भरतपुरकी मेयर रेणुको पहिलो निर्णयः महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क बहिरंग सेवा
महिला खबर
भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेणु दाहालले आइतबार साँझ पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट शुल्क निःशुल्क गर्ने निर्णय गरेकी छिन्। प्रमुख दाहालले जिल्लाको सरकारी अस्पताल भरतपुरमा उपचारका लागि आउने महिला र ६० वर्ष नाघेका पुरुषको टिकट निःशुल्क गर्ने निर्णय गरेकी हुन्।
भरतपुर अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ५५ हजार बिरामीले बहिरंग सेवा लिएका थिए। तीमध्ये ५५ प्रतिशत महिला र ज्येष्ठ नागरिक रहेको अस्पताल विकास समितिका सदस्यसमेत रहनुभएका भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए। जसका लागि वार्षिक रु ४१ लाख हाराहारी खर्च हुने उनको भनाइ छ।
साठी वर्ष तलका महिलालाई बहिरंग टिकट शुल्क ३० रुपैयाँ लाग्दछ भने ज्येष्ठ नागरिकलाई रु १५ लाग्दछ। प्रमुखले पहिलो सदर गरेको निर्णयमा बिरामीको सङ्ख्या बढ्न सक्ने भन्दै वार्षिक रु ५९ लाख ४० हजार खर्चको अनुमोदन गरिएको छ।
सो निर्णयको अनुमोदन गर्दै प्रमुख दाहालले महिलाको स्वास्थ्यका समस्यालाई आफूले राम्ररी बुझेको भन्दै महिलालाई उपचारको पहुँचमा ल्याउन बहिरंग टिकट निःशुल्क गरिएको बताइन्।
सपथ ग्रहण अघि चितवनमा बृहत विजयी ¥याली निकालिएको थियो । ¥यालीलाई सम्बोधन गर्दै कांग्रेस माओवादी गठबन्धनमा विजय दुई नेतृले प्राकृतिक सम्पदा र सुगमताका हिसाबले महत्वपूर्ण क्षेत्र भरतपुर पाँच वर्षमा नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
रेणु महानगरपालिकाकै पहिलो महिला मेयर हुन सफल भएको छ भने यो महानगरपालिका नेपालकै मेयर र उपमेयर दुवै महिला विजयी भएको नमुना महानगर बनेको छ ।
Comment Here!