-महिला खबर-
दोलखा । दोलखाको ग्रामिण क्षेत्रका महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने कपडा सफा नहुँदा संक्रमणको जोखिम थियो । तर, अहिले उनीहरुले घरमा नै सेनिटरी प्याड बनाउने तालिम लिएपछि संक्रमणको डर कम भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ की निर्मला थामीले घरेलु प्याड बनाउने तालिम लिनु भएको छ । आफुले घरेलु प्याड बनाउने तालिम पाएपछि फोहोर कपडा प्रयोग नगर्न अरुलाई पनि सीप हस्तान्तरण गर्ने उहाँको योजना छ ।
स्थानिय भीमेश्वर सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तालिमपछि निर्मलाले भन्नुभयो – गाउँका महिलाले पनि महिनावारी हुँदा प्रयोग गर्ने कपडाबाट नै सुरक्षित प्याड बनाउन सकिने रहेछ । तालिममा सहभागी भीमेश्वर नगरपालिका वडा नम्बर २ को डुकुमाया कुसुले पनि घरेलु प्याड बनाउने तालिम निक्कै उपयोगी भएको बताउनु हुन्छ । विगतमा आफुले असुरक्षित ढंगले घरेलु प्याड प्रयोग गरिरहेको कुरा तालिम पछि जानकारी भएको उल्लेख गर्नुहुदै डुकुमाया आफुले जानेको सीप अन्य महिलाहरुलाई समेत सिकाउने बताउनुभयो ।
भीमेश्वर सामुदायिक सिकाई केन्द्रले वडा नम्बर २ दोलखामा आयोजना गरेको दुई दिने घरेलु प्याड बनाउने तालिममा स्थानिय २६ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा घरेलु प्याड बनाउने तरीका, घरेलु प्याड प्रयोग गर्दाका फाईहरु, बजारको प्याड प्रयोग गर्दा हुने समस्या, महिनावारी भनेको के हो जस्ता विषयमा नेपाल क्षयरोग निवारण केन्द्रका सह उपाध्यक्ष राधा मास्केले प्रशिक्षण दिनु भएको थियो ।
Comment Here!