अन्तरजातीय विवाहः पीडामा महिला


प्रकाशित मिति :2017-08-14 10:34:21

–सन्दिप वि.क–

काठमाडौं । ताप्लेजुङकी २० वर्षीया कमला वि.कले गत माघमा उदयपुरका रवि श्रेष्ठसँग प्रेम विवाह गरिन् । विवाहपछि रविले कमलालाई आफ्नो घर लगेनन् । केही महिना तेह्रथुममा आफन्तसगैँ राखे । कमला अहिले गर्भवती छिन् ।
रविले साउन १३ गते गर्भवती कमलालाई धरानको एउटा होटेलमा राखेर आफू सम्पर्क विहिन बने । अलपत्र बनेकी कमलालाई धरानका महिलाहरुले उद्दार गरेर प्रहरी मार्फत पुनः रविलाई नै जिम्मा लगाए ।

प्रहरीले कमलालाई जिम्मा लगाएपछि रविले पहिलो पटक श्रीमतीलाई आफ्नो घरमा लगे, तर परिवारले स्वीकारेनन् । कमलाले भनिन्–‘वेपत्ता भएका श्रीमानलाई महिलाहरु र प्रहरीले सम्पर्कमा त ल्याइदिए, तर सासु सुसुराले तल्लो, नछुने जातको केटी ल्याएको भन्दै मलाई घरभित्र भित्र्याउन मानेनन् ।’

परिवारले नस्वीकारेपछि कमला अहिले धरानमै अन्टिको घरमा बस्दै आएकी छन् । परिवार र श्रीमानको साथ नपाएपनि नागरिकता बनाइदिन आग्रह गरेकी उनले नागरिकता समेत पाएकी छैनन् । ‘जहिले फोन  स्विच अफ गर्छन्, फोन लाग्यो भनेपनि जेसुकै गर् भनेर धम्कि दिन्छ । म यस्तो दुई जिउकी कता जाऊ ।’ कमलाले भनिन् । रवि बसका चालक हुन् ।

‘नागरिकता छैन’

ललितपुर धरासीकी सुन्तली परियारले अन्तरजातीय विवाह गरेको अहिले झण्डै २१ वर्ष पुग्न लाग्यो । १६ वर्ष हुँदा ललितपुरकै काना श्रेष्ठसँग अन्तरजातीय विवाह गरेकी ४८ वर्षीया परियारका १४ वर्षका छोरा छन् ।

श्रीमानले जेठी श्रीमती हुँदाहुदै उनलाई ढाँटेर विहे गरेको उनले बताइन् । सुन्तलीले भनिन्–‘उनी बस चलाउँथे । सम्बन्ध भएको दुई वर्षसम्म अर्को श्रीमती छ भनेर भनेन् । पछि मात्र थाहा पाँए, म छाँगाबाट झरेको जस्तै भए ।’

तल्लो जातको केटी भनेर उनलाई अहिलेसम्म एक पटक पनि घर लगेका छैनन् । विवाहपछि सुन्तली विदेशपनि गएकी थिइन् । विदेशमा कमाएको पैसा विश्वासले श्रीमानलाई दिए । तर अहिले उनी बेसाहारा बनेकी छिन् । श्रीमानले नागरिकता नबनाईदिँदा छोराको समेत जन्मदर्ता हुन सकेको छैन । कुनै उपाय नलागेपछि अहिले उनले दलित आयोगमा न्याय दिलाइदिन निवेदन दिएको बताइन् ।

‘श्रीमान वेपत्ता’

लमजुङ बेसिशहर नगरपालिका ११ कि मुना परियारको व्यथा पनि त्यस्तै छ । मुनाले गाउँमै रविन विकसँग १६ वर्षको उमेरमा प्रेम विवाह गरिन् । तर मुनाका ससुराले घरमा पस्न दिएनन् । रविनले मुनालाई गाउँमै अर्कै ठाउँमा राखे । रविन विवाहको १७ महिनापछि तीन महिनाको छोरी छोडेर कतार गए । रविन पाँच वर्षपछि नेपाल फर्कीए । तर रविन अहिलेसम्म मुनाको सम्पर्कमा आएका छैनन् ।

परियारको छोरी विवाह गरेको भन्दै सासु ससुराले घरभित्र पस्न नदिएको उनले बताइन् । श्रीमान विदेशबाट आउँदा ससुरा चिनबहादुर एयरपोर्टमै गएर श्रीमानलाई लुकाएको उनले बताइन् । मुनासँग विवाह दर्ता र छोरीको जन्मदर्ता पनि छ, तर घरपरिवारले अझैँ स्वीकारेका छैनन् ।

‘सम्वन्ध विच्छेद गर्न बाध्य’

लमजुङकै बेसिशहर नगरपालिका १० बाँझाखेत गाउँभाचोककी सम्झना तामाङले २०७३ असारमा गाउँकै असोक घिमिरेसँग विवाह गरिन् ।

विवाहपछि सम्झानालाई असोकले सदरमुकाम बेसिशहरमै डेरामा राखे । तर घरपरिवारको दवाद भन्दै गत फागुनमा असोकले पुनः दोस्रो विवाह गरे । तामाङले जिल्ला प्रहरी कार्यालयमा निवेदन त दिइन् तर असोकलाई कारबाही गरेन् । पछि गाउँमै मिलेमोतो भयो ।’

‘मलाई असाेककाे परिवारले साँढे तीन लाख रुपैँया त दिए तर मेरो जिन्दगी बर्बाद भयो, उनले भनिन्,– ‘गाउँमा कागज गर्दा समेत असोकलाई भेट्न दिएन ।’

‘सम्वन्ध विच्छेद गर्न दवाव’

कास्की भदौरेकी भिमकुमारी वि.कले २४ वर्षको उमेरमा म्याग्दीका प्रदिप कुमार सुवेदीसँग वि.स २०६२ सालमा प्रेम विवाह गरिन् । विवाहपछि दुवैजना काठमाडौं आएर बसे । काठमाडौंमा ५ महिनाको बसाईपछि श्रीमान दुवेदी रोजगारीका लागि साउदी गए । काम राम्रो नभएको भन्दै सुवेदी पुन नेपाल फर्कीए तर श्रीमतीलाई भेट्न आएन ।

श्रीमान आएको थाहा पाएपछि भिमकुमारी आफै श्रीमानको घर खोज्दै म्याग्दी पुगिन् । तर प्रदिपकुमारले आफूले भिमकुमारीसँग विवाह गरेको स्वीकारेनन् । ‘गाउँमा भद्रभलादमी पनि जम्मा गरे । उनले सगैँ मिलेर बस्ने, गाउँमा कुरा काट्छन भनेर काठमाडौँ जाऊ म आउँछु भने । विश्वास लागेर फर्के, भिमकुमारीले भनिन्, तर उनी आएनन् । बरु अर्को विवाह गरेर बसेछन् ।’

भिमकुमारीले नाता कायम गरी अंश पाऊ भन्दै वि.स २०६४ सालमा म्याग्दी प्रहरी कार्यालयमा निवेदन दिईन् । प्रहरीमा कुरा मिल्न सकेन् । त्यसपछि अदालतमा मुद्धा पुग्यो । ५ वर्षपछि जिल्ला अदालतले नाता कायम गरि पाँच आना जग्गा पाइन् ।

पुनः श्रीमानको परिवारले सम्बन्ध विच्छेद गरिपाउँ भन्दै जिल्ला अदालत बाग्लुङमा निवेदन हाले । त्यहाँ आफ्नो पक्षमा फैसाल भएपछि फेरि मुद्धा पुनरावेदन अदालत बाग्लुङमै पुगेको भिमकुमारीले बताइन् । श्रीमानको परिवारबाट सम्वन्ध विच्छेद गर्न ददाव दिने गरेको उनले बताइन् ।

‘आत्महत्या’ 

वाग्लुङमा अन्तरजातीय विवाह गरेकी एक महिलाले यहि साउन २४ गते आत्महत्या गरिन् । दाङ जिल्ला घर भई हाल वाग्लुङ बस्दै आएकी  २१ वर्षीय विष्णु सार्कीले आत्महत्या गरेकी हुन् । सार्कीको दाङका देवाराज क्षेत्रीसँग प्रेम विवाह भएको थियो ।

उनीहरुबीच विवाहको केही दिन सम्वन्ध सुमधुर रहेपनि त्यसपछि भने पारिवारिक तनाब र खट्पट सुरु हुन थालेको बताइएको छ । घटनाको थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय वाग्लुङका प्रहरी निरीक्षक प्रकाश बहादुर सिंहले बताए । आत्महत्या नै गरेको भएपनि कारक अन्तरजातीय विवाह भएको स्थानीयले बताएका छन् ।

अन्तरजातीय विवाहका निवेदन बढी

राष्ट्रिय दलित आयोगका अनुसार पछिल्लो समय आयोगमा अन्तरजातीय विवाहका कारण उत्पन्न समस्याहरुका निवेदनहरु बढी आउने गरेका छन् ।

आयोगका कानुन अधिकृत रामबहादुर मिजारले आ.व २०७२-७३ को तुलनामा आ.व ७३-७४ मा अन्तरजातीय विवाहकै कारण, अंश, नागरिकता, विवाह दर्ता, घरबाट निकालिने लगायतका समस्या परेका महिलाका निवेदनहरु आएको बताए । आ.व ७३-७४ मा ११ वटा र आ.व ७२-७३ मा ८ वटा निवेदन परेको थियो ।

समाजमा रहेको कुसंस्कार तोड्न नसक्ने र मानिसको गैर–जिम्मेबारीपनका कारण यस्ता घटना बढ्ने गरेको उनको भनाई छ । कानुनमा छुवाछत अन्त्य भनिएपनि कार्यान्वयन पक्ष फितलो र संवेदनशील नहुँदा समस्या देखिएको मिजारले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: