-पार्वती पाण्डे-
कपिलवस्तु । जिल्लामा ७४ प्रतिशत भन्दा बढी बालविवाह हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । महिला तथा बालबालिका कार्यालय कपिलबस्तुले २०७३ मा गरिएको सर्वेक्षण अनुसार विवाहित जनसंख्याको ७४ दशमलव ५४ प्रतिशतले २० वर्ष उमेर नपुग्दै विवाह गरेको पाइएको हो । सोही सर्वेक्षण अनुसार सबैभन्दा धेरै बालविवाह १५ देखि १९ वर्ष उमेर समुहमा हुने गरेको छ । जसमा किशोरीको संख्या ९१ हजार ४ सय ६६ र किशोरको संख्या ६५ हजार ९ सय २२ रहेको छ ।
१० देखि १४ वर्ष उमेरमा विवाह हुनेमा किशोरीको संख्या ३५ हजार १ सय ६६ र किशोरको संख्या १४ हजार ४ सय ५ रहेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । त्यसैगरि, १० वर्ष भन्दा कम उमेरमा विवाह हुने बालिकाको संख्या ४ हजार ३ सय ८७ र बालकको संख्या एक हजार रहेको छ ।
कार्यालयका अनुुसार ५९.९४ प्रतिशतले १५ देखि १९ वर्ष भित्र, २३.०५ प्रतिशतले १० देखि १४ वर्षको उमेरमा र २.८७ प्रतिशतले १० वर्ष भन्दा कम उमेरमा विवाह गरेका छन् । वालविवाहको मुख्य कारण संस्कार, धार्मिक, सामाजिक बाध्यता, गरिबी, शिक्षाको कमी लगायत रहेको महिला तथा वालवालिका कार्यालयका प्रमुख कमला पौडेलले बताउनुभयो । अहिलेको मूलुकी ऐन अनुसार विवाह गर्ने केटा र केटीको उमेर २० वर्ष पुगेको हुुनुपर्छ । २० वर्ष मुनिको विवाहलाई बालविवाह ठानिनेछ । ऐन अनुसार दश वर्ष नपुगेकी विवाह गरे गराएमा ६ महिनादेखि तीन वर्षसम्म कैद र एक हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
त्यस्तै दश वर्षदेखि माथि चौध वर्ष नपुगेकी विवाह गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपियाँसम्म जरिवाना हुनेछ । चौध वर्ष देखि माथि २० वर्ष नपुगेको महिलाको विवाह गरे गराइएको पाइएमा ६ महिना कैद र दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।
Comment Here!