-पार्वती पाण्डे-
कपिलवस्तु । श्रीमती नेपालमा क्यान्सरको उपचार नपाएर छट्पटाउँदै छिन्, श्रीमान् उता साउदीको जेलमा । सुन्दा पनि चलचित्रको दृष्य झैं लाग्ने यो वास्तविकता कपिलवस्तुकी कमला पौडेलको परिवारको हो ।
वाणगंगा ४, डुंगा घर भएकी ३६ वर्षकी कमला पौडेलको पाठेघरमा क्यान्सर भएको छ । गत वैशाखदेखि लगातार पेट दुख्न नछोडेपछि उनलाई आफन्तको सहयोगमा चितवनको भरतपुरमा रहेको विपी कोइराला क्यान्सर अस्पताल लैजाँदा दोस्रो चरणको क्यान्सर भएको डाक्टरले पुष्टि गरेका हुन् । कमलाले भनिन्, ‘तल्लो पेट दुख्ने र रगत बग्न थालेपछि भरतपुर जाँदा क्यान्सर भएको थाहा पाएँ ।’ उपचारमा धैरै पैसा लाग्छ भनेपछि आफन्तले उपचार नगरी उनलाई कपिलवस्तु फर्काएका छन् ।
कमलाले थपिन्– ‘क्यान्सर लागेको मान्छे बाँच्दैन । भएको सम्पत्ति पनि भ्याएपछि अरु परिवारले के खान्छन् भन्दै फिर्ता ल्याए ।’ क्यान्सर रोग सरुवा रोग होइन । तर, उनलाई क्यान्सर भएको थाहा भएपछि छरछिमेक रोग सर्छ भनेर नजिक आउन छाडेका छन् । घरमा सानोतिनो काम गर्न सक्ने छोरालाई समेत छिमेकीले ‘रोग सर्छ आमाको नजिक नजाऊ’ भनिदिएपछि ठूलो छोरा समेत नजिक आउन छाडेको कमलाले बताईन् ।
कमलाको उपचार खर्च साथै हेरचाह गर्ने कोही छैन । रोजगारीको सिलसिलामा साउदी गएका श्रीमान् निलकण्ठ पौडेल उतै जेलमा छन् । उनलाई नेपाल झिकाउन कसैले पहल नगरिदिएको उनको गुनासो छ । कमलालाई श्रीमान् कुन मेनपावर कम्पनीमार्फत गएका हुन् पनि थाहा छैन ।
‘मलाई आर्थिक रुपले सहयोग गरि उपचार गर्ने कोहि भएन । श्रीमान् पनि साउदीमा जेलमा छन्’ कमलाले आँशु बहाउँदै भनिन् – ‘छोरा पनि रोग सर्छ भनेर नजिकै नआउने भयो ।’ सकी नसकी खाना बनाएर दिँदा छोरा खाना खान नजिक समेत नआउने गुनासो समेत उनले गरिन् ।
क्यान्सरबाट थलिएकी कमलाको अर्को समस्या पनि छ । कान्छो छोरा अपांग छन् । ९ वर्षका छोरा सागर हिँड्न र बोल्न सक्दैनन् । उनलाई खाना खुवाउनदेखि लिएर सबै काम अरुले गरिदिनु पर्छ । उनको सम्पत्तीको नाममा बस्ने बास र ३ कट्ठा जमिन बाहेक उनको अरु केहि छैन । अहिले कमलालाई आफ्नो भन्दा पनि चिन्ता श्रीमान र अपांग छोराको छ । श्रीमानलाई नेपाल झिकाउने र आफ्नो उपचारमा आर्थिक रकम जुटाईदिन उनले सरकार समक्ष आग्रह गरेकी छन् ।
Comment Here!