-राजकुमार गोले-
काभ्रे ।साउनको उदासलाग्दो चर्काे घाम । हातमा साबेल र पिठ्युँमा दुधे बालक च्यापेर डोकोमा बालुवा र गिट्टी हाल्न भ्याइनभ्याई । उनलाई हेर्ने मान्छेले जिब्रो टोकिरहेका थिए । उनी हुन्, रामेछाप नगरपालिका–२ रामेछापकी ३० वर्षीया जानकी मगर, जसलाई ज्याला मजदुरी नगरी बिहान–बेलुकाको छाक टार्न धौधौ हुने गर्छ । ‘यसरी काम नगरे बाँच्न नै गाह्रो छ, गाउँको घर भूकम्पले लग्यो, बस्ने वास छैन,’ उनी भन्छिन्, ‘बनेपा आएर बसेको १० वर्ष भयो, अरू पेसा जानेकी छैन, त्यसैले घामपानी, हावाहुरी नभनी मजदुरी गर्नुपर्छ ।’
जानकी मजदुरी आफ्नो रहर नभएर बाध्यता भएको बताउँछिन् । भन्छिन्, ‘मलाई पनि सोखसँग खान, बस्न रहर थियो, तर बिहान–बेलुकाको छाक टार्न घर बनाउने ठाउँमा गएर काम गर्नुपर्छ ।’ उनी बिहानको झिसमिसेमै उठ्छिन् । त्यसपछि सुरु हुन्छ, उनको दिनचर्या । खाना पकाउने, जेठो छोरालाई स्कुल पठाउने र हतारहतार काममा जाने । बिहान उठ्नासाथ उनलाई त्यस दिनको रोजीरोटीको चिन्ता हुन्छ । बिहान उठेर एक वर्षीया छोरीलाई दूध खुवाउने समय पनि उनीसँग हुँदैन । बिहान ९ बजेदेखि बालकलाई पिठ्युँमा ओढ्नेले बाँधेर दिनभर उनी काममा व्यस्त हुन्छिन् । साँझपख घर पुगेपछि पनि उनलाई घरको कामदेखि फुर्सद हुँदैन ।
उनले यसरी ज्याला मजदुरी गरेको एक दशक पुगिसकेको छ । उनी मात्र होइन, उनका श्रीमान् दुर्गा मगर पनि ज्याला मजदुरी गर्छन् । साँझ–बिहानको छाक टार्न र दुई बच्चाको भविष्यका लागि आफूहरू दिनरात खटिएको उनीहरू बताउँछन् । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ ढुंगेधारामा डेरा गरी बस्दै आएका यी दम्पती कसैले ज्याला मजदुरीमा बोलाएनन् भने आफ्नो रोजीरोटी र बालबच्चाको भविष्य अन्धकार रहने बताउँछन् । ‘मैले चाहेर पनि आर्थिक अवस्था कमजोर भएका कारण पढ्न पाइनँ,’ जानकी भन्छिन्, ‘त्यही पीडा सम्झेर पनि छोरालाई बोर्डिङ स्कुलमा पढाइरहेकी छु ।’ उनका छोरा अहिले कक्षा ३ मा पढ्दै छन् । अब एक वर्षपछि छोरीलाई पनि विद्यालयमा पठाएपछि आफूहरू बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म ढुक्कले काम गर्न पाउने जानकी बताउँछिन् । उनीहरूका छोराछोरीलाई उच्च शिक्षा दिने इच्छा छ ।
‘नपढे हामीजस्तै मजदुर हुनुपर्छ, त्यसैले हामीले दुःख गरेर यी दुईको भविष्य बन्छ भने हामी जस्तोसुकै श्रम गर्न तयार छौँ,’ जानुका भन्छिन्, ‘यिनीहरूलाई कुनै दुःखमा नराखी पढाउनेतिर लाग्नेछौँ ।’ छोराछोरीको भविष्यका लागि पनि आफूहरू यस पेसा छाडेर अन्त मोडिन नसक्ने जानुका बताउँछिन् । उनले भूकम्पभन्दा अगाडि घर निर्माणको काम कम भए पनि भूकम्पपछि काम गर्न भ्याइनभ्याई भएको बताइन् । उनले काम गरेबापत दैनिक पाँच सयदेखि आठ सयसम्म पाउँछिन् ।
साभार : नयाँ पत्रिका दैनिक
Comment Here!