के सुरक्षित छ महिलाका लागि सार्वजनिक स्थान ?


बिना प्रमाण कहाँ उजुरीे हाल्ने

प्रकाशित मिति :2017-07-30 16:27:41

–खेमा बस्नेत –

काठमाडौं । हामी हिँडिरहेका बाटो, सार्वजनिक यातायात, प्रतिक्षालय, धारापधेँरो, चौतारो, पार्क जस्ता सार्वजनिक स्थानमा कति महिला निर्धक्क हिँड्छन् होला ?

भयरहित वातावरणमा उनीहरुको आवतजावत भैरहेको छ ? महिलाका लागि समाजले लगाएको अघोषित कर्फ्यू कहिलेसम्म ? यो प्रश्नको उत्तरमा धेरै महिला एकछिन अकमकाउँछन् । साथीभाई बीच नमिठो अनुभवहरु सुनाउँछन् तर कानूनी बाटो खोजी गरेको देखिदैन ।
गुल्मी घर भै काठमाडौंको ल क्याक्पसमा पढ्ने रश्मी खड्का दैनिक सार्वजनिक यातायात प्रयोग गर्छिन् ।

ठेलाम्ठेल यात्रा गर्दाको सास्ती मात्र नभएर पुरुष यात्रु तथा सवारी सहचालकबाटै हुने शारीरिक तथा मानसिक हिंसाले उनी आजित भएकी छन् ।  ‘बस सधैँ कोचाकोच नै हुन्छ । कलंकीबाट क्याम्पस आउँदा जाँदा यस्ता धेरै घटना व्यहोरेको छु, बस ड्राइभरले भन्यो मिलेर बस्नु, मिल्दैन भने अर्को बसमा जानुस् भन्छन् ।’ रश्मीले भनिन् ।

उनको अनुभवमा यस्तोमा गलत नियत भएकाहरुले धेरै फाइदा लिन खोज्छन् । एकपटक उनलाई पछाडिबाट एउटा केटाले कम्मरमा समायो । चालकलाई भनिन्, उल्टै चालकले मिलेर बस्न भन्यो । ति केटालाई गाली पनि गरिन् । तर टेरेन । कोचाकोचमा अरुले देख्ने कुरा पनि भएन । प्रमाण नै नभएको कुरा प्रहरीमा कसरी उजुरी गर्नु । उनले प्रहरीमा जाने आँट नै गरिनन् ।

किर्तिपुरकी शान्ति नेपाली पनि बसमा धेरै दुव्र्यवहार सहनुपरेको बताइन् । तर उजुरी कहाँ, कसरी हाल्ने भन्ने कुरा जानकारी नभएकाले दुव्र्यवहार सहेरै बस्ने गरेकी छन् । ‘एकदिन अफिसबाट माइक्रोमा कोचाकोच गरि उभिएर घर फर्कर्दै थिएँ । जाममा एक्कासी गाडीको ब्रेक झाप्प लाग्यो । म हुत्तिएर लड्न खोज्दा खलासीले मेरो स्तनमै हात रोक्यो’ शान्तिले भनिन् ।

त्यो अवस्थामा उनले कस्लाई के भन्ने सोच्नै नसको बताउँछिन् । ‘त्यो खलासीले मलाई म लड्न नदिन मलाई समायो वा गलत नियत थियो । मैले न बुझ्न सके न कसैलाई भन्न नै सके । उजुरी दिने कुरा त परैको विषय भयो । त्यस दिनदेखि जति ढिला भएपनि कोचाकोच बसमा चड्नै छाडेकी छु ।’ शान्तिले भनिन् ।

एक अस्पतालमा भोलेन्टीयर काम गर्दै आएकी विष्णु श्रेष्ठ होस्टेलमा बस्छिन् । काममा सधै जसो ढिला हुने उनी होस्टेल पुग्न ठूलै सहास लिएर हिँड्नुपर्ने हुन्छ । सधैजसो केटाहरु जिस्काउने र कहिलेकाही बाटो छेक्ने गरेको उनले अनुभव सुनाइन् । उनी सधैँ मानसिक त्रास बोकेर हिँड्नुपरेको उनले बताइन् ।

सर्वसाधरण महिला मात्र होइन प्रहरी महिला पनि यौन दुव्र्यवहारमा पर्ने गरेका छन् । महानगर ट्राफिक प्रहरी महाशाखा कार्यालय, बग्गीखानाकी प्रहरी जवान उषा नेपालीले अप्रत्यक्ष रुपमा धेरै हिंसा सहनुपरेको बताउँछिन् । ‘अप्रत्यक्ष रुपमा, टाढैबाट नसुनेनी तरिकाले अपशब्द प्रयोग गरी गाली गर्ने गर्छन् । प्रमाण हुदैन कसलाई कारबाही लागि उजुरी गर्नु’ प्रज नेपालीले भनिन् ।

रश्मि, शान्ति र विष्णु जस्ता थुप्रै महिलाले दैनिक सार्वजनिक स्थानमा यौन दुव्र्यवहारको सामना गरिरहनु परेको छ । तर प्रमाण नहुनु र उजुरी कसरी गर्ने जानकारी नहुँदा त्यस्ता गतिविधि कम हुन सकिरहेको छैन ।

काठमाडौं महानगरपालिकाको सरसफाई कुचीकारकीे नाईके देवी नेपालीले भने हिंसाको प्रतिकार गर्न सक्नुपर्ने बताइन् । ‘म सुन्धरामा सरसफाई गर्ने क्रममा धेरैले अपशब्दको प्रयोग गरेर जिस्काउने गर्थे । मैले प्रतिकार गरेदेखि दुव्र्यव्यवहार भएको छैन ।’ नाइके नेपालीले भनिन् ।

नेपाल प्रहरीका प्रवक्त्ता पुष्कर कार्की पनि दुव्र्यवहारमा स्वंय महिलाले प्रतिकार सक्नुपर्ने बताउँछन् । ‘कुनै महिला यौन दुव्र्यवहारमा परेमा उसलाई ठाउँको ठाउँ प्रतिकार गर्ने वा आफुले गर्ने नसेके संगैका साथी, बस डाईभरलाई भन्न लगाउने र प्रहरीलाई खबर गर्नुपर्छ ।’ कार्कीले भने ।

उनले सार्वजनिक स्थानमा महिलामाथि हुने यौन दुव्र्यवहारका उजुरी पनि आउने गरेको तर उजुरी कति परे भन्ने तथ्यांक नभएको बताए । यस्ता उजुरी सार्वजनिक अपराधमा राख्ने गरेको प्रवक्त्ता कार्कीले बताए ।

दुव्र्यवहार गर्ने व्यक्तिको नाम, ठेगाना थाहा नभएपनि हुलिएका आधारमा पक्राउ गर्ने गरेको प्रवक्त्ता कार्कीले बताए । कालीमाटी प्रहरी कार्यालयको महिला सेलले भने यो बर्ष गालीगलौजका ४ वटा मात्रै उजुरी परेको छ ।

एक्सन एड र प्रेरेणाले सन् २०१४ मा गरेको एक अध्ययन अनुसार ९५ प्रतिशत भन्दा बढी महिलाले सार्वजनिक स्थानमा यौन दुव्र्यवहार व्यहोर्नुपरेको तथ्यांक निकालेको थियो ।

दैनिक कामकाजीका लागि यात्रा गर्ने महिलाहरु बढी दुव्र्यवहारमा पर्ने गरेको सर्वेक्षणले देखाएको छ । सार्वजनिक यातायात (खासगरी बस), सडक, मेला, सार्वजनिक शौचालय, स्कुल, चियापसल, सिनेमा हलमा दुव्र्यवहार बढी छ ।

प्रेरेणाकी कार्यक्रम संयोजक विजु कँडेलेले महिलाहरु सबैभन्दा बढी आकाशेपुल, बत्ती नभएको गल्ली र बसमा सबैभन्दा असुरक्षित महसुश गर्ने गरेको बताइन् ।

यौन दुव्र्यव्वहारबारे यस्तो छ कानुन

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्न बनेको ऐन–२०७१ अन्र्तगत सार्वजनिक यातायात, सडक, व्यापार, घरेलु श्रम, पसल कामदार, स्वास्थ्य लागायतका स्थलहरुमा हुने यौनजन्य हिंसाको व्यवहारलाई समेत दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ । हिंसा प्रमाणित भएमा पीडकलाई ६ महिना कैद वा रु ५० हजार जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: