बाढीमा १० किलोमिटर बगेर बाँचेकी सानुमायाको अनुभव


प्रकाशित मिति :2017-08-15 16:28:28

सुनसरी । साउन २७ गते राती आएको बाढीले सुनसरीमा आठ जनाको ज्यान गयो । आधा दर्जन बेपत्ता र हजारांै विस्थापित छन् । बाढीले १० किलोमिटर बगाएर पनि सानुमाया राई खुशी बाँच्न सफल हुनुभयो । करिब साढे चार घण्टा शक्तिशाली बाढीको भेलसँग मुकाबिलापछि बाँच्न सफल २२ बर्षीया सानुमायाले महिला खबरका सुनसरी संवाददाता लिलाराज भट्टराईसँग बाढीसँग गरेको संघर्षबारे बताउनुभएको छ : –

‘२७ गते मेरो साइलीदिदीको कान्छो छोरो तीन वर्ष पूरा भएर ४ लागेको थियो । उसको जन्मदिन मनाउन म दिदीको घर गएँ । दिदीको घर इटहरी गैरीगाँउ हो । बुढीखोला छेउमै दिदीको घर छ ।

त्यो दिन पानी निक्कै ठूलै परिरहेको थियो । दिदीको छोराको बर्थडे मनाएर ठूली छोरी र म मोवाइलमा फिल्म हेरेर राती दश बजेसम्म बस्याँै । लगातार वर्षा नरोकिएपछि बाढी आयो कि भनेर बाहिर निस्केर हेर्यौं । खोला बढेको थियो । त्यतिको भेल अरुबेला पनि आउँथ्यो । हामीले सामान्य रुपमा लियौं र सुत्यौं ।

खै किन हो मलाई निन्द्रै लागेको थिएन । यता पल्टिएँ, उता पल्टिएँ गरिरहेको थिएँ । मलाई हिलो हिलो गनाए जस्तो लाग्यो । उठेर यसो हेरेको त घरभित्रै पानी टल्किएको देखे । बाढी त घर भित्रै पसिसकेको रहेछ । घरका सबैजनालाई उठाएँ ।

खाटबाट ओर्लन्छु त मान्छे डुबाउने पानी घरभित्रै पसिसकेछ । जसोतसो बाहिर निस्कियौं । ठूलो बाढी रहेछ । माथिल्लो घर भत्किसकेको थियो । सुँगुर, गाईवस्तु बगिरहेका थिए । के गर्ने के गर्ने भयो । दिदी, भिनाजु, तीन जना छोराछोरी र म गरि छ जना थियौं । हामी बाहिर कतै जान नसकने भएपछि घर भित्रै पस्यांै ।

मैले आमा र सीता दिदीलाई फोन गरेर त्यहाँको अवस्था बताएँ । हामी घरको सिलिडमा झुण्डिएर बस्यौं । केहि बेरमा घर नै भत्कियो । बाहिर निस्किएर दिदी र म बयरको रुखमा झुण्डियांै । जोडसँग आएको बाढीले बयरको रुख नै भाँचिदियो । दिदी उता उछिटिनुभयो, म मुख्य भेल तिरै उछिट्टिएँ । भेलले मलाई बगाएर लग्यो ।

जति तल पुर्याउँछ भेल झन् झन् बढिरहेको थियो । मैले हात माथि उठाएर मोवाइलमा टर्च बालेको थिएँ । दुई घण्टासम्म त मैले मोवाइल छाडेकै थिइन । भेलले हुत्याइरहँदा छेउ लाग्न खोजें तर मूख्य भङ्गालोमै रहेकाले छेउ लाग्न सकिन ।

कहिले भेलले पानी भित्र पसाउँथ्यो, कहिले हुत्त निकाल्थ्यो । रुखका मुढाहरु भेटदा च्याप्प समात्थें । अलि पर पुर्याएपछि भेलले हुत्याइहाल्थ्यो । जीन्दगीमा पौडी कहिल्यै खेलेको थिइन । पानीमा पसे पछि हात खुट्टा चलाउनुपर्छ भन्ने चाँहि थाहा थियो । त्यहि भएर हात खुट्टा चलाउन भने छाडिन । भेलले पानी भित्र पुरयाउँदा पनि हात खुटटा चलाइरहें ।

आँखा हेर्न हुने अवस्थै थिएन । पानी भित्र छु कि कता पत्तै नहुने । कति कति बेला स्वास फेर्न सजिलो हुन्थ्यो । त्यति बेला चाँहि बाहिर छु जस्तो लाग्थ्यो । पानीले बगाएको बेला टाउको तल पारिदिँदो रहेछ । स्वाँ गरेर बाढीको ठूलो आवाज आउँथ्यो । भेलले फनफनी घुमाउँथ्यो ।
मुढा भेटाएपछि समातिहाल्थें तर भेलले हुत्याइहाल्थ्यो । त्यति हुदाँ पनि मलाई मर्छु होला भन्ने लाग्दै लागेन । भेलले पानी मुनि हुत्याउथ्यो, मलाई बाँच्नुपर्छ, बाहिर निस्कनुपर्छ जस्तो लाग्थ्यो फुत्त बाहिर निकाल्थ्यो मेरो हिम्मत बढिहाल्थ्यो ।

रातीको समय कहाँ पुर्यायो पत्तै भएन । जीउ दुख्न थाल्यो, सास फेर्न पनि गाह्रो भयो तर हिम्मत भने हारिन । विस्तारै उज्यालो होला होला जस्तो आभाष हुन्थ्यो । भेलले बगिरहेको एउटा रुखको कापमा अड्काइदियो । त्यसमा केहीबेर अड्किएपनि फेरि बगाइहाल्यो । अलि पर पुगेपछि हुत्तिएँ । एउटा खाट जस्तो बगिरहेको थियो त्यसैमाथि चढें । त्यसलाई पनि भेलले उत्टाइदियो । एउटा रुखको हाँगामा समातेर तैरिंदै थिएँ कोही मान्छे बोले जस्तो सुनें ।

भेलले बगाएको दाउरा बटुल्नेहरु रहेछन् । स्वर सुकेर म चिच्याउन नसक्ने भएकी थिएँ । उनीहरुले देखेछन् । एउटा भाईले मलाई बाहिर निकाल्यो । त्यो दुहवीदेखि अलि पर पूलछेउछाउको ठाँउ रहेछ । दिदीको घर देखि त्यो ठाँउ करिव १० किलोमिटर टाढा पर्दो रहेछ ।
हामीलाई बगाउनु केही अघि घडी हेरेको थिएँ । रातीको साढे बाह्र बजेको थियो । मलाई निकाल्दा त्यस्तै साढे चार बजेको थियो होला । उनीहरुले मलाई निकालेर दुहवीकै अस्पताल लगे । आफन्तहरुसँग सम्पर्क भयो ।

हामी छ जनालाई बाढीले बगाएको थियो । दिदीको ठूलो छोरा र छोरी घर छेउकै रुखमा अड्किएछन् । उनीहरुलाई छरछिमेकीले निकालेछन् । दिदीको शव हिजो मलाई निकालेको ठाउँभन्दा केहि पर भेटियो । भिनाजु र सानो छोरोको अझै पत्तो लागेको छैन । म बाँच्न त सफल भए, तर सवैलाई बचाउन सकिन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: