बैतडी । धेरै बालविवाह हुने जिल्लामध्येको एक हो बैतडी । निर्वाचित जनप्रतिनिधि तथा सामाजिक अभियान्ताहरुले बालविवाह अन्यका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।
जिल्लाको पुरचौडी नगरपालिका वडा नं १ का जनप्रतिनिधि तथा वडामा क्रियाशिल बालक्लव, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविकासम्मेलित टोलीले बालविवाह अन्त्यका लागि घरदैलो अभियान गर्दै हिडेका छन् ।
बालविवाहले पार्ने असर र बालविवाह गरेमा हुने कानुनी कारबाहीका बारेमा नागरिकलाई जानकारी दिनका लागि घरदैलो अभियान थालिएको पुरचौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए । उनले भने ‘बालविवाहले समग्र समाजमा समस्या निम्त्याएको हँुदा यसको अन्त्य गर्नैपर्छ । यसको अन्त्यका लागि हामीले वडा कार्यसमितिको पहिलो बैठकबाट निर्णय गरिसकेका छौं ।’
वडा अध्यक्ष गडालले बालविवाह मुक्त वडा बनाउने निर्णय कार्यान्वयनका लागि घरदैलो अभियान सञ्चालन गरेको बताए । वडामा रहेका प्रत्येक बस्तीमा पुगेर घरका बुढापाका र किशोरकिशोरीलाई एकैठाउँ राखेर बालविवाहले पार्ने असरका बारेमा बुझाउँदै आएका छन् ।
बालविवाह अन्त्यका लागि सचेतना फैलाईरहेका स्थानीय बाल क्लव र महिला समुहले नगरसरसफाईमा पनि जोड दिएका छन् । पुरचौडी नगरपालिकालाई स्वास्थ्यको नमूना नगरपालिका बनाउने अभियान सञ्चालन गरेको र यसमा बालविवाह अन्त्य गर्नु अनिवार्य भएकाले बालविवाह अन्त्यको अभियान शुरु भएको हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले बताए ।
बालविवाह अन्त्यका लागि जनप्रतिनिधिहरुले थालेको अभियान निकै सकारात्मक भएको पुरचौंडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रबहादुर नेगीले बताए । जनताले मत दिएर चुनेका प्रतिनिधिले घरघरमा गएर आग्रह गरेपछि बालविवाह अन्त्य हुने विश्वास उनले व्यक्त गरे ।
धेरै जसो स्थानीय तहका जनप्रतिनिधिहरुले एक वर्षभित्र सबै स्थानीय तहलाई बालविवाहमुक्त बनाउने घोषणा गरेका छन् ।
साभार : नयाँपत्रिका दैनिक
Comment Here!