शान्ता कमली
लमजुङ । महिला तथा वालबालिका कार्यालय लमजुङमा पछिल्लो समय घरेलु हिसांका घटनाका उजुरी बढ्न थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकले महिलाहरु हिंसालाई आफैभित्र दवाएर राख्ने गर्देथे । जसका कारण घरेलु हिंसा घटना बाहिर आउन सकेका थिएनन् । महिला विकास अधिकृत विष्णु कुमारी लामिछाने भन्छिन–‘अहिले महिलाहरुमा चेतनाको विकास भएसँगै हिंसाका घटनाहरु बाहिर आउन थालेका छन् ।’
उजुरीको आधारमा मात्रै विगतमा हिंसा नभएको र अहिले बढेको नभई अहिले हिंसा सहनुहुदैन, न्यायका लागि उजुरी गर्नुपर्छ भन्ने चेतना महिलाहरुमा आएको लामिछाने बताउछिन् । ‘पहिले झनै धेरै घटनाहरु ह्ुन्थे बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटनाहरु ख्ुालेर आउँन थालेका छन् । महिला दिदी बहिनीहरुमा हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाका विकास भएको छ । यसलाई हामीले सकरात्मक लिनुपर्छ ।’
लमजुङमा महिला तथा वालबालिका कार्यालयमा दर्ता हुने उजुरीमा धेरैजसो घरेलु हिंसा र यौन हिंसाका घटनाहरु दर्ता हुन आएको कार्यालयले जनाएको छ । महिलामाथि हुने हिंसा शिक्षित परिवारमा समेत हुने गरेको उनले बताए ।
प्रहरीका अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा ६६ वटा हिंसाको उजुरी परेको छ । जसमध्ये घरेलु हिंसाको ४५ र ठाडो उजुरी २१ वटा प्रहरी कार्यालयमा आइपुगेको छ । ६६ मध्ये ४६ वटा हिंसाको मिलापत्र भएको र ५ वटा अदालती प्रक्रियामा गएको प्रहरी कार्यालयको महिला सेलले जनाएको छ ।
आर्थिक बर्ष २०७२÷७३ मा १ सय २६ उजुरी परेको थियो । जसमा ७७ वटा घरेलु हिंसा र ४९ वटा ठाडो उजुरी परेकोे जिल्ला प्रहरी कार्यालय लमजुडका महिला सेल प्रमुख नन्दु अधिकारी बताइन् । महिला सेलमा परेका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा, बहु विवाह लगायतको घटना रहेका छन् ।
पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रुपमा देखा परेको छ । बैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको सङ्ख्या बढेसँगै घरेलु हिंसाको घटनापनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले बताए । श्रीमान घर नभएकाले महिलाहरु परपुरुषको सम्पर्कमा रहनाले हिंसामा पर्ने तथा पारिवारिक स्थितिमा कटुता आउने कारणले पनि घरेलु हिंसाको घटना बढ्न थालेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक खरेलले बताए ।
Comment Here!