-सर्मिला बुढाथोकी-
दोलखा । दोलखा विगु गाँउपालिका, ६ आलम्पुकी ७७ वर्षीया पिंचीमाया थामी दोस्रो किस्ताको अनुदान रकम लिन घरबाट हिडेको दुई दिन भयो । पहिलो किस्ता रकम दोलखाकै सिंगटीबाट लिनुभएको पिंचीमायालाई दोस्रो किस्ता रकम लिएर रामेछापको मन्थलीबाट फर्किनै हप्ता दिन बढि लागेको छ ।
‘खै पहिलो किस्ता रकम दिएको बैक रामेछापमा छ रे त्यसैले त्यतै जानुपर्छ भन्छन्’ पिंचीमायाले गुनासो गर्दै भन्नु भयो – ‘यो उमेरमा नौलो ठाँउमा कसरी पुगेर आउने ।’ अनुदान रकमको पहिलो किस्ता इन्भेष्टमेन्ट बैङ्कबाट लिएका दोलखा विगु गाँउपालिकाको आलम्पु, लादुक र विगुका भुकम्प पीडितहरु दोस्रो र तेस्रो किस्ता लिन अब रामेछाप जानुपर्ने भएको हो ।
विगु गाँउपालिका वडा नम्बर ६ को वडा सदस्यसनीमाया थामी आफ्नो वडाका भुकम्प पीडितले रकम लिने इन्भेष्टमेन्ट बैङ्कको शाखा दोलखामा नभएकोले रामेछाप जानुपर्ने अवस्था रहेको बताउनुभयो । पहिलो किस्ताको रकम वितरण गर्न बैङ्कका कर्मचारीहरु सिंगटीमै आएका थिए । सनीमायाले भन्नु भयो – ‘दोस्रो र तेस्रो किस्ताको लागि बैङ्क नआएकोले हामीले दुःख पायौं ।’
विगु गाँउपालिका वडा नम्बर ६ आलम्पुबाट रामेछाप पुग्न तीन दिन लाग्ने भएकोले भुकम्प पीडितले थप समस्या भोग्नु परेको सनीमाया बताउनु हुन्छ । खै यस्तो कुरामा सरकारले ध्यानै दिँदैन – वडा सदस्यसनीमायाले भन्नु भयो ।
विगु गाँउपालिका वडा नम्बर ६ कै ७१ वर्षीया मिठु थामी पनि सरकारले अनुदान रकम लिने व्यवस्था सिंगटीमै नगरिदिएकोले धेरै कष्ट भोग्नुपरेको बताउनु हुन्छ । ‘हामी शनिबार घरबाट हिँडेर सिंगटीमा बस्यौ । आईतबार चरिकोटमा बसेर सोमबार (आज) रामेछाप जाँदैछौ’ मिठुले थप्नुभयो – अनुदान रकम लिएर घर फर्कन त एक हप्ता लाग्ने भयो ।
दोस्रो किस्ता अनुदान रकम लिन रामेछाप हिँड्नु भएको आलम्पुको ७१ बर्षिय आईतिमाया थामी पनि ढेडलाख लिन ६ दिन धाएर रामेछाप पुग्दा समय र पैसा बर्बाद भएको बताउनु हुन्छ । पैसा नलिउ भने घर अलपत्र परेको छ । लिउँ भने यो उमेरमा दुःख पाइएको छ’ आईतिमायाले भन्नुभयो ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्य इन्भेष्टमेन्ट बैङ्कबाट रकम लिने भुकम्प पीडित रामेछाप जानुपर्ने अवस्था आएको कुरा आफुले निक्कै पछि जानकारी पाएको बताउनुहुन्छ । उहाँले सम्बन्धित गाँउपालिकालाई सोबारे लिखित निवेदन दिन आफुले पटक पटक आग्रह गरेको जिकिर गर्नुभयो । सम्बन्धित गाँउपालिकाबाट बैङ्क परिर्वतनको लागि लिखित निवेदन आए त्यसको लागि आफुले पहल गर्ने आचार्यको भनाइ छ ।
Comment Here!