शरीरमाथिको अधिकारको बहस


प्रकाशित मिति :2017-07-28 17:46:26

–साधना प्रतीक्षा–

जैविकीय अवस्थाका कारण महिलाले युगौँदेखि उत्पीडन झेल्दै आएको देखिन्छ। मानव सभ्यताको विकासक्रमलाई आधार मानेर हेर्दा समाज विकासको गतिसँगै पुरुष श्रेष्ठता र अग्रस्थानमा स्थापित भए भने महिला उनीहरूका आश्रित तथा रक्षिता बन्दै निम्न स्थानमा सीमित बनेको पाइन्छ। यसमा महिलाको जैविक अवस्थाले भूमिका खेलेको देखिन्छ। प्रजनन आदि प्रकृतिप्रदत्त विशेषताका कारण महिलालाई कमजोर मानेर आदिकालदेखिको मातृसत्ताको विस्थापन गरी पितृसत्ता स्थापित भएको धारणा एंगेल्स (द ओरिजिन अफ द फेमिली, प्राइभेट प्रोपर्टी एन्ड द स्टेट) तथा सिमोन दि वौभायर ९द सेकेन्ड सेक्स० ले प्रस्तुत गरेका छन्। यी दुबै चिन्तकका विचार नारीवादी चिन्तनका समेत आधार मानिन्छन्। नारीवाद अन्तर्गत विकसित विभिन्न मान्यताले पितृसत्तालाई महिला उत्पीडनको प्रमुख कारक मान्दै त्यसबाट उन्मुक्तिको खोजीमा जोड दिएको देखिन्छ। महिलाको शरीरमाथि उसैको अधिकार हुनुपर्ने र पितृसत्ताले महिलाको यौनिकतामा नियन्त्रण गरेको विचार राख्दै त्यस विरुद्ध सशक्त आवाज उठाउने आमूल नारीवादी केट मिलेटको कृति ‘सेक्सुअल पोलिटिक्स’लाई तत्कालीन अमेरिकामा मात्र होइन, विश्वभरि नै महत्त्वसाथ हेरिएको थियो। यसै सन्दर्भमा पछिल्लो समय महिलाको शरीरमाथिको अधिकारबारे खुलेर बहस हुनथाले। महिला कुनै पनि पुरुषको सम्पत्ति वा अधीनको वस्तु नभएर एउट स्वतन्त्र अस्तित्व हो भन्ने चेतनाको विकासले महिलामाथि हुने यौन हिंसा, घरेलु हिंसा, श्रम शोषण आदिमा न्युनीकरण भएको छ। महिलाको शरीरमाथिको अधिकारका सम्बन्धमा हाम्रो समाजमा अझै खुलेर बहस हुनसकेको देखिँदैन। यसैकारण माहिला, विशेषगरी बालिका तथा किशोरीहरू यौन दुव्र्यवहारका सिकार भइरहेका छन्।

दिनहुँजस्तो अखबारका पानाहरूमा बालिका बलात्कृत भएका समाचार छापिएका हुन्छन्। हालै प्रकाशित ११ वर्षीया गर्भवती किशोरी सम्बन्धी समाचारले बालिका तथा किशोरमाथि हुने यौन उत्पीडनका कारणको खोजी गरी त्यसको न्युनीकरणतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याएको छ। अधिकांश बालिका तथा किशोरीहरू आफन्त तथा परिचित पुरुषद्वारा बलात्कृत हुने गरेको पाइन्छ। अपरिचित व्यक्ति तथा अचानक हुने यौन दुव्र्यवहारभन्दा बढी नातासम्बन्धी तथा परिचितहरूबाट बालिका तथा किशोरीहरू यौन उत्पीडनमा परेको यथार्थ घटनाको रहस्य खुलेपछिका तथ्यले देखाउने गरेको छ। उनीहरू एकपटक होइन, पटक–पटक, अझ रहस्य नखुलुन्जेल निरन्तर दुव्र्यवहार खेप्न बाध्य छन्। यस्ता यौन अपराधका लागि कडा कानुनी प्रावधान बनाउनु, दोषीलाई हदैसम्मको सजायको व्यवस्था गर्नुपर्ने आवश्यकता त छँदैछ, साथै परिवार, समुदाय तथा राज्यले गर्नुपर्ने अन्य जिम्मेवारी पनि छन्, जसले बालिका तथा किशोरीहरूलाई यस्ता दुर्घटनाबाट जोगाउन सक्छ।

हामीकहाँ सहरिया तथा शिक्षित परिवेशका किशोरीहरूमा शरीरमाथिको अधिकारबारे हदभन्दा बढी सचेतता पाइन्छ। केही दिनअघि यसै पत्रिकामा प्रकाशित लेखमा अभिव्यक्त भएको एकजना डाक्टरको अभिव्यक्तिले यसलाई पुष्टि गरेको देखिन्छ। उनले आफूकहाँ गर्भपतन गराउन आएका कलिला किशोरीहरूलाई त्यसोगर्दा उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुनाले सानो उमेरमा यौनसम्पर्क तथा गर्भपतनबाट टाढा रहनुपर्ने सुझाव दिँदा उनीहरूले आफ्नो शरीरमाथि आफ्नोमात्र अधिकार हुने भएकाले गर्भपतन गराउन पाउने जिकिर गरेको प्रसंग अत्यन्त मार्मिक थियो। एकातिर किशोरीहरूमा यस्तो सचेतता देखिन्छ भने अर्कातिर आफ्नो शरीरलाई आफन्त वा परिचित पुरुषले कसरी दुरुपयोग गरिरहेका छन् भन्ने सचेतता नहुनाले बालिका तथा किशोरीहरू लामो समयसम्म यौनजन्य उत्पीडन झेलिरहेका छन्। शरीरमाथिको अधिकारबारे आवश्यकताभन्दा बढी सचेतता पनि घातक हुन्छ। तर त्योभन्दा कैयौँ गुणा घातक यस सम्बन्धीको असचेतता हुने गर्छ। त्यसैले अब शरीरमाथिको अधिकारबारे सचेतना अभियान तथा बहसको अवश्यकता छ।

बालिकामाथि हुने यौन दुव्र्यवहारका अधिकांश घटनामा परिवार, आफन्त, छिमेकी आदिजस्ता परिचित पुरुषको संलग्नताले के देखाउँछ भने बालिकाहरू स्वेच्छाले उनीहरूसमक्ष पुग्ने, नजिकिने अनि अन्जानमा नै यौन शोषणको सिकार हुने गर्छन्। उनीहरूलाई आफ्नो शरीर संरचना, त्यसमाथिको अधिकारबारे ज्ञान नहुनाले त्यस्ता पुरुषहरूले बदनियतपूर्वक गर्ने क्रियाकलापलाई पनि माया, आत्मीयता र खेल सम्झन पुग्छन्। अनभिज्ञताको यही खेल अन्ततस् उनीहरूका लागि अभिषाप बन्ने गर्छ। खानेकुरा, खेलौना, पैसा आदिको प्रलोभनमा पारेर पनि यौनपिपासुहरूले बालिकामाथि यौन दुव्र्यवहार गरेका घटना पनि प्रशस्त देखिन्छन्। यस्ता क्रियाकलापको प्रतिकार गरेमा वा कसैलाई भनेमा परिवारका सदस्य वा बालिकाकै हत्यासमेत गरिदिने धम्की दिएका कारण डरले बालिकाहरू सहेर बसेको यथार्थ कतिपय पीडित बालिकाबाट खुल्ने गरेको छ। यही भय तथा त्रासले शोषकहरू निरन्तर शोषण गर्दै समाजमा निष्फिक्री घुमिरहेका हुन्छन्।

मनमा आवेग तथा आपराधिक मानसिकता उत्पन्न भएपछि मानिसले कुनै पनि आचारसंहिता सम्झँदैन, पाप–धर्मबारे चिन्तन गर्दैन, अझ अपराध गर्नुअघि त्यसको सजायबारे पनि सोच्दैन। मनोविश्लेषक फ्रायडसँग सहमत हुने हो भने मानिस विवेक तथा चेतनाका कारणमात्र पशुबाट भिन्न भएको हो। विवेक र चेतना गुमाएको मान्छे पशुवत हुने हुनाले नै अबोध बालिकामाथि यस्तो दुव्र्यवहार गर्न उद्यत हुने गर्छ। यस्तो यथार्थमा बालिका तथा किशोरीहरूलाई विशेषगरी आमा तथा गुरुआमाले यस सम्बन्धमा सचेत गराउन सक्छन्। घरमा आमाले तथा विद्यालयमा गुरुआमाले बालिका तथा किशोरीहरूलाई मित्रवत व्यवहार गरेर उनीहरूका जिज्ञासा तथा समस्याको समाधान गरिदिने, उनीहरूको जैविकीय पक्ष, दुष्प्रवृत्तिका पुरुषहरूप्रतिको सचेतताका साथै सम्भावित परिस्थितिमा अपनाउनुपर्ने सावधानी र प्रतिकारबारे सचेत गराउन सक्छन्।

आमाहरूको बेफुर्सदीका कारण उनीहरूले छोरीहरूलाई समय दिन नसक्ने अवस्था एकातिर छ भने आमाहरू स्वयम् यसबारे सचेत नभएका पनि हुनसक्छन्। हाम्रो समाजमा यौनबारे खुलेर बोल्नुलाई महिलाको चरित्रसँग जोडेर हेरिने हुनाले आममहिला यसबारे बोल्न चाहँदैनन्। यी सबै परिस्थितिको मारमा बालिका तथा किशोरीहरू पर्छन्। त्यसैले महिला तथा बालबालिकासँग सरोकार राख्ने व्यक्ति तथा संघर संस्थाहरूले सर्वप्रथम ग्रामीण भेगका आमाहरूलाई सचेतना दिनुपर्छ। यसबाट उनीहरू शरीरमाथिको अधिकार तथा यौनिकताका सम्बन्धमा खुलेर बहस गर्न सकुन्। उनीहरू आफ्ना छोरीहरूलाई परिचित या अपरिचित पुरुषबाट हुनसक्ने बदनियतपूर्ण क्रियाकलापबारे सचेत गराउँदै त्यस्ता कार्यप्रति प्रतिकार गर्न प्रेरित गरुन्। यसैगरी हरेक विद्यालयमा किशोरीहरूका लागि मासिक रूपमा सचेतना कार्यक्रम राख्नुपर्छ। यसका लागि विद्यालय व्यवस्थापन तथा अभिभावक दुबैको सक्रियता आवश्यक हुन्छ। महिला तथा बालबालिका मन्त्रालय र शिक्षा मन्त्रालय दुबैको आपसी समझदारीबाट यस्तो व्यवस्था गर्न सकिन्छ। निजी हुन् वा सरकारी, सहरी क्षेत्र होस् वा ग्रामीण सबैमा यस्तो कक्षा सञ्चालन गर्नुपर्छ, जसमा बालिका तथा किशोरीहरूलाई विद्यालयका प्रौढ तथा प्रभावशाली मानिएका शिक्षिकाहरूले उनीहरूको शारीरिक संरचना, किशोरावस्थाको शारीरिक परिवर्तन र जटिलता, मानसिक उतार–चढाव, त्यसप्रतिको नियन्त्रण, उनीहरूप्रति पुरुषले गर्न हुने र नहुने क्रियाकलाप, सम्भावित खतरा, त्यसप्रतिको प्रतिकार आदिबारे खुलेर जानकारी गराउनुपर्छ। सहज वातावरणमा यस्ता कार्यक्रम सञ्चालन हुने हो भने किशोरीहरूले पनि खुलेर आफ्ना समस्या राख्न तथा त्यसको समाधान पहिल्याउन सन्छन्। चेलीबेटी बेचबिखन, बालिका अपहरण, त्यसबाट जोगिने उपायबारे पनि उनीहरूलाई सचेत गराउनुपर्छ। यौन तथा प्रजनन अनि शरीरमाथिको अधिकार सम्बन्धी यस्ता बहसले बालिका तथा किशोरीहरूलाई उनीहरूमाथि हुने यौन दुव्र्यवहार र तत्जन्य उत्पीडनबाट केही हदसम्म भए पनि जोगाउन सक्नेछ।

स्रोतः कान्तिपुर दैनिक 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: