-महिला खबर-
डोटी । जोरायल गाउँपालिका–५ गडसेराका २२ वर्षिय अमृत देउवा आईतबार आमा(लक्ष्मी देउवा)को ममताले भरिएको आवाज सुनेपछि निःशब्द भए ।
अमृतले आफू दश वर्षको हुँदादेखि नै आमालाई मनोसमाजिक समस्या भएको थाहा पाएका थिए । पछि विस्तारै आमा पूर्ण रुपमा मानसिक सन्तुलन गुमेको अवस्थामा पुगिन् । आमाले मायाले छोरा नभनेको अमृतले कहिल्यै सुन्न पाएन, नत आमाको माया नै । तर अमृतका लागि साउन २९ गतेको दिन, आइतबार कहिले नर्बिसनी दिन भयो ।
‘मैले सानैबाट आमाको ममता पाइन तर आज पहिलो पटक आमाले मलाई चिनेर छोरा भनेर बोलाउँदा संसारकै खुसी पाए जस्तो महशुस भएको छ’ अमृतले भने ।
आमालाई पूर्ण रुपमा निको होला र आमाको माया पाउला भन्ने उनले कहिले सोचेनन् । ‘आशा नै थिएन् । कल्पनै नगरेको आमाको ममता पाए । यो दिन जीवनको बिर्सन नसकिने दिन बनेको छ,’ उनले हर्षित हुँदै भने ।
करिब १५ वर्षअघि लक्ष्मीकोे मानसिक सन्तुलन गुमेको थियो । आफुहरुले उपचारका लागि धामीझाँक्री, पुजाआजा, ब्रत र बली समेत दियौ तर जतिगरे नी सँन्चो नभएको अमृत बताउँछन् । उपचारका लागि भारतसम्म पु¥याए । तर निको भएन ।
मानसिक सन्तुलन गुमेका कारण घरबाट भागेर नजाउन भनेर आमालाई पशु झै बाँधेर राख्ने गरेको उनी सम्झन्छन् । तर भागेर बेला बखत हराउँथिन् । खोजेर ल्यायो, फेरि भाग्थिन् । ७ बर्षअघि भागेर दिपायल पुगेकी थिइन् । सडकमा भौतारी महिनौ हराउने कुरा परिवारलाई नौलो हुन छाडेको थियो ।
‘एक पल्ट त आमा सेतीमा डुबेर मरेको खबर समेत आयो । पछि बुझ्दा जीउदै भएको थाहा पाए ।’ अमृतले भने । एक दिन जिल्ला प्रहरी कार्यालय डोटीबाट अमृतको मोवाईलमा फोन आयो । फोनमा आमालाई सन्चो भएको र घर लगेर जान खबर आयो । अमृतको खुशीको सिमा रहेन । उनलाई पत्याउन मुस्किल पर्यो । हत्तारिदै साउन २९ गते दिपायल पुगे ।
पत्रकार बिमल बिष्टले वेबारिसे अवस्थामा सडकमा हिडिरहेका अमृतका आमालाई २०७३ फागुनको अन्तिम साता दिपायल स्थित शैलेश्वरी अस्पताल पु¥याएका थिए । शैलेश्वरी अस्पतालले मानसिक रोग बिशेषज्ञ डा. मोहन बेलबासेबाट उनको सफल उपचार गराएको थियो ।
उपचार शुरु गर्दा सन्चो होला भन्ने आशा नरहेको उपचारमा संलग्न डा. जेपी गुप्ता बताउछन् । ‘धेरै पुरानो समस्या थियो । उपचार सम्भव होला भन्ने आशा थिएन् । अविश्वसनिय रुपमा सम्भव भयो । यसलाई उहाँ(लक्ष्मी)को पुनर्जीवन मान्न सकिन्छ ।’ डा.गुप्ताले भने ।
डा. गुप्ताका अनुसार लक्ष्मीलाई माया प्राप्त गर्ने वातावरण (मेडिकल थेरापी)ले मात्रै नभई सोसिएल थेरापीले पनि सम्भव बताउँछन् ।
आईतबार अमृतले आमा लक्ष्मीलाई संगै घर लगेका छन् । उनी घर जाँदा अस्पताल परिवार र अस्पताल आसपासमा बस्ने समुदायले टिकाटालो गरेर बिदावारी गरे । संगै स–सानो रकम सहयोग समेत गरे ।
लक्ष्मीले अझै दुई÷तिन बर्ष औषधी सेवन गर्नुपर्ने छ । अहिलेसम्म निशुल्क उपचार गरेको शैलेश्वरी अस्पतालले बाँकी औषधि पनि निशुल्क उपलब्ध गराउने संचालक आईजंग कुँवरले बताए । त्यसबाहेक जीवनभर उपचार पनि निशुल्क गरिदिने उनले बचन दिएका छन् । लक्ष्मीका श्रीमान र दुई छोराछोरी छन् ।
Comment Here!