महिलामा रक्तअल्पता, गम्भिर स्वास्थ्य समस्या


प्रकाशित मिति :2017-08-13 14:43:52

 विश्व स्वास्थ्य संगठनको मापदण्डले लक्षित समुहको जनसंख्या मध्ये २० प्रतिशतलाई मात्र रक्तअल्पता भए त्यसलाई जनस्वास्थ्य समस्या मान्नुपर्ने उल्लेख छ । नेपालमा ४१ प्रतिशत महिलामा रक्तअल्पता छ । विश्व स्वास्थ्य संगठन कै मापदण्डलाई हेर्दा नेपालमा महिला तथा बालबालिकामा रक्तअल्पता जटिल समस्याका रुपमा रहेको छ । 

–सविता श्रेष्ठ –

काठमाडौं । चितवन मेघौलीकी १६ वर्षीया दीपा महतोलाई रक्तअल्पता भएको छ । उनको शरीरमा रगतको कमी भएको परिवारलाई पहिले थाहा भएन । जण्डिसको लक्षण देखिएपछि उनलाई उपचार गरियो । तर, लामो समयसम्म जण्डिस निको भएन ।

लामो समयसम्म निको नभएपछि डाक्टरको सल्लाहमा छोरीको रगत परीक्षण गराउँदा उनको शरीरमा रगतको कमी भएको थाहा पाएको बाबु हरिबहादुरले बताए । त्यसबेला दीपा ८ वर्षकी थिइन् ।

रक्तअल्पता अन्तर्गत पनि उनलाई आमाबाबुको जीनबाट बच्चामा लाग्ने आनुवांशिक रोग सिकल सेल एनिमिया भएको छ । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि सिकल सेल एनिमिया लाग्छ । कक्षा ११ मा पढ्ने दीपालाई २५ दिनको फरकमा रगत दिने गरेको हरिबहादुर बताउँछन् । रगत चढाउँदा पनि दिपाको शरीरमा हेमोग्लोबिनको मात्रा ८ मात्र हुन्छ । स्वस्थ्य व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा ११ देखी १४ ग्राम पर डिसेलेटर हुनुपर्छ ।

दीपा किशोरी उमेरमा पुगेपनि महिनावारी भएको छैन । महिनावारी नहुनुको कारण पत्ता लगाउन स्वास्थ्य जाँच गराउँदा शरीर कमजोर भएका कारण नभएको डाक्टरले बताएको हरिबहादुरले बताए । “छोरीको शरीर बलियो बनाउनु भनेकै नियमित रगत चढाउनु हो” उनी भन्छन्, “परिवारमा अरु कसैलाई नदेखिएको रोगले सताएको छ ।”

सामान्य भाषामा शरीरमा रगतको मात्रा कम हुनुलाई रक्तअल्पता (एनिमिया) भनेर बुझिन्छ । हेमोग्लोबिनले शरीरको सम्पूर्ण ठाउँमा अक्सिजन बाँड्ने काम गर्छ । हेमोग्लोबिन कम भयो भने शरीरमा अक्सिजनको कमी हुन्छ । शरीरमा पोषक तत्वको अभाव हुँदा, महिनावारी हुँदा, चोट पटक तथा रोग लाग्दा शरीरबाट रगत बगेर जाँदा तथा रोगका कारण शरीरमा हेमोग्लोबिन कम हुँदा नसक्दा एनिमिया हुने क्लिनिकल हेमोटोलोजिष्ट डा. विशेष पौड्याल बताउँछन् ।

“एनिमिया आफंैमा रोग नभई रोगको लक्षण हो” उनले भने, “खानपानको कमीदेखि लिएर रगतको क्यान्सरसम्मले हेमोग्लोबिनको मात्रा घटबढ भएको पाइन्छ ।” शरीरमा आइरनको कमीले हुने मेडिकल भाषमा आईरन डिफिसेन्सी एनिमिया, बोनम्यारोले शरीरमा पर्याप्त मात्रामा रक्तकोशिका निर्माण गर्न नसक्दा हुने एप्लास्टिक एनिमिया हुन्छ ।

शरीरमा रातो रत्तकोश नष्ट हुँदा हुने हेमोलाईटिक एनिमिया, रगतको विकार र रातो रक्तकोशिकाको अभावमा हुने थालेसेमिया, हेमोग्लोबिनको कमी र रक्तकोशिका हसिया (सी) आकारमा बदलिएर रक्तसञ्चारमा बाधा हुँदा हुने सिकल सेल एनिमिया र भिटामिन बी १२ को अभावमा हुने मेगालोब्लास्टिक एनिमिया लगायतका रक्तअल्पता हुने गरेको डा. पौड्याल बताउँछन् ।

रक्तअल्पताको बिरामीहरुको संख्या तुलनात्मक रुपमा हेर्दा धेरै नेपाली महिलालाई रक्तअल्पता भएको पाईन्छ । आईरन डिफिसेन्सी एनिमियाबाट धेरै महिला पीडित हुने गरेको डा. पौड्याल बताउँछन् । प्रजनन उमेर समुहका महिलामा यो रक्तअल्पता बढी पाईने गरेको छ । महिनावारी हुँदा शरीरबाट रगत बगेर जाने हुँदा पनि आईरन कम भएर रक्तअल्पता हुने गरेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले गरेको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलामा रक्तअल्पता पाईको छ । जुन सन् २०११ मा गरिएको सर्वेक्षणको भन्दा ६ प्रतिशत बढी रहेको छ । यस्तै, ७ प्रतिशत महिलामा सामान्य रक्तक्षीणता (रक्तअल्पता) ०.३ प्रतिशत महिलामा त अत्यधिक रक्तअल्पता पाईएको हो । ४६ प्रतिशत गर्भवती महिला, स्तनपान गराईरहेका ४५.६ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ ।

सर्वेक्षणका अनुसार ग्रामीण भेगका ४२.७ र सहरी क्षेत्रमा ३९.६ प्रतिशत महिला रक्तअल्पताबाट पीडित छन् । भने, तराई क्षेत्रका ५१.९, पहाडी क्षेत्रका २८.९ र हिमाली क्षेत्रमा ३५.४ प्रतिशत महिलामा रक्तअल्पता पाईएको छ । सबैभन्दा धेरै प्रदेश नं. २ का ५७.८ प्रतिशत महिलालाई रक्तअल्पता भएको तथ्याङ्कले देखाउँछ ।

सन् २०११ मा ३५ र सन् २००६ मा गरिएको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणमा ३६ प्रतिशत महिलालाई रक्तअल्पत्ता भएको पाईएको थियो । यस्तै, सर्वेक्षणका अनुसार ५३ प्रतिशत बालबालिकामा रक्तअल्पता रहेको छ । २६ प्रतिशतमा रक्तक्षीणता (रक्तअल्पता) र ०.५ प्रतिशतमा अत्यधिक रक्तअल्पता पाईएको छ । सन् २०११ को सर्वेक्षण अनुसार ४६ प्रतिशत बालबालिकामा रक्तअल्पता भएकोमा १८ प्रतिशतमा रक्तक्षीणता रहेको थियो ।

उपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालकी वरिष्ठ विशेषज्ञ (सिनियर कन्सल्टटेन्ट) डा. मधु श्रेष्ठ अधिकांश गर्भवती महिलालाई रक्तअल्पत्ता हुने गरेको बताउँछिन् । “अधिकांश गर्भवती महिलाको शरीरमा हेमोग्लोबिनको मात्रा १० भन्दा कम नै हुने गरेको पाईन्छ” उनी भन्छिन्, “त्यसैले खानपान र आराममा ध्यान दिनुकासाथै सबै गर्भवती महिलाले आईरन चक्की खानुपर्छ ।”

गर्भकालमा आमाको शरीरबाटै बच्चाले आईरन लिने हुँदा पनि रक्तअल्पता हुन्छ । हेमोग्लोबिनको मात्रा ९ भन्दा कम भए रक्तअल्पताको कारण पत्ता लगाएर उपचार गर्नुपर्ने डा. श्रेष्ठ बताउँछिन् । गर्भवती महिलामा हेमोग्लोबिन ७ भन्दा पनि तल पुगे यसलाई रक्तअल्पताको गम्भीर अवस्था मानिन्छ । अस्पतालमा हेमोग्लोबिनको मात्रा २ मात्र भएका गर्भवती महिला समेत उपचारका लागि आएको उनले बताईन् ।

काठमाडौं दह चोककी २१ वर्षीय मनिसा थापा उपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा सामान्य सुत्केरी भएको भोलिपल्ट घर गईन् । एक सातापछि अस्पताल गएर स्वास्थ्य जाँच गराईन् । सुत्केरी भएको ११ औं दिनमा धेरै रगत बगेर असजिलो र कमजोर अनुभव गरेपछि पुनः अस्पताल आईन् । साउन २३ गतेबाट उनको प्रसुती गृहको मातृ सघन उपचार कक्षमा उपचार भैरहेको छ । शरीरबाट धेरै रगत बग्दा हेमोग्लोबिनको मात्रा ८.२ भएपछि उनलाई रगत दिएर उपचार गरिएको छ ।

गर्भ खेर जाँदा रगत धेरै बगेर रक्तअल्पता भएकी ३२ वर्षीय राधिका भट्टराईको पनि अस्पतालमा उपचार भइरहेको छ । हेमोग्लोबिनको मात्रा ४ भन्दा कम भएपछि राधिकालाई पनि रगत दिएर उपचार गरिएको हो । रक्तअल्पताले गर्भवती तथा बच्चा जन्माईसकेका महिलामा स्याँ स्याँ हुने, चक्कर लाग्ने, खुट्टा सुनिने जस्ता स्वास्थ्य समस्या देखापर्छन् । गर्भवस्थाको रक्तअल्पताले बेहोश हुने, महिना नपुग्दै व्यथा लाग्ने, अधिक रक्तस्राव हुने लगायतका गम्भिर समस्या पनि हुन्छ । गर्भवती महिलाको शरीरमा नै आईरन कम हुन्छ । बच्चाले पनि आमाको रगतबाट आईरन लिन्छ । त्यो हिसाबले पनि गर्भवती महिलाले आईरनयुक्त खानेकुरा खानुपर्ने डा. श्रेष्ठ बताउँछिन् ।

महिलाहरुमा हुने लाज पनि रक्तअल्पताको अर्को समस्या भएको छ । किशोरी उमेरमा पुगेपछि नियमित महिनावारी चक्र सुरु हुन्छ । महिनावारीका बेला शरीरबाट रगत बगेर जाने भएकोले पनि शरीरमा रगतको कमी भएर रक्तअल्पता हुने डा. विशेष पौड्याल बताउँछन् । महिनावारीमा रगत धेरै जाँदा शरीरमा आईरनको कमी भएर हेमोग्लोबिन कम हुन्छ । महिनावारीका बारेमा खुलेर कुरा नगर्ने, शरीरबाट बग्ने रगतको मात्राका बारेमा जानकारी नहुँदा पनि महिलाहरु रक्तअल्पता भएर घरमै बसिरहेका हुन्छन् । “कति रगत बग्नु सामान्य र कति असामान्य हो भन्ने थाहा हुँदैन” उनी भन्छन्, “परिवारमा अरु सदस्यको पनि बढी रगत जाने भए सबैलाई सामान्य लाग्न सक्छ ।”

लमजुङ सुन्दर बजारकी २३ वर्षीय बिनिता सेवा १२ वर्षको हुँदा पहिलो पटक महिनावारी भईन् । नियमित महिनावारी हुनमा १७ वर्ष पुगेपछि महिनावारीमा गड्बढी हुन थाल्यो । दुई महिना जतिको फरकमा महिनावारी हुन थाल्यो । महिनावारी भएपछि एक महिनाजसो रगत बग्ने समस्या देखियो । “कमजोर महशुस हुने, हात खुट्टा लुलो हुने, सुतिराख्न मात्र मन लाग्ने हुन्थ्यो” उनले बताईन् । लामो समयसम्म रगत बग्ने समस्या भएपनि उनले उपचार गराएकी थिईनन् । “धेरै दिन हुँदा रगत बग्न रोक्ने औषधी किनेर खान्थे” उनले भनिन्, “विस्तारै पहिले जस्तै हुन्थ्यो ।”

६ महिना अघि विवाह गरेकी उनलाई श्रीमानले कर गरेर उपचार गर्न काठमाडौं ल्याए । श्रीमानले महिनावारी नियमित नहुने, गडबढी हुनुकोे कारण पत्ता लगाएर उपचार गनुपर्छ भनेपछि महिला डाक्टर भएको अस्पतालमा मात्र जँचाउने भनेर आएको बिनिता बताउँछिन् । “आफ्नो समस्या भन्न सजिलो हुने भएको यहाँ आएको” उपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल, थापाथली उपचार गराईरहेकी उनले बताईन् । स्वास्थ्य जाँचको क्रममा हेमोग्लोविनको मात्रा ४.४ मात्र पाएपछि विनितालाई भर्ना गरेर उपचार थालिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डले लक्षित समुहको जनसंख्या मध्ये २० प्रतिशतलाई मात्र रक्तअल्पता भए त्यसलाई जनस्वास्थ्य समस्या मान्नुपर्ने उल्लेख छ । विश्व स्वास्थ्य संगठन कै मापदण्डलाई हेर्दा नेपालमा महिला तथा बालबालिकामा रक्तअल्पता जटिल समस्याका रुपमा रहेको छ । सरकारले दुई वर्ष अघि सिकल सेल एनिमियालाई ८ वटा परिभाषित ‘कडा रोग’ भित्र राखेर देशभरका ९ वटा अस्पतालमा निशुल्क उपचार सेवा उपलब्ध गराएको छ ।

सरकारले बालबालिका, किशोरी र गर्भवती महिलालाई लक्षित गरि खानपान तथा खानपानका शैलीका कारणले हुने न्युट्रेसन डिफिसेन्सी एनिमिया कम गर्न कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य महाशाखाको पोषण शाखाका जनस्वास्थ्य अधिकृत दुर्गा दास उलक बताउँछन् । ६ महिनादेखि २ वर्षसम्मको बच्चालाई बालबिटा खुवाईन्छ । १० देखी १९ वर्षसम्मका किशोरीका लागि अघिल्लो वर्षबाट आईरन चक्की खुवाउने कार्यक्रम २५ वटा जिल्लामा सञ्चालन गरिएको छ । गभर्वती महिलाका लागि पनि आईरन चक्की सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

रक्तअल्पताले मानिसलाई सुस्त बनाउने डा. विशेष पौड्याल बताउँछन् । लामो समयसम्म एनिमिया भैरहँदा मुटुको रोग हुने, दिमाग साथै शरीरका अरु भाग तथा अंगहरुमा पनि असर गर्ने उनले बताए । त्यसैले रक्तअल्पता लक्षण देखिएमा स्वास्थ्य जाँच गराउनुपर्छ । “रक्तअल्पता किन र के कारण भयो भनेर पत्ता लगाउनुपर्छ” उनी भन्छन्, “त्यसपछि त्यो कारणको उपचार थालेर रक्तअल्पता घटाउनुपर्छ ।” भिटामिन वा आईरनको कमीले आईरन, भिटामिन बी १२, फोलिक एसिड भएका खानेकुरा खानुपर्छ । शरीरको अरु रोगका कारण भएको भए त्यसको उपचार गर्नुपर्ने डा. पौड्याल बताउँछन् ।

(सविता श्रेष्ठ हिमाल खबर पत्रिकामा कार्यरत हुनुहुन्छ । )

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: