छाउप्रति निर्मम बन्दै ‘अगुवा’


प्रकाशित मिति :2017-07-31 11:40:30

पञ्चपुरी (सुर्खेत) : छाउपडीमुक्त घोषणा गरिएका स्थानमा नै छाउ (महिनावारी) भएका महिलाप्रति निर्मम व्यवहार भइरहेको छ । स्थानीय गाउँ र टोलमा सबैले विश्वास गर्ने अगुवा (धामी, पुजारी, बूढापाका र शिक्षित) बाटै महिनावारी हुँदा महिलालाई सार्वजनिक धारामा बन्देज लगाउनेदेखि पशुसँगै गोठमा सुताउनेसम्मका कठोर व्यवहार भइरहेको हो ।

गोठमा सुत्नु पर्दाको पीडा सुनाउँदै रत्ना नेपाली ।

रजस्वलाको बेलामा समुदाय र परिवारबाट भइरहेको कठोर व्यवहारका कारण महिला तथा किशोरी पीडित बनेका छन् । कुनैबेला छाउपडीविरुद्ध खरो उत्रिएका गाउँका अगुवाले नै अहिले महिलालाई न्यूनतम ६ दिनसम्म घरको नजिक पर्न नदिने र पशुसँगै गोठमा सुताउने गरेको भेटिएको छ । छुई हुँदा देउता रिसाउने भन्दै महिनावारीको बेला महिलालाई सार्वजनिक धारामासमेत प्रतिबन्ध लगाउने गरिएको छ । धारामा प्रतिबन्ध लगाइएका कारण खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको महिलाले पीडा पोखेका छन् । छाउपडीको कुप्रथा रहेको पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अहिले पनि महिनावारीको बेलामा महिलाहरू सार्वजनिक धारामा प्रवेश गर्न पाउँदैनन् ।

गाउँमा छाउगोठ बनाउन डर मानेका परिवारले भने अहिले महिनावारी हुँदा महिलालाई पशु बाँध्ने गोठमा सुताउने गरेको पाइएको छ । घरमा छाउगोठ छैन भन्ने देखाउन छाउगोठ पुनर्निमाण नगरेको भए पनि महिनावारी भएका परिवारका सदस्यलाई उनीहरूले पशु बाँध्ने गोठमा सुताउने गरेको भेटिएको हो ।

स्थानीय अगुवाले नै धाराको पानी प्रयोग गर्दा देउता रिसाउने भन्दै उनीहरूलाई नजिक पर्न दिँदैनन् । दुई वर्ष पहिला छाउपडीमुक्त घोषणा भएको बाबियाचौर निवासी रत्ना नेपालीले महिला र किशोरीका लागि समुदाय र गाउँका अगुवा नै निर्मम बनेको बताइन् । ‘पाखा सरेको बेलामा धारामा जानै दिँदैनन्, खोला पनि नजिक छैन’, उनले पीडा सुनाउँदै भनिन्, ‘धारामा जाँदा देउता रिसाउँछन् भन्छन्, हामी त नजिक पनि पर्दैनौं । यस्तो बेलामा सरसफाइ बढी गर्नुपर्छ तर धाराको नजिक जानै नपाएपछि कसरी सफा हुने ? ‘ आफूलाई यो प्रथा गलत लागे पनि समुदाय नै छाउपडीको पक्षमा एकजुट भएकाले धारामा पस्ने आँट नआएको उनको भनाइ छ । उनले थपिन्, ‘हामीले के पाप गरेका रहेछौं खै ? ६ दिनसम्म घरको नजिक पर्नै दिँदैनन् । धाराको पानी प्रगोग गर्न पनि पाइँदैन, अँध्यारो गोठमा सुत्नुपर्ने बाध्यता छ ।’

पञ्चपुरी नगरपालिकाकी ६५ वर्षिया नन्नकला विकलाई स्थानीयले विश्वास गर्छन् । तर उनले आफ्नो घरमा पनि देउता भएकाले रजस्वला भएका महिलालाई घरको आँगनमा टेक्न नदिने गरेको सुनाइन् । उनले भनिन्, ‘छुई हुँदा मलाई पनि अशुभ हुन्छ, घरका सदस्य बिरामी हुन्छन् । हामीले पहिलेबाटै मान्दै आएको चलन हो, पाखा सरेको बेलामा घरभित्र र धाराको वरपर लसपस गर्नुहुँदैन ।’ आफूहरू पनि गोठमा सुत्दै आएको भन्दै उनले अबका छोरी बुहारीले पनि घरदेखि टाढाको छाउगोठमा सुत्नुपर्ने उल्लेख गरिन् । सबैले विश्वास गर्ने अगुवा नै छाउप्रति निर्मम भएपछि स्थानीय महिला गोठमा सुत्न बाध्यछन् । यसअघि छाउपडीविरुद्धको अभियानका क्रममा उनको घरमा रहेको छाउगोठ भत्काइएको थियो । तर देउता रिसाएको र अशुभ भएपछि फेरि छाउगोठ बनाएको उनले सुनाइन् ।

गाउँमा छाउगोठ बनाउन डर मानेका परिवारले भने अहिले महिनावारी हुँदा महिलालाई पशु बाँध्ने गोठमा सुताउने गरेको पाइएको छ । घरमा छाउगोठ छैन भन्ने देखाउन छाउगोठ पुनर्निमाण नगरेको भए पनि महिनावारी भएका परिवारका सदस्यलाई उनीहरूले पशु बाँध्ने गोठमा सुताउने गरेको भेटिएको हो । कतिपयले भने खुला आकाशमुनि नै सुताउने गरेका छन् । समुदायका अगुवा र परिवारकै सदस्य महिनावारीप्रति निर्मम भएर अहिले पनि ढुंगे युगको झल्को दिइरहेका छन् ।

गाउँमा अगुवा र सबैले मान्दै आएका स्थानीय धामी र पुजारी थप कठोर बन्दै गएका छन् । बाबियाचौरका धामी दलबहादुर विकले भने, ‘देउता रिसाउने काम गर्नु हुँदैन, छाउ भएकालाई अलग्गै गोठमा नै सुताउने हो । घरभित्र र भान्सामा त पस्नै दिँदैनौं, बरू हामीलाई हतकडी लगाए पनि राजी छौं ।’ जस्तोसुकै सजाय भोग्न तयार रहेको भन्दै उनले छाउगोठ भने हटाउन नसक्ने जिकिर गरे ।

सुर्खेतमा मात्र होइन, छिमेकी जिल्ला दैलेखमा पनि अवस्था दर्दनाक छ । जिल्लामा छाउपडीमुक्त घोषणा भएका स्थानमा हिजोआज महिलाहरू महिनावारी हुँदा गाईभैंसीसँगै गोठमा सुत्ने गरेका छन् । सरकारी तथा गैरसरकारी निकायले छाउगोठ भत्काएर महिलालाई घरभित्र लगेका थिए । तर अभियानको बेलामा घरभित्र पुर्‍याइएका महिलालाई पछिल्लो समय समुदायले पशुसँगै सुताउन थालेको हो । छाउगोठ बनाउन नपाएको र घरभित्र देउता रिसाउने भन्दै स्थानीयले छाउ भएकी महिलालाई पशुसँगै सुताउने गरेको बताए । दैलेख लैनचौरकी कोकिला विकले घरभित्र सुत्न नपाउने भएकाले आफूहरू महिनावारी हुँदा गाईभैंसीसँगै गोठमा सुत्ने गरेको बताइन् । देउताको नाममा समाज निर्दयी र कठोर बन्दै गएकाले आफूहरू गोठमै रहेको उनको भनाइ छ । छाउपडी उन्मूलन अभियानपछि समुदाय थप कठोर बन्दै गएको हो ।

साभार : अन्नपूर्ण पोष्ट दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: