खेमा बस्नेत
काठमाडौं । श्रीमतीको मृत्युपछि पुरुष कति समयसम्म एकल रहन्छन् होला ? महिनादिन, बर्षदिन वा केही वर्षसम्म । तर नेपाली समाजमा श्रीमानको कुनै कारणबस मृत्यु भएमा पुनर्विवाह नगरी बस्ने धेरै एकल महिला छन् ।
एउटै समाजमा बस्ने एकल पुरुष र महिलालाई गर्ने व्यवहार फरक छ समाजको । श्रीमती मृत्यु भएको तेह्र दिनमै दोस्रो विवाह गरेका र गराइदिनेहरु छन् भने महिलाको हकमा भने सानै उमेरमा एकल भएपनि दोस्रो विवाह गर भनेर सम्म भनिदिदैनन् ।
काठमाडौ चन्द्रागिरी नगरपालिका मच्छेगाउँकी शान्ति महर्जन श्रीमानको मृत्यु हुँदा २५ बर्षकी मात्र थिइन् । ५ बर्षपछि संयोगले उनको देवरको पनि मृत्यु भयो । दुई भाईकै मृत्यु भएको र सासुको रजस्वला समेत रोकिसकेकाले वंश धान्न भन्दै उनको ससुरालाई विहे गर्न घरपरिवारबाटै दवाव आयो ।
त्यही समाज उनी २५ बर्षकी छँदै एकल हुँदा विहे गर्न भनेन तर ५० नागेका ससुरालाई विहे गर्न लगाए । ‘मलाई विवाह गर्छु भनेर कोही केटा पनि आएन नत घरसमाजले नै तिमीले अर्को विवाह गर्नुपर्छ भनेर भने’ शान्तिले भनिन्–‘मेरा ससुरा चै अर्को विवाह गर्न केटी हेर्दैछन् ।’
शान्तिले उल्टै सम्पति लगेर अर्को विवाह गर्छन् भन्ने शंकामा श्रीमानसँगको नाता प्रमाणित र अंश पाउन समेत ठूलै संघर्ष गर्नुपरेको बताइन् ।
‘श्रीमानसंगको नाता प्रमाणित र सम्पतिको हक माग्दा अर्कोसंग विवाह गरेर जाने होला अझ सम्पति माग्छन् भन्दै सिफारिस नै रोक्दीए । तर मैले धेरै संघर्ष गरेर सम्पति आफ्नो नाममा सारे ।’ शान्तिले भनिन् ।
तार्केेश्वर नगरपालिका जितपुरकी सरु अर्याल एकल हुँदा १७ वर्षकी मात्र थिइन् । उनीसंगैका साथी पढ्दै थिए । कोही नयाँ जिवनको सुरुवात गदै थिए तर उनी भने सेतो पहिरनमा रंगविहिन जिन्दगी जिउँदै थिइन् ।
श्रीमान वित्दा उनको गर्भमा पाँच महिनाको बच्चा थियो । त्यसमाथि शारीरिक तथा मानसिक यातना भोग्नुप¥यो । ‘मैले धेरै यातना भोग्नु प¥यो,घर निकालादेखी विभिन्न लालच्छना लगायो । दोस्रो विवाहको त कुरा नै भएन’ सरुले सुनाइन् ।
उनी अहिले ३५ वर्षकी भइन् । छोरा १८ वर्षको क्याम्पस पढ्दैछन् । विहे गर्ने हो भने अझै उमेर छ । तर पुनर्विवाह गर्दा त्यही घटना दोहोरियो भने कसरी बाँच्ने उनको चिन्ता छ ।
कैलाली कैलारी गाउँपालिका ५ की दुर्गा चौधरी विवाह हुँदा उनी १८ वर्षकी थिइन् । विवाह भएको बर्षदिन नवित्दै श्रीमानलाई माओवादीको आरोपमा सेनाले मारिदिए । उनी एकल भइन् । कोखमा २ महिनाको छोरा थियो । छोरा हुर्काउँदैमा समय वित्यो । पुनर्विवाहको विषयमा न उनले भन्न सकिन् न अरुले नै प्रास्ताव ल्याए ।
‘पुनःविवाह गर भनेर भन्ने कोही भेटिनन् । छोरा छ, किन विहे गर्नुपर्यो भन्छन्’ चौधरीले भनिन् । पुनर्विवाह गरे समाजले उल्टै विभिन्न खाले लान्छना लगाउलान् भन्ने उनलाई डर छ ।
मानव अधिकारका लागि महिला एकल महिला समूहका अनुसार नेपालमा शान्ति,सरु,दुर्गा जस्ता ६ लाख बढी एकल महिला छन् ।
मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष निर्मला ढुंगानाले परम्परावादी सोचका कारण एकल महिलाको पुनर्विवाह बारे समाज बोल्ने नसकेको बताइन् ।
‘एकल महिलाले पुनर्विवाह गरेमा बच्चाको विचल्ली हुन्छ । सम्पती लगेर अर्कोसंग जान्छे भन्ने त्यही समाज पुरुषलाई घर सम्हाल्ने महिला चाहिन्छ । महिला नभएपछि बच्चाको विचल्ली हुन्छ भन्दै अर्को विवाह गर्न प्रोत्साहन गरिन्छ’ अध्यक्ष ढुगानाले भनिन् ।
विवाह गर्ने मन हुँदा हुँदै पनि समाजले लगाउने लान्छना, सामाजिक मूल्य मान्यता, आर्थिक तथा सामाजिक सुरक्षा जस्ता कारणले एकल महिला पुनर्विवाह गर्न डराइरहेको ढुंगानाले बताइन् ।
रत्नराज्य लक्ष्मी (आरआर)क्याम्पसका समाजशास्त्र विषयका प्राध्यापक बलराम आचार्यले एकल महिलाको पुर्नविवाहमा समाज नै बाधक भएको बताए । ‘समाजले महिलालाई दोस्रो दर्जामा राखेर व्याख्या गरिएको छ । झन एकल महिलालाई त विभिन्न लान्छनाहरु लगाइन्छ । पुनर्विवाहको त कुरै आउँदैन ।’ प्राध्यापक आचर्यले भने ।
महिलाले शिक्षा र आर्थिक शसक्त्तीकरणमा जोड दिएमा यस्ता मान्यताहरु विस्तारै समाजबाट हराउदै जाने उनको भनाई छ ।
Comment Here!