भरतपुर महानगरको मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित


प्रकाशित मिति :2017-08-05 22:01:23

महिला खबर

भरतपुर महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला निर्वाचित भएको छ ।

निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो ।

माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गरिन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।

मेयरमा बिजयी रेणु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जित हात पार्दा एमालेकी दिब्य शर्मा आचार्यले ३९ हजार ५२५ मत ल्याइन् ।

नवनिर्वाचित मेयर दाहालले महानगरको मेयर जित्नु आफ्नो लागि अत्यान्तै खुसीको क्षण भएको प्रतिक्रिया दिएकी छन्।

शनिबार राति मत परिणाम सार्वजनिक भएसँगै दाहालले भनिन्, ‘मलाई असाध्यै खुसी लागिरहेको छ र जिम्मेवारीबोध भएको महसुस भइरहेको छ।’

विजयी भएपछि पत्रकारहरुलाइृ संक्षिप्त प्रतिक्रिया दिँदै मेयर दाहालले भनिन्, ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’

चुनाव भएको झण्डै तीन महिनापछि रिजल्ट

भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । तर, परिणाम भने झण्डै तीन महिनापछि मात्र आएको छ । भरतपुर १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो । मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए ।

वडा नम्बर २० मा ज्ञवालीले ५६३ मत तिरेका थिए । २२१ मतको सामान्य अग्रता लिएर वडा नम्बर २० मा प्रवेश गरेका ज्ञवालीको अग्रता १६ सय मत गणना गरेपछि सकिएको थियो ।

काे हुन् रेणु दाहाल र पार्वती शाह ?

२०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन्। २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत भइन्।

प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव हुन्। दाहाल काठमाडौँका जिल्ला सहसचिव हुँदै हाल पार्टीको पोलिटब्यूरो सदस्य छन्।

चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् थिइन्। दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित  भएकी थिइन्।

दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो। हाल उनका एक छोरा र एक छोरी छन्। उनी भरतपुर महानगरपालिका–१० मा बस्दै आएकी छन्।

बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउँछिन्। नेपाली काँग्रेसको प्रभाव रहेको महानगरमा काँग्रेसकै समर्थन पाएपछि दाहाल प्रमुखमा विजयी  भएकी हुन्।

जिल्ला बाहिर बसेर राजनीति गर्दै आएकी दाहालका लागि चितवनको राजनीति भने नयाँ हो ।

यस्तै, विसं २०२४ भदौ ४ गते साविकको गुञ्जनगर गाविस–४ (भरतपुर महानगरपालिका–१८) मा जन्मिएकी उपप्रमुख शाहले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन्। बुबा कृष्णबहादुर शाह र आमा देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मिएकी शाहले कक्षा दश सम्मको अध्ययन गाउँमै गरेकी थिइन्।

प्रवीणता प्रमाणपत्र तह अध्ययनका क्रममा भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी शाह साविक भरतपुर नगरपालिका–१२ को तरुणदल अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हुँदै काठमाडौँमा गठित नारायणी–बागमती अञ्चलको सम्पर्क समितिको निर्वाचित अध्यक्षसमेत भएर काम गरिसकेकी छन्।

हाल उनी नेपाल महिला संघ, चितवनको अध्यक्ष हुन्। शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव जस्तो जिम्मेवारीसमेत वहन गरिसकेकी छन्। विसं २०६२/०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताएकी शाह नेपाली कांग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिसकेकी हुन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: