-यमुना खनाल-
सिरहा । सिरहाको राजमार्ग भन्दा दक्षिणका गाउँका गर्भवती मध्येका ५५ प्रतिशत महिलाहरु २० वर्ष मुनिका रहेका तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७३-२०७४ मा सिरहाका ग्रामिण स्वास्थ्य चौकी पर्सा पोखरभिन्डामा ९८ जना महिलाहरुले गर्भवत जाँच गराएका थिए । तिमध्ये ५६ जना महिला २० वर्ष मुनिका रहेका छन् । उनीहरु सबै पहिलो पटकको गर्भवती रहेका स्वास्थ्य चौकी पर्शा पोखरभिन्डाका ईन्चार्ज घुरन शाहले बताउनुभयो ।
२० वर्ष मुनिका आमा बनेका किशोरी मध्ये अधिकांश १७ र १८ वर्षका रहेका ईन्चार्ज शाहले जानकारी दिनु भयो । छोरीलाई पढाउने भन्दा कम उमेरमा विवाह गरिएर बोझ पन्छाउने अभिभावकको सोचले किशोरीहरुको सानैमा विवाह हुने शाहले बताउनुभयो ।
अर्कोतिर तराइमा व्याप्त दहेज प्रथाका कारण पनि किशोरावस्थामा नै विवाह हुने गरेको रामपु पिप्राकी राजवती मन्डलले बताउनुभयो । उहाँका अनुसार यहाँका आमाबाबुले पढाई लेखाई गरेर उमेर पुगेर छोरीको विवाह गर्दा दाइजो दिनुपर्ने सोच राख्ने गरेको हुनाले किशोरीहरुको चाँडो विवाह हुने गरेको हो । किशोरावस्थामा नै विवाह हुँदा महिलाले विभिन्न प्रजनन् स्वास्थ्य समस्या भोग्दै आएका छन् ।
Comment Here!