–विनोद सिंह विष्ट–
बैतडी । मदिरा र जुवातासका कारण महिला तथा बालबालिकाहरुमाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीका महिलाहरु नियन्त्रण गर्न अभियानमा जुटेका छन । मदिरा र जुवातासले गाँउमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको दोगडाकेदार ३ श्रीकोटका महिला आन्दोलित भएका हुन् ।
उनीहरु लक्ष्मी ओडको अध्यक्षतामा संघर्षसमिति समेत गठन गरेका छन् । समितिले सोमवार डाङ, खोचलेक, सिल्लेगडा हुदै घोडेधारसम्म नाराजुलुस सहित मदिरा र जुवातास बन्द गनुपर्ने माग गरे । करिव २०० बढी महिलाले दोगडाकेदार ३ श्रीकोटको वडा कार्यालय पनि घेराउ गरेको अध्यक्ष ओडले जानकारी दिनुभयो । मंगलवार वडा कार्यालय, दोगडा केदार गाउँपालिका र खोचलेक प्रहरी चौकीमा मदिरा तथा जुवातास बन्द गनुपर्ने भनेर ज्ञापनपत्र बुझाएका छन् । माग सम्वोधन नभए थप सशक्त आन्दोलन गर्ने महिलाहरुले बताएका छन ।
दोगडाकेदार गाउँपालिका वडा नम्वर ३ का महिला वडा सदस्य हेमा कपाडी(भट्ट)ले महिलाहरुको मागलाई एक्यवद्घता जनाउदै यसको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
मदिरा तथा जुवातासले महिलामाथि हिंसा बढ्दै गएकोले महिलाको मागलाई आफुले सकारात्मक रुपमा लिएको दोगडाकेदार ३ श्रीकोटका वडा अध्यक्ष चन्द्रदेव जोशीले बताउनुभयो । महिलाको मागलाई सम्वोधन गर्न तयार रहेको समेत वडा अध्यक्ष जोशीले बताउनुभयो ।
Comment Here!