांश घट्नाका पीडकलाई पक्रिन नेपाल प्रहरी सफल छ । केही घट्नाहरुमा तत्काल पक्राउ गर्न नसकिएला, तर कुनै न कुनै बेला पीडक पक्राउ परेको रेकर्ड हामीसँग छ ।

अनुसन्धान र पक्राउ गरेर कानुनी प्रक्रियामा लाने कुरामा नेपाल प्रहरीको रेकर्ड धेरै राम्रो छ । अहिले त झन् सुधार भएको अवस्था छ । पहिले पहिलेका पुराना केशहरुलाई पल्टाएर कानुनी दायरामा ल्याउने र पीडकलाई देश विदेशबाट पक्रिएर ल्याएको रेकर्डपनि नेपाल प्रहरीसँग छ ।
विभिन्न देश र यहि प्रान्तका अन्य प्रहरीसँग तुलना गर्दा पनि दोषीलाई कानुनी कठघरामा ल्याउन नेपाल प्रहरी सक्षम छ । अर्को भनेको अपराध नगर्नु नै ठूलो कुरा हो । महिला हिंसाका घट्नाहरु घरपरिवार र समाजमा नै घट्ने गर्छन्, । प्रहरी त सबै ठाउँमा पुगेको हुँदैन । त्यस्ता घट्नालाई पीडितले समयमै प्रहरी समक्ष ल्याउनुपर्ने देखिन्छ ।

रामेछाप लिखुकी १४ बर्षिया सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई ५ वर्षपछि मात्रै गत असारमा पक्रियो, उनको परिवारले छोरी गुमाउनुका साथै त्यो ५ बर्षमा कति पिडा सहनुपर्यो होला, त्यस्तै गत जेष्ठमा नुवाकोटकी शोभा राईलाई काठमाडौंमै आगो लगाएर मार्ने प्रयास गर्ने श्रीमानलाई अझै समातिएको छैन । यि प्रतिनिधि घटना मात्रै हुन्, ? प्रहरीले महिलालाई न्याय दिन किन अग्रसर नभएको होला ?

घट्ना घटेको कति समयपछि प्रहरीमा थाहा भयो भन्ने हुन्छ । अपराधका घट्नाहरु प्रहरीमा ढिलो आएकै कारण अपराधिहरु भाग्ने, उम्किने मौका पाउँछन्, । त्यो भन्दैमा कानुनी कठघरमा ल्याउन सकिदैन भन्न खोजेको होइन् ।

रामेछापको घट्नामा पाँच वर्षपछि नेपाल प्रहरीले ल्यायो भन्नुभयो । यसमा तत्काल घट्ना घटाउने व्यक्ति फरार भएपनि कानुनी कठघरमा ल्याउन प्रहरी सक्षम भएको छ । अपराधी कुनै न कुनै समय कानुनी कठघरामा आउँछ र ल्याएरै छाड्छौ ।

दवाव र प्रभावले पीडकलाई समात्दैनन्, भनिन्छ नि ? रोक्न के गर्नुभएको छ ?

दवाद दिन्छन् भन्ने एउटा पाटो हो । अपराध भनेको अपराध नै हो । अपराधी को, के भन्ने नै हुँदैन । अपराधका घट्नालाई अनुसन्धान गर्न प्रहरीपछि पर्छ भन्ने मलाई लाग्दैन । म पनि लामो समय फिल्डमा बसेर काम गरे । तर मलाई त्यस्तो महशुस भएन ।
कानुनी कारबाहीमा प्रहरीले कसैलाई काखा र कसैलाई पाखा गर्दैन । प्रहरीको नीति पनि यहि नै छ । त्यस्तो घट्ना छ, दवाव र प्रभावमा कारबाही हुन सकेको छैन भने हामीसँग ल्याउनुस् हामी कारबाही गर्छौ । दवाव र प्रभावमा पर्ने प्रहरी, कर्मचारीलाई पनि हामी कारबाही गर्छौ ।

महिला हिंसाका घटना बढी सम्वेदनशील हुन्छन्, पीडितलाई थप पिडा नदिने वातावरण कसरी मिलाउनु भएको छ ?

महिला हिंसाका घट्ना कसरी कम गर्ने भन्ने कुरा प्रहरीको मात्र होइन । कुनैपनि हिंसामा परेका महिलाले प्रहरीमा उजुरी अथवा रिपोटिङ गरेको खण्डमा उहाँलाई कसरी राख्ने भन्ने हुन्छ । विभिन्न किसिमका हिंसाहरु हुन्छन्, घरबाट छुट्याएर राख्ने कि ? प्रोटेक्टिङ होममा राख्ने कि ?, राखेपनि कति समय राख्ने भन्ने हुन्छ । काउन्सेलिङ गर्ने बाटोहरु पनि हुन्छ । नेपाल प्रहरीले पनि हिंसामा परेका महिलाहरुलाई काउन्सेलिङ गरेर राख्ने गरि छुटै महिला सेलको व्यवस्था गरि सकृय बनाएको छ । यसरी हिंसामा परेका महिलालाई थप पिडा नदिनका लागि वातावरण मिलाउन प्रहरी हरदम तयार छ ।

घटना घट्न नदिन र घटना भैहालेमा समयमै न्याय दिन कसले के भूमिका खेल्न जरुरी छ ?

रोकथाम गर्ने धेरै उपायहरु छन् । महिलाको विषयमा हजारौ एनजिओ, आइएनजिओहरुले काम गरि राखेका छन् । उहाँहरुले पनि रोकथाममा लाग्नुपर्यो । अहिले जनप्रतिनिधिहरुको दह्रो संयन्त्र खडा भएको छ । त्यहाँबाट घट्ना न्युनिकरण अवश्य हुन्छ । अबका दिनमा महिला हिंसा न्युनिकरण दु्रत गतिमा हुन्छ र अझ महिला हिंसा नै नहुने वातावरण बन्छ ।

महिलालाई न्याय दिन नेपाल प्रहरीले त्यस्तो कुनै संयन्त्र बनाएको छ ?

नेपाल प्रहरी महिला सेल भनेर धेरै अगाडि खडा भएको हो । ७५ वटै जिल्लामा महिला सेलहरु छन् । धेरै प्रहरी अधिकृतहरु तालिम प्राप्त छन् । महिला, बालबालिकाको पाटोका काउन्सिलिङ देखि केशलाई कसरी हेन्डल गर्ने, केशलाई अदालतसम्म कसरी लैजाने भन्ने त्यहाँ हुन्छ । त्यो भन्दैमा सबै काम गरेको छ त भन्दिन । यो निरन्तर हुने प्रक्रिया हो । यसबाहेक पनि हामीले धेरै निकायसँग समन्वय गरेर काम गरेका छौँ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: