महिला खवर
कपिलवस्तु । कपिलवस्तु जिल्लाका सरोकारवालाले यौन हिंसाका घटना उजागर गर्न हिंसा प्रभावितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताएका छन् । उनीहरुले यौन हिंसा प्रभावितलाई हेय र भेदभाव गर्ने अवस्था नहटेसम्म यौन हिंसाका घटना उजागर नहुने बताएका हुन् ।
साथी संस्थाले तौलिहवामा आयोजना गरेको यौन हिंसाको रोकथाम जिल्ला परामर्श बैठकका सहभागीले सो बिचार व्यक्त गरेका हुन । संस्थाका जिल्ला संयोजक खगप्रसाद चापागाईले गत आर्थिक वर्षमा महिला बालबालिका कार्यालयमा यौनहिंसाका ५ वटा निवेदन आएको बताउनुभयो ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालयमा २० वटा जबरजस्ती करणी र १२ वटा करणी उद्योगका जाहेरी परेको छ । उहाँका अनुसार गतवर्ष जिल्ला सरकारी वकिल कार्यालयले १२ करणी मुद्दा र ११ उधोगका मुद्दा दर्ता भएको छ । साथै जिल्ला अदालतमा जबरजस्ती करणीका ३३ मुद्दा मध्ये १३ मुद्दा फर्छौट भएको र २० मुद्दा बाँकी रहेको तथ्याङ्क छ ।
जिल्लामा यौन हिंसाका घटना बढि भए पनि उजागर हुन नसकेको ईन्सेकका जिल्ला प्रतिनिधी नन्दराम पौडेलले बताउनुभयो । महिला तथा बालबालिका आफ्नै परिवार र समाजमै सुरक्षित नहुने हुनाले घटना अझ उजागर हुन नसकेको उहाँको भनाई थियो ।
जिल्ला अदालत बार एशोसियसन कपिलवस्तुका जिल्ला अध्यक्ष अमित श्रीवास्तबले अदालती प्रक्रियामा गोपनीयता सम्बन्धि नियमावली अनुसार नाम गोप्य राखिए पनि बन्द ईजलासका लागी जाने प्रभावितको पहिचान खुल्दा समस्या आएको बताउनुभयो । न्याय प्रति विश्वास नहुँदा अधिकांश यौन हिंसाका घटना उजागर हुन समस्या रहेको गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तबले बताउनुभयो ।
Comment Here!