‘सुनिताको नामबाट चिनिदा गर्व लाग्छ’


प्रकाशित मिति :2017-08-11 13:58:00

–महिला खबर संवाद–

भनिन्छ हरेक श्रीमानको सफलतामा श्रीमतीको हात हुन्छ, श्रीमतीको सफलतामा पनि श्रीमानको त्यत्तिकै ठूलो भूमिका हुन्छ । यस्तै उदाहरण बनेका छन् चेलिबेटी (मानव) बेचविखन विरुद्धकी अभियान्त एवम् शक्ति समूहकी संस्थापक सुनिता दनुवारको दम्पती । १४ वर्षको उमेरमा भारतमा बेचिनुभएकी सुनिता नेपाल फर्किएसगैँ यसै अभियानमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको पुरस्कार समेत पाइसक्नुभएकी सुनिताको हरेक पाइलामा श्रीमानको साथ र सहयोग छ । उनै सहयोगी श्रीमान नृपसगँ महिला खबर संवाददाता सन्दिप विकले गर्नुभएको कुराकानी ।

 १४ बर्षकै उमेरमा बेचिन पुगेकी सुनिता जी स्वंमम् मानव वेचविखन विरुद्धको अभियानमा सक्रिय भै, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कार पाइसक्नुभएको छ, उच्चशिक्षा अध्ययन र पुस्तक पनि लेखिसक्नुभएको छ । श्रीमतीको प्रगति देख्दा कस्तो लाग्छ ?

आफ्नो श्रीमतीको प्रगतिमा कस्लाई खुसी लाग्दैन र ।  मेरो श्रीमतीको प्रगतिमा धेरै खुसी छु । उनीप्रति गर्व गर्छु । अझ धेरै प्रगति गरुन् भन्ने चाहन्छु । अझ ठूला – ठूला पुरस्कार जितुन् भन्ने चाहना छ । उसको मेहनत खेर गएको छैन । हरेक तबरबाट मैले उनलाई साथ दिदैँ आएको छु ।

 तपाई उदयपुरको सुनिता जी दैलेखको, भेट कसरी भयो ?

जब उनीहरु वि.स २०५२ सालमा भारतबाट पुर्नस्थापित भएर नेपाल आए । त्यसबेला ओरेक भन्ने संस्थामा आश्रय लिइरहेका थिए । त्यतिबेला म पनि काठमाडौं मै मंगलबजारमा काम गर्थे । मेरो दिदी उदयपुरको ओरेकको अफिसका काम गर्नेहुँदा  म ओरेकको अफिसमा प्रायः गइरहन्थ्ये ।

एकपल्ट मैले झ्वाट्ट सुनितालाई देखे । सुनिता उद्दार गरेर आएकी हुन् भन्ने मलाई थाहा थियो । पहिलो नजरमै उनलाई मन पराए । तर मन पराउँछु भनेर भन्न सकिन् । त्यहि सिलसिलामा सुनिता ६ महिनाको तालिम दिन उदयपुर गएकी थिइन् । म पनि उदयपुरमै थिए ।

सुनिता मेरो दिदीको साथी । उदयपुर हुँदा उनी मेरो घर जाने-आउने गर्थिन । मैले त काठमाडौंबाटै मन पराइसकेको थिए । झन् उदयपुरमा हुँदा मलाई प्लस प्वाइन्ट भयो । त्यहाँ हुँदापनि मुखले भन्न सकिन् । अनि पत्र पठाए ।
चिठी पत्रबाटै प्रेम भयो । तर परिवारलाई सुइको दिएनौं । म  दिदीलाई सुनितालाई पनि घरमा ल्याउनुभन्थे । दिदीले लिएर आउनुहुन्थ्यो । घरमा दुःख, सुःख गरेर पकाएको जे छ, हामी त्यही खान्थ्यौँ । त्यस बीचमा हाम्रो बारेमा कसैले शंका गरेनन् । पछि एक्कासी विहे गर्दा उहाँहरु झल्यास्स हुनुभयो । विहे गर्दा म २१ वर्षको थिए । सुनिता र मेरो उमेर  सँगसँगै जस्तो छ ।

सुनिताले शुरुमै भनेकी थिइन् ‘म बेचिएर आएको केटि, म सँग विवाह गर्दा समाजले तपाईलाई अर्कै किसिमले सोच्ला ।’ तर सवैभन्दा ठूलो कुरा मन रहेछ । मैले उनलाई मन देखि नै मन पराएको थिए । मेरै जिद्दीले हाम्रो विवाह भयो । हामीले चोखो माया गरेका थियौं । हाम्रो मन मिल्यो । विवाह पनि भयो ।

 त्यसबेला समाजले बेचिएकी महिला भनेर राम्रो नजरले हेर्ने थिएनन्, अझैपनि सोचाई परिवर्तन भएको छैन्, तर तपाईलाई उहाँसगै विवाह गर्न के कुराले प्रेरित गर्‍यो ?

समाजले धेरै लान्छना लगाए । कन्या केटाले बेचविखनमा परेकी केटी विहे गर्‍यो भनेर । फेरि हाम्रो अन्तरजातीय
विहे । कतिले आफ्नै जातको केटी विहे गर्नुको सट्टा साँवासँगै व्याज नै ल्यायो पनि भने । मलाई झन् इख जाग्यो । मेरो श्रीमतीले यो समाजमा केही गरेर देखाओस् भन्ने लाग्न थाल्यो । त्यो अहिले पूरा भएको छ ।

वि.स २०५२ सालतिर सुनिता लगायत अन्य बेचिएका, रोग लागेका युवतीहरु नेपाल फर्कदैछन् भनेर फर्किनुपूर्व नै पत्रपत्रिकामा व्यापक रुपमा छापिएको थियो । मैले पनि पढेको थिए । काठमाडौं फर्किएपछि झन् प्रत्यक्ष रुपमा सुनितालाई भेटे । उनको बारेमा पहिले नै सवै कुरा थाहा भएकाले झन् उनलाई साथ दिन पाए राम्रो होला र मैले पनि मन पराएको मान्छेको साथ पाउनेथिए जस्तो लाग्यो । मलाई लाग्थ्यो दुःखमा परेको मान्छेले धेरै बुझ्ने र गर्न सक्ने हुन्छन् । सुनिता त्यस्तै छिन् ।

२०५४ सालमा हाम्रो प्रेम विवाह भयो । विवाहपछि एक वर्षसम्म हामी घरपनि गएनौं । सुनिताको नागरिकता बनाउने उदयपुर जाँदा पनि अन्तै बस्यौं  । एक्कासी सुनितालाई घर लगे भने घरका मान्छेले केही भन्दिएलान र उनको मनमा झन पिडा थपिएला भन्ने चिन्ता मलाई थियो । म उनलाई कतै पनि अपमानित भएको देख्न सक्दैन्थे ।

 विवाह भएको दुई दशक भैसक्यो, यो बीचमा सम्बन्धमा कुनै खटपट आयो कि आएन ?

सहयात्रा लामै भैँसक्यो । कहिलेकाही भनाभन त भइन्छ । तर हामीबीचमा झैँ–झैगडा भनेर त्यस्तो ठूलो केही भएको छैन । कहिलेकाही भनाभन हुँदा झन माया बस्दो रहेछ । हल्का भनाभन हुन्छ, त्यो भनाभन मायामा परिणत हुन्छ । तछाड मछाड गरेर ठूलो झगडा अहिलेसम्म भएको छैन ।

 सुनिता जीको अहिले लोभ लाग्दो प्रगति छ, यो सफलतामा तपाईको भूमिका कस्तो छ ?

सुनिता नेपाल फर्किएपछि केही गरौं भन्ने सोच राखेकी थिइन् । मैले पनि समाजमा केही गरेर देखाऊ, भनेर हौसला दिइरहे ।
पहिले कसैले ६ हजार रुपैँया तलब खान्छ भन्ने सुनेपनि वाह कति धेरै तलब भन्थे । मेरो श्रीमतीको कहिले होला, त्यति धेरै तलब भन्थे । यति तलब खाने मेरो श्रीमती कहिले बन्छे भन्ने लाग्थ्यो । अर्को सुनितालाई पढ्ने इन्छा धेरै थियो । तर बच्चा भएकै कारण पढ्न सकेकी थिइनन् । उनको सफलताका लागि मैले हरेक चिजमा अगाडि बढ भनेर साथ दिए ।
हरेक कार्यक्रमहरुमा सहभागी होउन भन्ने सोच थियो । छोरी तीन महिना हुँदा समेत मैले छोरीलाई आफैले सम्हालेर उनलाई भैरहवा पठाए । त्यो बेला उनी तीन दिन कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन् । आमाको काख छोड्दा छोरी साह्रै रुन्थि । उनलाई पनि श्रीमानको साथ छ भन्ने लाग्यो होला । हौसला बढाउँदै गइन् । मलै उनको सफलतामा साथ दिदैँ गए ।

 उहाँले पढाइलाई कसरी बढाउनुभयो ?

मैले पनि विद्यालय शिक्षा भन्दा धेरै पढ्न सकिन् । सुनितालाई पढ्ने साह्रै रहर । हाम्रो विवाहपछि हामी दुवै ओरेकको कर्मचारी भएर जनकपुर गएका थियौं । जनकपुरमा रहँदा उदयपुरको एक जना चिनेको हेडमास्टरसँग भेट भयो । भेटमा उहाँलाई मैले सुुनितालाई पढ्नका लागि सर्टिफिकेट बनाउन आग्रह गरे । उहाँले छ कक्षा पासको सर्टिफिकेट बनाइदिनुभयो ।

एक वर्षपछि हामी त्यहाँबाट काठमाडौं आयौं । छोरीपनि दुई वर्षकी भइसकेकी थिइन् । सुनितालाई सात दोवाटो स्कूलमा सात कक्षामा भर्ना गराए । आठसम्म सातदोवाटोको प्रोरणा महिला विद्यालयमा पढिन् । त्यसपछि ९ सम्म ज्ञानज्योति महिला विद्यालय मित्रपार्क र १० रौतहटबाट पढिन् र त्यहिबाट २०६६ मा एसएलसी पास गरिन् ।  अहिले व्याचलर पढ्दै छिन् ।

 आफूलाई श्रीमतीको नामबाट चिनिदा कस्तो लाग्छ ?

श्रीमतीको नामबाट चिनिन् पाउँदा म आफूलाई गर्व महशुस गर्छु । किनकी सुनितालाई विवाह गर्दा मलाई समाजले धेरै कुरा भनेका थिए । जुन मान्छेले मलाई घृणाको तरिकाले हेर्थे, ती मान्छेको मुखमा अहिले बुझो लागेको छ । मलाई समाजमा बेचविखनमा परेकी केटीसँग विहे गरेको भनेर धेरैले नराम्रोसँग भनेका थिए ।

त्यो बेला मैले सोचेको थिए, तिमिहरुलाई एक दिन देखाउने दिन पक्कै आउँछ भनेर । त्यो चाहाना पुरा भएको छ । अहिले तीनै मान्छेहरु नृपले राम्रो केटी विहे गरेछ । वाह, वाह भन्ने पनि छन् ।
पहिले घृणा गर्ने गाउँलेहरु अहिले मलाई भन्दा सुनितालाई बढि माया गर्छन् । आदार– सत्कार गर्छन् । यो भन्दा खुशीको कुरा के हुन सक्छ र ।

सुनिता जी राम्री पनि हुनुहुन्छ, धेरैजसो घर बाहिरै हिँड्नुहुन्छ, विदेशपनि जानुहुन्छ, कतिले मन पराएका होलान्, फोन म्यासेज आउँछन् होला, कति शंका गर्नुहुन्छ ?

हा, हा शंका गर्नु मान्छेको स्वभाव नै  हो । श्रीमतीलाई पनि हुन्छ । फेसवुकमा गफ गरिराखेको छ भने कहिलेकाही किन बोलिराखेको भन्ने पनि हुन्छ । शंका गर्नु एउटा राम्रो त राम्रै हो । तर यतिसम्म शंका गर्नुपर्छ कि त्यो शंकाले घरपरिवार नविग्रियोस् । घरपरिवार राम्रो बनोस् । शंकालाई राम्रो तरिकाले बुझ्यो भने परिवार राम्रो हुन्छ ।

शंका शंकैमा त यस्तो, ऊ यस्तो भन्न थाल्यो भने घरपरिवार नै विग्रिन्छ । नाता पनि रहदैँन । अन्त्यमा सम्वन्ध विच्छेद हुने सम्मको स्थिती आउन सक्छ । त्यसैले शंका गर्नुपर्छ तर सिमित ठाउँमा । शंकालाई माया सँगसगैँ पनि लैजानुपर्छ । माया र शंका सँगसगैँ भयो भने त्यति असर पर्दैन ।

 विगतमा श्रीमतीले घर समाल्ने श्रीमान बाहिर हेर्ने गर्थे । अहिले अवस्था फेरिएको छ । तपाई घर समाल्दै हुनुहुन्छ श्रीमती बाहिरा । कसरी मिलाउनुहुन्छ ?

मेरो पनि आफ्नै विजनेश छ, व्यापार गर्छु । तर उनको जिम्मेवारी ठूलो छ । प्रायः उनी घर बाहिरै अफिस, कार्यक्रममा नै व्यस्ता हुने हुँदा घर व्यवहार मैले नै धानी राखेको छु । घरमा नुन सकियो भनेपनि सुनितालाई थाहा हुँदैन । सबै मैले नै सम्हाली राखेको छु । कुन पैसा कहाँ खर्च गर्ने भन्ने पनि उनलाई थाहा छैन । घरमा भएको बेलामा मासु किनेर पकाइदिन्छिन्  । तर हामीबीचमा समझदारी छ ।

 तपाई र तपाईको श्रीमतीको दैनिकी कसरी शुरु हुन्छ ? के के गर्नुहुन्छ ?

मलाई पाँच बजे नै निन्द्राले छाेड्छ । हातमुख धोएर, चियानास्ता गरि विहानै छोरीलाई कलेज पुर्याउन जान्छु । फर्किएपछि पसल खोल्छु । दिउँसोको खाना होटेलमै खान्छु ।

 उनी पनि ६ बजे उठ्छिन् । कहिले त विहानैबाट मिटिङ सुरु हुन्छ । उनी हिँडिसकेकी हुन्छिन् । घरमा हुँदा खासै काम त हुँदैन । घर भएको बेला घरको सरसफाई गर्ने, खाना पकाउँछिन् ।

 कहिलेकाही श्रीमतीसँग घम्न जान पाए हुन्थ्यो जस्तो लाग्दैन ?

लाग्छ नि । तर उनको फुर्सद हुँदैन । चन्द्रागिरी जाने भनेको एक वर्ष भयो तर जाने मौका मिलेको छैन । छोरी रिसाएर चौपट छ । जाने प्लान बनाएका हुन्छौ । फेरि सुनिता व्यस्त हुन्छिन् । उनको सेडुल पहिलै बनि सकेको हुँदोरहेछ ।
कहिलेकाही विदेशबाट फर्किदा एयरपोर्टबाट हामी सुर्केस बोकेर आउँछौ । उनी उतैबाट कार्यक्रममा गएको हुन्छिन् । कहिले यो दिन घुम्न जाऊ भन्दा मेरो त कार्यक्रम प्याक छ भन्छिन् । अनि के जाने ।

सुनिता जी यो अवस्थामा आइपुग्न तपाईको साथ छ । अझै केही सपना छन् कि ?

श्रीमतीलाई यहाँसम्म ल्याउन मैले धेरै हौसाला दिए । यदापि उनको आफ्नै मेहनत र लगाव पनि हो । उनको पढ्ने चाहना छ । अब पिएचडि गरेर नामको अगाडि डाक्टर लेखोस् भन्न चाहन्छु । अर्को बेचविखनमा परेकी एउटी महिला सभासद् बन्नोस् भन्ने चाहना छ । जिल्लाका मान्छेहरुले पनि सुनितालाई राजनीतिमा आए हुन्थ्यो भन्ने चाहन्छन् ।

श्रीमतीको राम्रो पक्ष र नराम्रो पक्ष के लाग्छ ?

सुनिता झुटो कुरा बोल्दिनन् । यदि उनले झुटो कुरा बोलेको भए हाम्रो सम्बन्ध नै टुट्थ्यो होला  । हाम्रो विवाह हुनुभन्दा पहिले पनि उनले म यस्तो ठाउँमा गएर आएको हो भनेर ढाट्न सक्थिन होला । ढाटिनन् । सबै मसँग यथार्थ भनिन् । उनीसगँ विहे गर्दा धेरै समस्या पर्न सक्छ त्यो सामना गर्न सक्छ कि सक्दैन भनेर पहिल्यै भनेकी थिइन् । अहिलेपनि ऊ सत्य कुरा बोल्छिन् । झुटो कहिल्यै बोल्दिनन् । लिडरसिप राम्रो छ उनको । त्यो काम गर्छु भनेपछि गरेर छाड्छिन् । नराम्रो पक्ष खासै देखेको छैन ।

एउटा श्रीमतीको सफलताका लागि श्रीमानले के के कुरामा सहयोग गर्नुपर्दोरहेछ ? 

श्रीमान श्रीमती दुवैको सफलताका लागि एकले अर्कालाई राम्रो भूमिका निभाउनै पर्छ । जस्तो श्रीमती कुनै कार्यक्रममा जाँदैछिन् भने त्यहाँ नजाऊ भनेर श्रीमानले रोक्नुहुँदैन । राम्रो काममा दुवैले हौसला दिनुपर्छ । विश्वास सवैभन्दा ठूलो कुरा हो । एकले अर्काको कुरा सुन्नुपर्छ । बुझ्नुपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: