–महिला खबर–
काठमाडौं । काठमाडौं महानगरपालिका, ३१ की दलित महिला सदस्य रीना नेपालीले काठमाडौंमा विद्यमान जातीय छुवाछुत अन्त्य गर्ने बताएकी छिन् ।
जातकै कारण कोही विभेदमा परे कानुनी रुपमै दण्ड दिनका लागि आफुले पहल गर्ने उनले बताइन् । महिला खबरसंगको कुराकानीमा उनले उम्मेदवारी दिदाँ नै जातीय विभेदमुक्त वडा बनाउने एजेण्डा लिएकाले सो प्रतिवद्धता पुरा गर्ने बताइन् ।
‘मैले जातीय छुवाछुत अन्त्य गर्छु भनेर नै उम्मेदवारी दिएकी थिए । अब, जातीय आधारमा कोही माथि विभेदमा परे कानुनी रुपमै दण्डसजाय दिनको लागि जोड दिनेछु’ –रिनाले भनिन् ।
रिना जस्तै काठमाडौंका अन्य वडाका दलित महिला सदस्यले पनि जातीय विभेद विरुद्धको कार्यक्रमलाई जोड दिएको बताएका छन् ।
वडा नंं १९ बाट वडा सदस्यमा विजयी उम्मेदवार रन्जीता परियारले पनि जातीय विभेद समाजको कलंकको रुपमा रहेको बताउँदै सो विभेद हटाउन जनचेतनामुलक र शैक्षिक कार्यक्रम लागू गर्ने बताइन् ।
शहरी क्षेत्रमै जातीय विभेद कायम रहेको भन्दै शिक्षा र चेतना विना जातीय विभेद हट्न नसक्ने उनको बुझाई छ ।
‘काठमाडौं जस्तो ठाउँमा पनि दलित माथि विभेद छ । दलित भएकै कारण कोठा नपाउँने जस्ता समस्या कायमै छ । यसलाई अन्त्य गर्न मैले आफ्नो वडामा शिक्षा र जनचेतनामुलक कार्यक्रममा जोड दिन्छु’ रन्जीताले भनिन् ।
त्यसैगरी काडमाडौं वडा नम्बर १ र २८ का वडा सदस्य ललिता कार्की ढोली र मिना सुनार पनि काठमाडौंमा बसोबास गर्ने मानिसको सोचमा रहेको छुवाछुत हटाउन पहल गर्ने योजना सुनाइन् ।
शोषित पीडित जनताले आफूप्रति गरेको विश्वास खेर जान नदिने वडा नं. २८ की दलित महिला सदस्य ललिता कार्की ढोलीले बताइन् ।
‘हामीलाई भोट दिएर जनताले जिताएका छन् । त्यसैले दलित माथि हुने गरेको भेदभाव अन्त्य गर्न मेलै पहल गर्ने छु । जातिय प्रथाका कारण महिला बढी विभेदमा परेकाले महिलालाई शिक्षा, चेतना र सिपमुलक कार्यक्रम ल्याउने छु’– ढोलीले भनिन् ।
‘म सानो छँदा दलित माथि हुने विभेद विरुद्ध आवाज उठाएको सुनेन । अब म उठाउँछु । म आफैभित्र पनि आत्मविश्वास बढेको छ । यसलाई
अन्त्य गर्न मैले शिक्षामा जोड दिएको छु र प्रौढ शिक्षा समेत सुरु गरेकी छु’ –काठमाडौं महानगरपालिका, १ की दलित महिला सदस्य मिना सुनारले भनिन् ।
काठमाडौंमा रहेको जातीय विभेद एक्लैको प्रयासले सम्भव नहुने भएकाले सबै दलित सदस्यको पहलमा मात्रै सम्भव हुने उनले बताइन् । यसको लागि सबै वडाका महिला सदस्यबीच समन्वय भइरहेको उनको भनाई छ ।
Comment Here!