-महिला खबर-
काठमाडौं । यतिबेला तराई ढुबानले देश शोकमय बनेको छ । सम्भवत अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति हुने गरि आएकोे बाढीले १२३ जनाको ज्यान लगिसकेको छ भने सयौ घरपरिवार विस्तापित र हजारौँ मानिस प्रभावित बनेका छन् । कति बेपत्ता र घाइते भएका छन् । जसमा महिला, बालबालिका र बृद्धबृद्धा सवैभन्दा बढी प्रभावित भएको पाइन्छ ।
प्रकोपमा सवैभन्दा बढी महिला, बालबालिका र बृद्धबृद्धाहरु बढी जोखिममा हुने भन्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले समेत उद्धार, राहत र पुनस्थापनामा सम्वेदनशील हुन सवैलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालय, महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले प्रकोपका समयमा गर्भवती, सुत्केरी महिला, बालबालिका र बृद्धबृद्धा बढी प्रभावित हुने बताउनुहुन्छ ।
‘गर्भवती महिलाको गर्भपतन हुने, व्यथा लाग्ने, शिशुलाई दुध खुवाउन नसक्ने, पोसिलो खाना नपाउने, पौडी खेल्न नजान्दा जोखिम हुने समस्याहरु हुने गरेका छन्’ निर्देशक डा.आचार्यले भन्नुभयो । त्यसैले पनि महिला, बालबच्चा र बुढाबुढीहरुलाई विशेष रुपमा हेर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
बाढीपछि महामारी फैलन सक्ने सम्भावना बढी हुने र त्यसमा पनि यो वर्ग (महिला,बालबालिका, बृद्धबृद्धा) बढी जोखिममा पर्ने भएकाले सतर्कता अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । यसका लागि बाढी पीडितहरु अस्थायी रुपमा बसोबास गरिरहेकै स्थलमा जनस्वास्थ्य तथा जिल्ला अस्पतालहरुले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिसकेको जानकारी बताउनुभयो ।
आवश्यक सहयोगका लागि सिधैं डा.आचार्यको मोबाइल नम्बर ९८५१०९६०८९ र महाशाखाको हटलाइन नम्बर ०१–४१००१८७ र ०१–४२६२२६८ मा सम्पर्क गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगहरु झाडा पखाला, हैजा, टाइफाइड, जण्डिस (हेपाराइटिस) औलो, डेगु, चिकनगुनिया रोग देखिने सम्भावना भएकाले सबैलाई सर्तकता अपनाउन समेत उहाँकाे आग्रह छ ।
सम्भावित स्वास्थ्य समस्याबाट बच्ने उपायहरु :
-पानी उमालेर खाने ।
-पाँच लिटर खानेपानी शुद्धिकरण गर्न १ चक्की क्लोरिन हालेर मात्र खाने ।
-अस्थायी शौचालयको प्रयोग गर्ने ।
-झुल लगाएर मात्र सुत्ने ।
-खाना खानु अघि, दिसा गरि सकेपछि, फोहोरमैला छोएपछि, बच्चाको दिसा धोएपछि साबुन पानीले हात धुने ।
-खाना पकाएर मात्र खाने । काचो खानेकुरा सकभर नखाने ।
-बासी, सडेगलेको, झिँगा बसेको र खुल्ला रुपमा राखिएका खानेकुराहरु नखाने ।
Comment Here!