-सर्मिला बुढाथोकी-
दोलखा । तामाकोसी गाउँपालिका १, भीरकोटकी सुनिता कार्कीकोे दैनिकी पढाईसँगै घरमा आमालाई काम सघाएर बित्ने गर्दथ्यो । तर अहिले उनको दैनिकी फेरिएकोे छ ।
भीमेश्वर आधारभुत विद्यालयमा कक्षा आठमा अध्ययन गर्ने सुनिता हिजोआज विद्यालय जानु अघि एक घण्टा आत्मारक्षा तालिममा सहभागी हुने गर्छिन् । तालिममा सहभागी भए पछिका दिनमा आफुमा निक्कै आत्मा विश्वास बढेको सुनिताको अनुभव छ ।
उनी भन्छिन्– कराँते सिक्नु अघि आफुलाई निक्कै कमजोर ठान्थे । तर अहिले आफु र आफ्नो अगाडि हुने आक्रमणको डटेर प्रतिकार गर्न सक्छु भन्ने आत्मा विश्वास बढेको छ ।
तामाकोसी गाउँपालिकाकै सरिता कटुवाल पनि आत्मारक्षा तालिममा छिन् । नारायणी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने सरिता छोरीहरुले आत्मारक्षा
तालिममा लिएपछि छोरालाई मात्र बलियो सम्झने हाम्रो समाजको धारणा परिवर्तन हुने दाबी गर्छिन् । उनी भन्छिन्– आत्मरक्षा तालिमले छोरी मान्छेलाई घरबाट निस्कँदा सधै साथी लिएर हिँड्नु पर्छ भन्ने भावनाको अन्त्य गर्न सघाउँछ भन्ने अपेक्षा गरेकी छु ।
न्यायमा पहुँच परियोजना अन्तर्गत मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल ९ईह्रिकन० को आयोजना, सञ्चारिका समुह नेपाल र न्याय तथा अधिकार संस्थाको सहकार्यमा आत्मरक्षा तालिम सञ्चालन भएको हो । दोलखाको तामाकोशी गाउँपालिकाको जफे र भिरकोटमा सञ्चालित तीन महिना चल्ने आत्मारक्षा तालिममा २५ जना किशोरीको सहभागिता रहेको जुरी नेपालकी जिल्ला संयोजक शर्मिला चौहानले जानकारी दिनु भयो ।
तालिमकी प्रशिक्षक सुस्मिता काफ्ले किशोरीहरुले आत्मारक्षाको तालिम लिँदा शारीरिक तन्दुरुस्ती हुनका साथै समाजमा सकरात्मक प्रभाव पार्ने बताउँछिन् । गाउँघरमा यस्तो तालिमको आयोजना गर्दा हरेक महिलाहरुको आत्मावल बढ्नुका साथै महिलामाथि हुने हिंसाको प्रतिकार गर्न र हिंसा नियन्त्रण गर्न सहयोग पुग्ने प्रशिक्षक सुस्मीताको भनाई छ ।
Comment Here!