-पार्वती पाण्डे –
कपिलवस्तु । लैंगिक हिंसा विरुद्ध सचेतना जगाउन कपिलवस्तुको तौलिहवामा भिडियो भ्यान सचेतना सुरु भएको छ । वाल विवाह, लैंगिक हिंसा जस्ता महिलामाथिको हिंसा न्यूनिकरण गर्न सन्देशमुलक नाटक, सचेतना कार्यक्रम न्यायमा पहुँच परियोजनाले सञ्चालन गरेको हो ।
भिडियो भ्यान सचेतना कार्यक्रमको कपिलवस्तु नगरपालिकाका उपमेयर लक्ष्मी गुप्ताले बुधबार उद्घाटन गर्नु भएको हो । कार्यक्रम बोल्दै उहाँले भिडियो भ्यान सचेतनाले लैंगिक हिंसा न्युनिकरणमा ठुलो टेवा मिल्ने बताउनु भयो । जिल्लामा महिला माथि हुने हिंसा व्याप्त भएको भन्दै यसलाई अन्त्य गर्न विशेष योजनाका साथ अघि बढ्ने स्पष्ट पार्नु भयो ।
लैंगिक हिंसा न्युनिकरणमा महिला हिंसा विरुद्ध ३ सय ६५ दिने अभियान अन्तरगत न्यायमा पहुँच परियोजनाले सञ्चालन गरेको भिडियो भ्यान सचेतनामा महिला हिंसा विरुद्धको एक्यवद्धतामा सयौं जनाले हस्ताक्षर गरेका थिए । कार्यक्रममा महिला माथि हुने हिंसा, वालविवाह सम्बन्धि डकुमेन्ट्री समेत देखाईएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, अधिकारकर्मीहरु पुष्पा रेग्मी, माधुरी श्रेष्ठ , मिना परियार, रामदयाल ठाकुर लगायतले जिल्लामा पहिलो पटक भएको भिडियो भ्यान सचेतना कार्यक्रमलाई जिल्ला भर विस्तार गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
मानवअधिकार र सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन ) को आयोजना , सञ्चारिका समूह नेपाल , न्याय तथा अधिकार संस्थाको सहकार्यमा न्यायमा पहुँच परियोजना सञ्चालन भएको छ । लैंगिक हिंसा अन्त्य गर्दै न्यायमा पहुँच पुर्याउन यस प्रकारका कार्यक्रम गरिएको परियोजनाका संयोजक रोशली पोख्रेलले जानकारी दिनु भयो । परियोजनाले कपिलवस्तु नगरपालिका , महाराजगञ्ज नगरपालिकाका विभिन्न वडामा कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
Comment Here!